Wednesday 1st April 2026

नेपाल वायुसेवा निगम – संरचनात्मक अक्षमताको उदाहरण


नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स सन् १९५८ मा स्थापना भएर देशको पहिलो राष्ट्रिय ध्वजावाहक एयरलाइन्सको रूपमा उदाएको थियो। त्यसबेलाको गौरवशाली इतिहास र उडानले हरेक नेपालीको हृदयमा ठाउँ बनाए पनि, आजको यसको संरचनात्मक अवस्था र आर्थिक बोझले गम्भीर चिन्ता र सोच्न बाध्य पार्ने विषय बनेको छ।

हाल निगमसँग जम्मा ६ वटा विमान सञ्चालनमा रहेका छन्। तर आश्चर्यजनक तथ्य भनेको, यी थोरै विमानहरूको सेवा र व्यवस्थापनका लागि १,४६६ जना कर्मचारी कार्यरत रहेका छन्। यसको मतलब, प्रत्येक विमानको लागि औसत २४४ जना कर्मचारी पर्दछन्। अन्तर्राष्ट्रिय मानकअनुसार यो अनुपात कहिल्यै पनि दक्षता र आर्थिक व्यवहार्यताको प्रतीक होइन। निगमले आफ्नो संरचनात्मक दक्षताको प्रमाण ७९ जना पाइलट र १६८ जना केबिन क्रूको उपस्थितिले पनि देखाएको छ, जुन स्पष्ट रूपमा अति-कर्मचारीतन्त्रको झलक हो।

अर्को गम्भीर पक्ष भनेको, स्वीकृत २,३६९ दरबन्दीमध्ये ९१० पद रिक्त रहँदै पनि यति धेरै कर्मचारी रोजगारीमा रहनु हो। यसले संस्थागत प्रबन्धन, पारदर्शिता र नियुक्तिको आवश्यकतामा ठूलो प्रश्नचिह्न राख्छ। के यो राष्ट्रिय गौरवको नाममा भएको अनियोजित विस्तार हो, वा राजनीतिक रूपमा प्रभावित भएको कर्मचारी भर्तीको नतिजा ?

वित्तीय अवस्था त अझ चिन्ताजनक छ। निगम हाल करिब ५२ अर्ब रुपैयाँ ऋणको भार तल झुकेर उडिरहेको छ। यो ऋण रकम सरकारी कोषबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गरिएको हो, जसको असर अन्ततः नेपाली करदाताको मुँहमा पर्दछ। यस्तो ऋणी संस्थालाई राष्ट्रिय गौरवू को टोपी लगाउँदा के हामी आफैंलाई भ्रममा राखिरहेका छौं ?

प्रश्न स्पष्ट छ समस्या विमानमा होइन, समस्या हाम्रो सोच, नीति र व्यवस्थापनमा छ। ६ वटा विमानलाई हजारौँ कर्मचारीले सञ्चालन गर्नु, अर्बौं ऋण बोक्नु र त्यसलाई गौरवको रूपमा प्रस्तुत गर्नु भनेको उडान नभएको एयरलाइन्स हो। यो अवस्था सुधार नभएसम्म, नेपाल वायुसेवा निगमले आफ्नो ऐतिहासिक पहिचान र विश्वसनीयता दुवै गुमाउने खतरा छ।

यसको लागि निगमलाई तत्काल गुणात्मक सुधारको योजना अन्तर्गत ल्याउनु जरुरी छ ।
१.कर्मचारी संख्या र संरचनामा पारदर्शी पुनर्संरचना – दक्षता अनुसारको मानव संसाधन व्यवस्थापन।
२.वित्तीय पुनर्संरचना र ऋण व्यवस्थापन – सरकारी अनुदानलाई उत्पादक क्षेत्रमा नियोजन।
३.व्यावसायिक रणनीति – नयाँ बजार, आधुनिक टेक्नोलोजी र सेवा स्तरमाथि केन्द्रित गर्ने।
४.राजनीतिक हस्तक्षेप रोकथाम – पारदर्शी र योग्यतामा आधारित भर्ती र निर्णय प्रक्रिया।

नेपाल वायुसेवा निगमलाई साँच्चिकै राष्ट्रिय गौरवू बनाउन चाहन्छ भने, हामीले यसलाई भावनात्मक आवेगभन्दा माथि उठाएर व्यावसायिक र रणनीतिक दृष्टिकोणले हेर्नु पर्छ। विमान भन्दा पहिले, हाम्रो सोच र व्यवस्थापनको उडान नयाँ उचाइमा पुगोस्। त्यसपछि मात्र नेपाल वायुसेवा निगमको पुनर्उदय सम्भव छ – एउटा साँच्चिकै गर्व गर्न लायक राष्ट्रिय ध्वजावाहकको रूपमा।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...