Tuesday 7th April 2026

कुवेतमा नेपाली दूतावासद्वारा “श्रम सचेतना” कार्यक्रम सम्पन्न


कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल सोल होटलको सभाहलमा आयोजना गरिएको थियो।

कार्यक्रमको उद्देश्य कुवेतमा रहेका नेपाली श्रमिकहरूलाई श्रम अधिकार, सुरक्षित वैदेशिक रोजगारी, श्रम सम्झौता, कार्यस्थलको सुरक्षा, तलब–सुविधा तथा कानुनी प्रक्रियासम्बन्धी व्यवहारिक जानकारी प्रदान गर्नु रहेको दूतावासले जनाएको छ।

कुवेतका लागि नेपाली राजदूत महामहिम घनश्याम लम्सालले सही सूचना प्रवाहमार्फत श्रमिकहरूलाई सचेत र सक्षम बनाउनु आवश्यक रहेको बताए। उनले कुवेतमा रहेका नेपाली संघ–संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सामूहिक हितका लागि सहकार्य र समन्वय अपरिहार्य भएको धारणा व्यक्त गरे। राजदूत लम्सालले नेपाली श्रमिकहरूको सुरक्षा, सम्मान र अधिकार संरक्षण राजदूतावासको उच्च प्राथमिकतामा रहेको पनि स्पष्ट पारे।

कार्यक्रममा सहभागी श्रमिकहरूले रोजगारीसँग सम्बन्धित समस्या, श्रम सम्झौता, न्यूनतम तलब, कार्यघण्टा, कार्यस्थल सुरक्षा तथा भोग्नुपरेका व्यावहारिक कठिनाइबारे राजदूतावासका अधिकारीहरूसँग खुला छलफल गरेका थिए।

उपनियोग प्रमुख तथा काउन्सेलर सुजनी रानाले राजदूतावासबाट प्रदान गरिने सेवा, प्रमाणिकरण प्रक्रिया, यात्रा अनुमति पत्र, कानुनी सावधानी, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, श्रम सम्झौताको कानुनी पक्ष तथा वैदेशिक रोजगारी बोर्ड र श्रमिक कल्याणसम्बन्धी विषयमा प्रस्तुतीकरण गर्दै श्रमिकहरूलाई उपयोगी जानकारी दिएकी थिइन्।

गैरआवासीय नेपाली संघ (NRNA) कुवेत, विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, पत्रकार तथा श्रमिकहरू गरी १०० भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको दूतावासले जनाएको छ।

राजदूतावासले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै नेपाली श्रमिकहरूको हक–हित, सुरक्षा र कल्याणलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...