गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ ।
एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले संघको १२औँ अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो । आइतबार राति बसेको कमिटीको दोस्रो बैठकले आगामी सन् २०२६ को फेब्रुअरी २३, २४ र २५ मा महाधिवेशन तथा निर्वाचन गर्ने निर्णय गरेको हो ।
महासचिवद्वय गौरीराज जोशी र बी.आर लामाद्वारा जारी विज्ञप्तिका अनुसार, बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै संस्थागत एकता र सुदृढीकरणका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ ।
बैठकले राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूको एकतालाई सहजीकरण गर्न गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी युनिटी फ्यासिलिटेसन कमिटी’ गठन गरेको छ । उक्त समितिमा टीका गुरुङ (राधिका) सह–संयोजक रहेकी छिन् भने सदस्यहरूमा नारायण काफ्ले, शनी ओली र चिरञ्जीवी खड्का रहेका छन् ।
यसैगरी, बृहत् एकताको सन्देश प्रवाह गर्न र महाधिवेशनको तयारीस्वरूप विभिन्न क्षेत्रमा अन्तरक्रिया तथा संवाद कार्यक्रम गर्ने निर्णय भएको महासचिव लामाले जानकारी दिए । जस अनुसार डिसेम्बर १९मा मध्यपूर्व तथा अफ्रिका क्षेत्रमा, डिसेम्बर २०मा एसिया प्रशान्त तथा ओसिनिया क्षेत्रमा र डिसेम्बर २१मा अमेरिकाज तथा युरोप क्षेत्रमा कार्यक्रम आयोजना हुने छ ।
त्यसैगरी बैठकले स्टेरिङ कमिटीले अनुशासन र जिम्मेवारीलाई कडाइका साथ लागु गर्ने निर्णय गर्दै कमिटीका सम्पूर्ण सदस्यहरूले आगामी बैठक बस्नु अगावै प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिसक्नुपर्ने समय सिमा पनि तोकेको छ । हस्ताक्षर नगर्ने सदस्यलाई आगामी बैठकमा सहभागिता जनाउन नदिने निर्णय पनि गरिएको छ । त्यसैगरी सदस्यता समितिमा २ जना सदस्य थप गरी ७ सदस्यीय बनाउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले १२औँ महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन र तत्काल तयारी थाल्न विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपाली समुदाय तथा राष्ट्रिय समन्वय परिषदहरूलाई अपिल गरेको छ ।
मंसिर १४ गते प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका महेशकुमार श्रेष्ठ र डा. बद्री केसी पक्षबीच एकता भएको थियो ।
![]()