Tuesday 10th March 2026

रास्वपा र उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति


परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी ७ बुँदे सहमति भएको छ।

सहमति–पत्रमा पछिल्ला राजनीतिक घटनाक्रम, विशेषगरी भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसहित विभिन्न जनआन्दोलनका शहीद तथा घाइतेको बलिदानलाई स्मरण गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाले उठाएको आवाजको मर्म आत्मसात् गर्ने उल्लेख छ। घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

सहमति अनुसार उज्यालो र आत्मनिर्भर अर्थतन्त्रमा आधारित राजनीति, योग्यताप्रणाली (मेरिटोक्रेसी) को स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनलाई मूल आधार बनाइनेछ।

गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनमा समर्पित रहने सहमति भएको छ।

एकतापछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ। पार्टीको झण्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङ्गको घण्टीको आकृति रहनेछ भने चुनाव चिन्ह पनि घण्टी नै हुनेछ। केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमति गरिएको छ।

सहमतिअनुसार रास्वपाको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन्। उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने व्यवस्था गरिएको छ। यससँगै कुलमान घिसिङ औपचारिक रूपमा रास्वपाको नेतृत्व तहमा समेटिनेछन्।

उज्यालो नेपालको अभियानलाई अपनत्व दिँदै रास्वपाका कार्यक्रमसँग जोड्ने र एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाइने सहमति भएको छ।

उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर पार्टीमा समुचित जिम्मेवारीसहित समायोजन गरिने उल्लेख छ।

यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। साथै, पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टीमा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने सहमति पनि भएको छ।

सहमति–पत्रमा रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह साक्षीका रूपमा रहेका छन्। केही दिनअघि बालेन पनि रास्वपामा समाहित भएका थिए ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...