Monday 18th May 2026

बाँदरमुढे घटनाको १४ वर्ष : सहमति नै अलपत्र


तितोपाटी- चितवनको माडीस्थित बाँदरमुढे खोलामा तत्कालीन माओवादीले यात्रुबसमा गराएको विष्फोटपछि ४१ जनाको ज्यान गएको आज १४ वर्ष पुगेको छ । २०६२ साल जेठ २३ गते यात्रुवाहक ना १ ख ३२४५ नम्बरको सार्वजनिक बस विष्फोटमा पर्दा ३८ जनाको घटनास्थलमै ज्यान गएको थियो । ७५ जना घाइते भएका थिए ।

घटनापछि पीडितको राहतका लागि विभिन्न समयमा विभिन्न प्रतिबद्धताहरु व्यक्त गरिए पनि पूरा नहुँदा पीडितहले थप पीडा भोगिरहेका छन् । घटना घटेको एक वर्षपछि बाँदरमुढे घटना पीडित संघर्ष समिति बनाएर पीडितहरु न्याय माग्दै आएका छन् । घटनामा परी आफन्त गुमाएका र अपाङ्ग भएकाहरु अझै पनि न्याय र राहतको आशामा बसिरहेका छन् ।

तत्कालीन माओवादीले सकरकारको नेतृत्व गरिसकेको र पटक–पटक सरकारमा पुग्दा समेत पीडितको पक्षमा न्याय हुनसक्ने गरी काम गर्न नसके पीडितहरु बताउँछन् । आश्वासन आउने गरेको तर काम नभएको उनीहरुको गुनासो छ ।

तत्कालीन माओवादीका नेतृत्व सम्हालेका पुष्पकमल दहाल अहिले यो क्षेत्रको सांसद समेत छन् । संसदीय निर्वाचनका क्रममा दाहालले २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसँग गरेका ३ बुंदे सहमति अझै लागू हुन सकेको छैन । मृतकका आश्रित परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ति र बालबालिकालाई पढाई दिने समहमति भएको थियो ।

घाइतेको अवस्था हेरी औषधि उपचारको व्यवस्था गर्ने, काम गर्न सक्नेलाई रोजगार र नसक्नेलाई जीवनवृत्ती दिने सहमति थियो । यसैगरी घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बाँदरमुढेमा १० विगाह जमिनमा नमूना संग्राहालय बनाउने अर्को सहमति पनि भएको थियो । अहिले यी सहमति कुनै पनि पूरा भएका छैनन् ।

हरेक वर्षझैँ यो वर्ष पनि पीडित परिवारले घटना स्थलमा धुपवत्ति बालेर मृतकहरुको सम्झना गरेको बाँदरमुढे घटना पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले गुनासो गरे । गएका वर्षहरुको निरन्तरता दिने काम बाहेक अरु केही गर्न नसकिएको उनले बताएका छन् ।

घटना भएको १४ वर्ष पुग्दा पनि पीडितले न्याय पाउन नसकेको बताउँदै उनले पीडितको माग अहिलेसम्म सुनुवाई हुन नसकेको बताए । उनले राज्यका तर्फबाट पीडित परिवारले केही पाउन नसकेको गुनासो गरेका छन् । घटनामा घाइते भएका १५ जनाले अहिले पनि औषधि सेवन गरिरहेको र सात जना मानसिक समस्यामा रहेको न्यौपानेले बताए ।

बाँदरमुढेमा पार्क निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरी बजेट माग गरिएको बताउँदै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले आउँदो आर्थिक वर्षबाट काम गर्ने गरी बजेट विनियोजन भएको भन्ने सुनिएको बताउँछन् ।

स्वरोजगार कार्यक्रम अन्तर्गत २५ पीडित परिवारलाई एक लाख रुपैयाँका दरले अनुदान दिन लागिएको ढकालले बताएका छन् । मृतकको सम्झनामा घटनास्थल बाँदरमुढे खोलामा स्थानीय प्रशासन, नेपाली सेना र स्थानीय बासिन्दाबाट उठाएको सहयोग रकमबाट स्मारक निर्माण गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...