Wednesday 19th August 2026

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिँदै


लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिएको छ। संघ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो।

रंगशालाको स्थलगत निरीक्षण गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले ठेक्का लागेसँगै रंगशाला निर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताए।

“कामले गति लिइसकेको छ। कामदारको सङ्ख्या पनि उल्लेख्य छ”, उनले भने, “तोकिएकै समयमा रंगशाला निर्माण हुनेमा भन्नेमा हामी विश्वस्त छौं।” उनले निर्माणका लागि आवश्यक नदीजन्य सामग्री र अन्य कामको सहजीकरणका लागि महानगरले सहयोग गर्ने बताए।

महानगरपालिकाले हिमालयन कालिञ्चोक बिबिआर जेभीलाई ३० महिनाभित्र रंगशाला निर्माण सम्पन्न गर्नेगरी जिम्मा दिएको हो।

निर्माण कम्पनीले दुई हप्तादेखि फिल्डस्तरमा काम थालेको भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए। उनले कामको सहजीकरणका लागि महानगरपालिकाले चार जनाको प्राविधिक टोली कार्यस्थलमा खटाएको बताए।

उनका अनुसार यसअघिको डिजाइन परिवर्तन गरिएको छ भने दर्शक अट्ने क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरी रंगशाला निर्माण फेरि सुरु गरिएको छ।

सरकारले आवश्यक सहयोग गरेमा सम्झौता अवधिभन्दा छिटो सक्नेगरी काम अघि अगाडि बढाइएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका आयोजना प्रमुख विजय ढकालले बताए। उनका अनुसार अहिले दुई सय ५० जना कामदार खटिएका छन्। उनले पहिलो चरणमा रंगशालामा मैदान, ड्रेनऐज र दुई वटा तीन तलाको टावर निर्माण गरिनेछ।

धुर्मुस-सुन्तली फाउण्डेसन र भरतपुर महानगरबीच २०७५ माघ १६ गते रंगशाला निर्माण सम्झौता हुँदा ३० हजार दर्शक क्षमताको बन्ने उल्लेख थियो। पहिलो चरणमा १५ हजार दर्शक अट्ने क्षमताको रंगशाला बन्नेछ।

फाउण्डेसनले यसअघि नै दुबो रोपेर मैदान बनाएको थियो। अहिले भने नयाँ प्रविधिको प्रयोगगरी पाँच वटा पिचसहितको मैदान बनाउन लागिएको छ। नयाँ माटो ल्याएर मैदानमा पानी नजम्ने बनाउन लागिएको उनले बताए।

महानगरपालिकाले ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा ठेक्का सम्झौता गरेको हो। फाउण्डेशनले यो परियोजना तीन अर्ब ५५ करोड रुपैयाँको रहेको जनाएको छ।

सहयोग जुटाएर निर्माण सुरु गरेको रंगशाला धुर्मुस सुन्तली फाउण्डेशनले बजेट अभाव भएपछि काम रोकेको थियो। अहिले पनि रंगशालाको ऋण १२ करोड रहेको फाउण्डेशनले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको…

देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रे, सिन्धुपाल्चोक, रसुवा, पश्चिम रुकुम, संखुवासभा,…

कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding)…

प्रतिकृयाहरू
...