Tuesday 29th September 2026

साहसी महिला डोजर चालक


तितोपाटी – १५ वर्षको कलिलो उमेरमै बाटो खन्ने, पहाड फोर्ने मुना घिमिरे श्रेष्ठ नेपालकी पहिलो डोजर चलाउने महिला भनेर चिनिन्छिन्।

हाल सडक विभागको हेभी इक्विपमेन्ट डिभिजन बानेश्वरमा सिनियर अपरेटरको रूपमा कार्यरत उनी सीप भएर पनि महिला भएकै कारण निकै संघर्ष गर्नुपरेको बताउँछिन्।

मुना सम्झिन्छिन्, “हाम्रो परिवारमा हामी दुई छोरी मात्रै। छोरा नभएका कारण आमाबुवालाई समाजले हेय भावले हेर्थ्यो। कतिले बिचरा भन्थे।”

“मरेपछि काजक्रिया कसले गर्लान् भनी सोध्थे। मेरा आमाबुवा पनि हो त नि भनी दुःखी हुनुहुन्थ्यो। त्यहीँ देखेर छोरासरह काम गर्ने कुराले मनमा जरो गाड्यो।”

हिम्मत
एकजना सहयोगीको साथमा नौ कक्षा पढ्दा पढ्दै गोरखाबाट नेपालगन्जको एउटा निर्माण कम्पनीमा काम गर्न पुगेकी उनलाई डोजर र इस्काभेटर जस्ता ठूला उपकरणले आकर्षित गरे।

हेर्दा हेर्दै उनले ती उपकरणहरू चलाउन सिकिन् र केही समयपछि निकै हिम्मत गरेर चलाइन्।

“शुरूमा त हात काम्यो। एउटा गाडीमा नठोकाइ सामान लोड गरिसकेपछि हात बस्यो। पहिलो पटक डोजर चलाइसकेपछि उनलाई चलाउन सक्छु भन्ने आत्मविश्वास भयो।”

त्यसपछि उनको हेभी इक्विपमेन्ट चलाउने यात्रा शुरू भयो।

“पुरुषहरूमात्र भएको ठाउँमा ठूला उपकरण चलाउने एकजना मात्र महिला थिएँ। त्यसबेला बुवाले पनि काम छाडेर घर फर्कन भन्नुभयो। तर म फर्किनँ।”

त्यतिबेला समाजले महिला डोजर चालकलाई नपत्याएको उनी सम्झन्छिन्।

सम्मान
उनको संघर्ष काठमाण्डू प्रवेशसँगै चुलियो जहाँ उनलाई कसैले पनि पत्याएनन्।

“हेभी इक्विपमेन्ट देखेजति ठाउँमा काम खोज्दै जान्थेँ। नचाहिने कुरा गर्‍यो, बहुला समेत भन्थे मलाई।”

महिला भएकै कारण सीप भएर पनि काम नपाएको मुना बताउँछिन्।

तर काठमाण्डूस्थित तेज कन्सट्रक्सनबाट पहिलो पटक डोजर चलाउन शुरू गरेकी मुनाले त्यसपछि फर्केर हेर्नु परेन।

पछि श्रीमान्‌लाई पनि उनले डोजर चलाउन सक्ने बनाइन्।

शहरी क्षेत्रमा अहिले पनि महिलाले ठूला उपकरण चलाएको देख्दा कतिपय मानिसहरू आश्चर्यमा पर्छन्।

दूरदराजमा पहाड फोर्दा वा सडक खोल्दा मान्छेहरूको भिड लाग्ने गरेको उनी सुनाउँछिन्।

वृद्धहरूले उनलाई आशीर्वाद दिन्छन्, कतिपय मानिसहरू उनीसँग फोटो खिचाउन आउँछन्।

दर्जनौँ संघसंस्थाले दोसल्ला, कदरपत्रबाट सम्मान गरे पनि आममानिसले दिएको माया आफ्नो लागि वास्तविक सम्मान भएको मुना बताउँछिन्।

-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...