तितोपाटी – निर्मला हत्याकाण्डमा मुछिएका कञ्चनपुरका दिदीबहिनी बबिता र रोशनी बम सुरक्षा माग गर्दै काठमाडौं आएका छन् । आफूहरुलाई केही महिलाअधिकारकर्मीले निरन्तर धम्क्याएको उनीहरुको भनाइ छ । बम दिदी–बहिनीलाई कतिपय मानवअधिकार संस्थाका रिपोर्टमा घुमाउरो रुपले आरोपित गरिएको थियो भने सामाजिक सञ्जालमा उनीहरुमाथि तीव्र आक्रोस पोखिएको थियो । स्थलगत भनिएको मानवअधिकार संगठनको प्रतिवेदनमा दिदी बबितालाई ‘बारमा काम गर्ने’ भनेर हचुवा विवरण दिइएको छ । सोही प्रतिवेदनका आधारमा मिडियामा समाचार आएपछि सामाजिक सञ्जालमा उनीहरु निशानामा परेका हुन् । दिदीबहिनीको मानवअधिकारको प्रश्न उठाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत आलोचित बनेका थिए ।
प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरे पनि उनीहरुबिरुद्ध कुनै प्रमाण भेट्न सकेन । तर पनि बम दिदी–बहिनीमाथि कारवाही गर्नुपर्छ भन्नेहरुको स्वर थामिएन । अहिले पनि धेरैले उनीहरुलाई नै मुख्य अभियुक्त ठानिरहेका छन् । बम दिदीबहिनीले ज्यानको सुरक्षा हुन नसकेपछि राज्यसँग गुहार माग्न काठमाडौं आएको बताए । निर्मलाको निम्ति न्याय माग्ने आन्दोलनमै विभाजन आएपछि आफूहरु थप असुरक्षित भएको उनीहरुको दाबी छ ।
‘हाम्रो चरिहत्या गर्ने र बारम्बार धम्की दिने काम आफूलाई महिला अधिकारकर्मी भन्ने राजनीतिक दलका दुई नेतृ र एक स्थानीय पत्रकारले गरेका हुन् । काठमाडौंबाट आउने मानवअधिकारवादी र महिला अधिकारकर्मीले पनि उनीहरुले जे भन्छन्, त्यहि सही मानेर लेखे । हाम्रो टोल छिमेकमा आएर हाम्रोबारे बुझ्न चाहेनन् वा बुझेर पनि लेख्न चाहेनन्,’ बम दिदी बहिनीले भनेका छन्, ‘यिनीहरुले हामीलाई जिउँदै मारेका छन् ।’
निर्मलाको हत्याकाण्डमा संगीन आरोप खेप्नुपरेपछि बम दिदीबहिनी विक्षिप्त अवस्थामा छन् । सुदूरपश्चिमको गाउँले लबजमा १४ वर्षीया रोशनीले बोलिरहँदा उनीभित्रको उकुसमुुकुस अनुभव गर्न सकिन्थ्यो । साउन १० गते निर्मलाको शब भेटिएको दिनदेखि आफू खुलेर हाँस्न नसकेको उनी बताउँछिन् । ‘हाम्रा त चरित्रहत्या भया छ । दोषी हउँ कि निर्दोष हउँ साबित गर्न काठमाडौं आया होइन, त्यो काम काननुको हो । तर, हामीलाई त मिडिया र युट्युबरले अपराधी बनाइदिया, मानवअधिकारवादीले बेश्या बनाइदिया । निर्मला त मरिगइन्, हामी जिउँदो निर्मला भया छौं,’ रोशनीले एकै स्वासमा यति कुरा भनिन् ।
साथी निर्मलाको हत्यापछि स्कूल जान छोडेकी रोशनी र उनकी दिदी बबिता हत्याकाण्डको ६ महिनापछि आमा इन्दिरादेवीसँगै काठमाडौं आएका हुन् । यो उनीहरुको पहिलो काठमाडौं यात्रा हो । उनीहरुले मिना भण्डारी र शारदा चन्दको नामै लिएर भने, ‘कन्चनपुरका केही मानवअधिकारकर्मी तथा नेतृहरुको निरन्तर धाकधम्कीका कारण असुरक्षित भयौं । त्यसैले काठमाडौं आउनुपरेको हो ।’ उनीहरु भन्छन्, ‘हिजो डिल्लीराज विष्टले हामीलाई जोगाएको भने पनि आज प्रहरीका सात टोलीले अनुसन्धान गरिसकेका छन् । यदि हामी दोषी भए राज्यले कारवाही गरोस् । होइन भने महिला अधिकारवादीले काठमाडौं आउँदासमेत धम्की दिइरहेका छन् । यहाँ पनि हामीलाई शंकास्पद व्यक्तिले पिछा छाडेका छैनन् ।’
प्रतिवेदन सच्याउनुपरे सच्याउँला : मानवअधिकार संगठन
नेपाल मानवअधिकार संगठनले असोज १० गते स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन भनेर हचुवा विवरण सार्वजनिक गरेको थियो । सो प्रतिवेदनका कारण आफ्ना छोरीहरुले आत्महत्याको प्रयाससमेत गरेको आमा इन्दिराको गुनासो छ । ‘त्यहि प्रतिवेदनपछि छोरीहरुलाई अपराधी बनाइयो । तिनीहरुले हामीलाई मर्नु न बाँच्नु बनाए । हाम्रो चाहिँ मानवअधिकार हुँदैन ?’ उनले भनिन् ‘निर्मलाकी आमा र मेरा छोरीलाई न्याय चाहियो, छोरीको चरित्रहत्या गर्ने विरुद्ध अन्तिम सास रहेसम्म लड्छु ।’
मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले केही व्यक्तिले रोशनीकी दिदी बबिता डान्स बारमा पनि जान्थिन् भनेको आधारमा आफूहरुले प्रतिवेदनमा सो कुरा उल्लेख गरेको बताएका छन् । प्रतिवेदनमा बबिता डान्स बारमा काम गर्छिन् भनिए पनि कुन डान्स बार भन्ने खुलाइएको छैन । कुनै अमुक व्यक्तिले भनेकै भरमा प्रतिवेदन बनाउन मिल्छ ? भन्ने प्रश्नमा उनले भने–‘त्यतिबेला कुनै व्यक्तिले त्यसो भने त्यहि लेख्यौं । जाँदा होइन भनेछन् भने होइन भनेर लेखौंला । हाम्रा लागि बम दिदी बहिनी दुश्मन होइनन् । उनीहरुबारे फेरि पनि बुझ्न सकिन्छ । अर्को प्रतिवेदनमा सच्याउनु परे सच्याउँला ।’
अर्यालले प्रतिवेदन सच्याउने कुरा गरे पनि गलत प्रतिवेदन लेखेकोमा सार्वजनिक क्षमायाचना गरेका छैनन् । निर्मलाको हत्या र बलत्कारमा संलग्न अभियुक्त एक दिन पक्राउ पर्ला र सजाय पनि पाउला । तर यदि बम दिदीबहिनी निर्दोष ठहरिए भने उनीहरुको चरित्रमा दाग लगाइदिने मानवअधिकार संगठन नै कारवाहीको भागेदार होला कि नहोला ?
बबितालाई पश्चाताप
रोशनीकी दिदी बबितालाई एउटै कुरामा पश्चाताप रहेछ । आफ्नो घर आएकी निर्मला साँझसम्म घर नपुगेपछि आमा दुर्गादेवी रोशनीको घरमा गएकी थिइन् । ‘निर्मला घर पुगेकी छैन, केही भयो भने तिमी जिम्मेवार हुन्छौ’ भनेर दुर्गादेवीले रोशनीलाई भनेपछि दिदी बबिताले ‘तपाईको छोरी पोइल गइन् होली’ भनेकी रहिछन् । त्यहि शब्दप्रति भने उनलाई पश्चाताप छ । बबिता भन्छिन्–त्यस्तो घटना भएको होला भन्ने के थाहा । मैले रिसमा त्यसो भनेछु । तर हामीलाई विश्वास छ, दुर्गादेवीले हामीलाई राम्रोसँग बुझ्नुभएको छ । उहाँले पनि महसुस गरेर हामीप्रतिको हिजोको आरोप फिर्ता लिनुहुनेछ ।’
आफूलाई अपराधीको रुपमा स्थापित गर्ने व्यक्ति र संस्थाविरुद्ध भने अदालत जाने उनले बताइन् ।
निर्मलाको हत्याकाण्डपछि रोशनी स्कूल गएकी छैनन् । ९ कक्षाको अन्तिम परीक्षा पनि यसपटक छुट्ने भयो । आफूलाई केही व्यक्तिले निरन्तर धम्की दिएकाले स्कूल जान पनि नसकेको उनले बताएकी छन् । अर्को स्कूल सर्न खोज्दा हेडसरले आफूमाथि ज्यानको खतरा भएको भन्दै स्थान्तरणको पत्र दिन नमानेको रोशनीको दावी छ ।
बम दिदी–बहिनीले भने, ‘अहिले न्याय दुर्गादेवी आन्टीलाई मात्र होइन, हामीलाई पनि चाहिएको छ ।’
निर्मला रोशनकी मिल्ने साथी थिइन् । उनको घरमा बारम्बार जान्थिन् । रोशनीका अनुसार त्यसदिन निर्मला ‘भासी पनि जानुपर्छ होला’ भन्दै झोलाभरी अम्बा लिएर साइकलमा हिँडेकी थिइन् । भासी भनेको निर्मलाका बुबा यज्ञराज र सौतेनी आमा बस्ने ठाउँ हो । रोशनीका अनुसार निर्मलाले आफूलाई सौतेनी आमा र बुबाले बोलाएर भाँडा माझ्न र अन्य काम लगाउने गरेको बताउँथिन् ।
‘साथीमाथि यस्तो घटना हुँदा मलाई कति पीडा भएको होला ?’ रोशनी भन्छिन्, ‘केही व्यक्तिले निर्मलाकी आमालाई हामीविरुद्ध उक्साउँदा चोटमाथि चोट खेप्नुप¥यो । त्यो अपराधीमाथि कारवाही भएन भने हामी सँधै असुरक्षित हुन्छौं ।’