Sunday 26th May 2024

जेलमा रहेर पनि कसरी जिते पाकिस्तानमा इमरान खानले निर्वाचन ?


एजेन्सी -इमरान खान पक्राउ परेको ९ महिनापछि फेब्रुअरी ८, बिहीबार पाकिस्तानमा निर्वाचन भएको थियो ।निर्वाचनकाे समयमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जेलमा थिए । निर्वाचन हुनुभन्दा ५ दिनअघि उनलाई ३ छुट्टाछुट्टै मुद्दामा ३१ वर्षको जेल सजाय सुनाइएको थियो । पाकिस्तानको निर्वाचन आयोगले खानबाट उनको चुनावी चिन्ह ब्याट पनि खोसेको थियो ।

यसकासाथै उनको पार्टीको प्रचारप्रसारमा पनि रोक लगाइएको थियो । खानलाई जनताको सम्झनाबाट मेटाउन सेनाले हरेक चाल चलेको थियो । यी सबका बाबजुद पनि फेब्रुअरी ८ मा भएकाे चुनावमा इमरानलाई समर्थन गर्ने स्वतन्त्र उम्मेदवारले नै सबैभन्दा बढी मत पाएका थिए। याे नतिजाले यतिबेला पुरै विश्वलाई नै चकित पारेको छ । यद्धपी पाकिस्तानको निर्वाचन आयोगले नतिजा दिन ढिलाइ गरिरहेको छ ।

क्रिकेट खेलका अब्ब्ल खेलाडी राजनीतिमा कसरी यति लोकप्रिय भए त ? खासगरी, कैदबाट नै चुनाव जित्न सक्ने क्षमता भएका इमरान खान कसरी राजनीतिमा आए र कसरी सेनाको सबैभन्दा ठूलो शत्रु बने त ?
इमरानका जितका २ कारण

१. इमरान खानले पाए सहानुभूतिको भोट

अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार इमरान खानलाई निर्वाचन अघि एकपछि अर्को गरी सजाय सुनाइएको थियो । उनीहरुको विवाहलाई समेत गैरकानूनी घोषणा गरिएको थियो । यसकारण पाकिस्तानका जनतामा उनीप्रति सहानुभूति जागेकाे हाे ।

जेल गएपछि उनको पार्टीलाई जनताले बढी मन पराएको सर्वेक्षणले देखाएको छ । भनिन्छ कि, जेलमा भएतापनि खानले कुनै न कुनै तरिकाले मानिसहरूसँग सम्पर्क राखिरहेका थिए। उनले नागरिकसँग जेलबाट म्यासेजमार्फत पनि कुराकानी गरिरहेका थिए। सेना र अमेरिकाको हस्तक्षेपले आफ्नो सरकार ढल्यो भन्ने कुरा जनताको मनमा उनले पुष्टी गरेका थिए । खानलाई जनताले सहानुभूति दिएकै कारण नतिजा यस्ताे देखिएकाे हाे ।

२. नवाजको लोकप्रियता घट्दै

नवाज शरीफ ४ वर्ष पछि र निर्वाचनभन्दा ४ महिना अघि मात्र पाकिस्तान फर्केका थिए। न्युयोर्क टाइम्सका अनुसार फर्किएपछि पनि उनले कुनै विशेष र्‍याली गरेका छैनन् । उनी जनताको बीचमा गएका छैनन् ।

नवाजको अनुपस्थितिमा इमरानले भ्रष्टाचारको सन्दर्भमा नवाजको छविलाई ध्वस्त पार्न सफल भएका थिए। इमरान जेलमा र नवाज स्वतन्त्र भएतापनि जनताले स्वतन्त्र उम्मेदवारहरू पीटीआईलाई बढी समर्थन गर्ने छनौट गरे। यो नै एउटा महत्त्वपूर्ण कारण थियो ।

इमरानले मुशर्रफलाई मृत्युदण्डको सजायको माग गरे, पछि फरार भए

इमरान खानको करियरमा दुईवटा घटना यस्ता थिए जसलाई उनको जीवनको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट मानिन्छ।

पहिलो १९९२मा क्रिकेट विश्वकपमा पाकिस्तानको विजय र दोस्रो- १९९६ मा पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) पार्टीको गठन रहेकाे छ।

इमरान विश्व क्रिकेटमा पाकिस्तानका पहिलो अलराउन्डर थिए। सन् १९८७ मा उनले पाकिस्तानलाई भारतमा पहिलो टेस्ट सिरिज जिताउन नेतृत्व गरे। त्यतिबेला पाकिस्तानका तानाशाह जिया उल हकले खानलाई पाकिस्तान मुस्लिम लिग (पीएमएल) मा आउन निम्तो दिएका थिए । तर, इमरानले यो प्रस्ताव अस्वीकार गरेका थिए ।

त्यसपछि सन् १९९६ मा पहिलो पटक इमरानले आफ्नै पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) बनाए । ७ सिटमा मात्र चुनाव लडे तर त्यसपछि उनले लज्जास्पद हार बेहोरेका थिए । तर, बिस्तारै इमरानको राजनीतिक अनुभव र पार्टी कार्यकर्ता दुवै बढ्दै गयो । सन् १९९९ मा कारगिल युद्धमा लज्जास्पद पराजयपछि जनरल परवेज मुशर्रफले तत्कालीन प्रधानमन्त्री नवाज शरीफलाई पदच्युत गरेका थिए ।

त्यतिबेला इमरानले कु’को खुलेर समर्थन गरे तर २००२ सम्म उनी मुशर्रफका विरोधी बने । यस वर्ष, इमरानको पार्टी एक पटक फेरि चुनावी मैदानमा प्रवेश गर्यो, तर उसले २७२ मध्ये १ सिट मात्र प्राप्त गर्न सकेन।

२००७ काे नोभेम्बर ३ मा राष्ट्रपति मुशर्रफले पाकिस्तानमा संकटकाल लगाए । त्यसपछि इमरानले मुशर्रफलाई मृत्युदण्डको सजायको माग गरेका थिए । यसपछि उनलाई घरमै नजरबन्द गरिएको थियो तर उनी फरार भएका थिए । उनलाई पछि गाजी खान जेलमा राखिएको थियो । तर, नोभेम्बर २१ मा इमरानलाई पनि अन्य राजनीतिक बन्दीसँगै रिहा गरिएको थियो ।

सेनालाई खुसी बनाएर प्रधानमन्त्री बनेका थिए इमरान

पाकिस्तानी पत्रकार अतिका ​​रहमानका अनुसार “पाकिस्तान जनताले नभएर जनरलहरूले चलाउने गर्दछन् । केही सेना अधिकारीहरूले पाकिस्तानको चुनावमा हेरफेर गर्छन्। उनीहरूले सरकार बनाउँछन् र भत्काउँछन्। उनीहरूले पाकिस्तानको आणविक र विदेश नीति पनि तय गर्छन्।”

पाकिस्तानका प्रधानमन्त्रीहरूले सत्तामा रहन एउटा काम गर्नुपर्छ, त्यो हो सेनालाई खुसी राख्नु। इमरानले अहिले सेनाले आफूलाई सत्ताच्युत गरेको आरोप लगाउन सक्छन् तर उनी आफैं यो कामको एक हिस्सा बनेर प्रधानमन्त्री पदसम्म पुगेका थिए।

यो २०१८ वर्षको कुरा हो, जब पाकिस्तानको सेनाले त्यहाँका दुई प्रमुख राजनीतिक दलहरू, पाकिस्तान पीपुल्स पार्टी र पाकिस्तान मुस्लिम लिग पार्टीको विकल्प खोजिरहेको थियो। राजवंश भन्दा पर रहेको विकल्पकाे खाेजी थियाे। वास्तवमा, पीपीपी भुट्टो परिवारको नियन्त्रणमा छ र पीएमएल पार्टी शरीफ परिवारको नियन्त्रणमा छ।

जसका कारण सेनाले उचित नियन्त्रण राख्न सकेन । सेनाले एक प्रसिद्ध व्यक्तिलाई देशको सत्तामा ल्याउन खोजेकाे थियाे। त्यसपछि, सेनाले खानमा दुवै पार्टीलाई सत्ताबाट हटाउने सपना पूरा गर्न सक्ने व्यक्ति देखेकाे थियाे।

करियरकाे शिखरमा रहेका खानमा सबै गुणहरू थिए। उनले सन् १९९२ मा क्रिकेटका माध्यमबाट पाकिस्तानलाई विश्वकप जिताउन सहयाेग गरेका थिए । उनी अक्सफोर्डमा पढेका थिए र विश्वभर चर्चित पनि थिए । इमरान खानले लाहोरका अस्पताल र विश्वविद्यालयलाई आर्थिक सहयोग गर्दै आएका थिए । सन् १९९६ मा उनले पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) नामबाट आफ्नै पार्टी बनाए। यसले खानकाे राजनीतिमा चासो भएकाे प्रमाणित भएकाे थियाे।

पाकिस्तानप्रतिको उनको दृष्टिकोण र इस्लामप्रतिको उनको दृष्टिकोणले सेनाको नजरमा खानको छविलाई अझ बलियो बनायो। खानले उर्दू र अङ्ग्रेजीमा भाषण दिएर पाकिस्तानलाई महान् बनाउने सपना देखाउने गर्थे । पाकिस्तानका राजनीतिक टिप्पणीकार सिरिल अल्मेडाका अनुसार लगातार २० वर्षदेखि सेनाले पाकिस्तानी जनताको मनमा दुई प्रमुख राजनीतिक दलबीच द्वन्द्व सिर्जना गरेको छ ।

के घमण्डी छन् इमरान ?

केहिले इमरान खानलाई घमण्डी पनि भन्छन् । पधकारहरूका अनुसार उनी आलोचना पटक्कै सहन सक्दैनन् । पाकिस्तानी पत्रकार मुर्तजा अली शाहले अङ्ग्रेजी वेबसाइट द इन्डिपेन्डेन्टमा मुर्तजाले इमरानको सत्ता गुमाउनुमा दुईवटा कारणलाई दोष दिएका थिए। अहंकार र अयोग्यता। मुर्तजाले सत्तामा आएपछि इमरानले पहिले आफ्ना आलोचकहरूलाई जेलमा हालेकाे बताएका छन्। यसैगरी, उनका कारण धेरै पत्रकारको काम ठप्प भएकाे थियाे।

राजनीतिमा मात्र नभई व्यक्तिगत जीवनमा पनि उनी घमण्डका कारण असफल भएकाे मानिन्छ।

तीन पटक बिहे गरेका इमरान

इमरान खानकाे छवि प्लेब्वाईकाे रहेकाे थियाे। सन् १९९५ मा ४३ वर्षको उमेरमा उनले २१ वर्षीया जेमिमा गोल्डस्मिथसँग विवाह गरे तर यो विवाह लामो समय टिक्न सकेन र सन् २००४ मा उनीहरुको सम्बन्धविच्छेद भयो । यसपछि इमरानले २०१४ मा पत्रकार रेहम खानसँग विवाह गरे, यो विवाह पनि १ वर्ष मात्र टिक्यो ।

पाकिस्तानको पञ्जाब क्षेत्रको एक धेरै रूढिवादी परिवारमा जन्मेकी बुशरा बीबी इमरानकी तेस्रो पत्नी हुन् । बुशरा पाकिस्तानमा एक सुफी सन्तको रूपमा धेरै प्रसिद्ध छिन् जसका कारण उनलाई पिरनी पनि भनिन्छ। यो उपाधि सन्तहरूलाई दिइन्छ। ४८ वर्षीया बुशराको बारेमा भनिन्छ कि उनले दुष्ट आत्माबाट पीडित मानिसहरूलाई आफ्नो प्रार्थनाले निको पार्छिन्।

आफ्नो ड्राइंग रुममा बसेर पत्रकार अतिकाले इमरानलाई बुशरा बिबीको बारेमा सोधेकी थिइन् । इमरानले पहिले यो प्रश्नलाई बेवास्ता गरे। अतिकाले इमरानलाई आफ्नो व्यक्तिगत जीवनबारे सोधिन् । त्यसमा इमरानले लज्जित हुँदै भने, ‘अहिले म विवाहित पुरुष भएँ… थप के भनुँ।’

“सरल भाषामा भन्नुपर्दा, पहिले म कसैको जीवनसाथी भएकोमा विश्वास गर्दिन, तर अहिले मलाई जीवनसाथी भएको महसुस भएको छ । म बिहे गर्न चाहन्न किनकी मलाई लाग्यो कि उनी असफल हुनेछिन् । त्यतिबेला जब मसँग कसैले जीवनसाथी भएको कुरा गर्थे, म सोच्छु कि मसँग पनि त्यस्तो मान्छे होला कि ? के म पनि यति भाग्यमानी हुनेछु?”

प्रेमको कुरा गर्दै गर्दा इमरानले अतिकालाई नेल्सन मण्डेलासँगको भेटको कथा सुनाएका थिए। उनी भन्छन्, “एकपटक मलाई र मेरी पहिलो श्रीमती जेमिमालाई नेल्सन मण्डेलाले कोष संकलन गर्न रेल यात्रामा निम्तो दिएका थिए । त्यहाँ मैले मण्डेला आफ्नी श्रीमतीसँग बसेको देखेँ। उनीहरुबीचको केमेस्ट्री उत्कृष्ट थियो । त्यसपछि मैले सोचे, के मेरो पनि एक साेलमेट हुनेछ? तर अब म भन्न सक्छु कि हो मेरो पनि एक साेलमेट छ।”


सम्बन्धित शीर्षकहरु

इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनको आज फाइनल खेल हुँदैछ । यस सिजनको फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स…

म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-१…

कुबेत “भाषा अनि संस्कृतिमा बिभिधता विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था खोटाङ-कुवेत सम्पर्क मञ्चको आफनो…

प्रतिकृयाहरू
...