Sunday 29th March 2026

मुगु हत्या घटना : पक्राउ परेका आरोपित दुई जना सार्वजनिक


मुगुमा एकै परिवारको चार जनाको हत्या गरेको आरोपमा पक्राउ परेका दुई अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय मनोज, ७ वर्षीया अप्सरा र ५ महिने रहरको हत्या आरोपमा नातेदार दुई जना पक्राउ परेका छन्।
छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ पिनाका ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुन्दुका ३१ वर्षीय गोपालबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। गोपाल श्रीदेवीका मामाका छोरा हुन्।
श्रीदेवीका श्रीमान् दीपक रोजगारका लागि कतारमा थिए। गोपाल पनि कतारमा दुई वर्ष बसेर राम्रो कमाइ नभएको भन्दै फर्किएका थिए। दीपक भने गत मंसिरमा कतार गएका थिए।
गोपालले दीपकलाई भिसा पठाइदिन आग्रह गरेका थिए। दीपकले उक्त कुरा अस्वीकार गरेपछि गोपाल रिसाएको अनुसन्धानबाट देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी भीमप्रसाद ढकालले बताए। त्यही रिसिइबीका कारण परिवारकै हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ। साथै उनीहरूले उक्त घरमा लुटपाट गर्ने योजना पनि बनाएका थिए।
राम्रो कमाइ गरिरहेका दीपकको घरमा नगद र सुन हुन सक्ने अनुमानमा हत्या गर्न गोपालले बाँकेबाट गोर्खराज शाहीलाई पनि बोलाएका थिए। हत्या गर्ने योजना उनीहरूले जेठमै गरेका थिए। त्यसबेला नै श्रीदेवीसँग १०/१२ तोला हुनसक्ने भएकोले लुट्ने सोचेका थिए।
यतिबेला श्रीदेवी गर्भवती रहेको हुँदा हत्या नगरी फर्किएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ। फेरि उनीहरूले असोजमा भेटेर कात्तिकमा हत्या गर्ने भनेर योजना बनाएका थिए।

योजनाअनुसार गोर्खबहादुर सुर्खेतबाट कात्तिक ५ गते मुगुका लागि हिँडेका थिए।
भोलिपल्ट पुगेका उनले गोपाललाई भेटेर उनको घरको भुइँ तलामा रहेको खरायोको खोरमा बसेका थिए। त्यसपछि कात्तिक ७ गते दिनभर मुन्दुस्थित एक सामुदायिक विद्यालयनजिकै खोलामा लुकेर पुन: गोठमै आएर बास बसेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
दसैंको टीका लगाएर कात्तिक ८ गते साँझ श्रीदेवी माइतीबाट फर्किएकी थिइन्। त्यही बेला उनीहरू घरभित्र प्रवेश गरेर चारै जनाको हत्या गरेको डिआइजी ढकालले बताए।
हत्यापछि उनीहरूले श्रीदेवीको फोन, साढे २ तोला सुनको रिङ र २५ लालको घाँटीमा रहेको तिलहरी लुटेर भागेका थिए। घटनापछि गोर्खबहादुर मुगु र जुम्लाको सिमाना भुलभुलेसम्म हिँडेर पुगे भने त्यहाँबाट सुर्खेत जाने बस चढेर कात्तिक ९ गते सुर्खेत पुगेका थिए।
त्यसपछि उनले श्रीदेवीको फोनको सिम निकालेर आफ्नो सिम राखे।
दुई साताको अनुसन्धानपछि प्रहरीले कात्तिक २३ गते नेपालगन्जबाट गोर्खबहादुरलाई पक्राउ गरेको हो।
उनीबाट एक लाख ७९ रुपैयाँ, नेपाली राहादानी बरामद भएको छ। उक्त रकम उनले सुन बेचेर लिएका थिए। उनले घटनास्थलमा गलबन्दी छाडेका थिए। उनले गलबन्दी आफ्नो भएको स्‍वीकार गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत मुगुबाट ११ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
यो घटना कात्तिक ८ गते राति नै भए पनि कात्तिक १० गते मात्रै बाहिरिएको थियो।
यसको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापा, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र नेपाल प्रहरी प्रदेश कार्यालय कर्णालीबाट प्रहरी निरीक्षक बुद्धि सुवेदीको छुट्टाछुट्टै टोली खटिएको थियो।
अनुसन्धानको जटिलता देखेर कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी ढकाल आफैं मुगु पुगेका थिए। पछि केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीलाई घटनास्थलमा खटिएको थियो।

-ईकान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...