Thursday 19th June 2025

चित्रमा पञ्चाङ्ग, भाग – ७५


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०४/२४
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पचहत्तरौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
हाम्रो देशमा यस्ता खाले विकास गर्छ कसले
विकासका नाममा कसको गोजी भर्छ कसले
बाँच्नु छ भने बचाउन पनि त जान्नु पर्यो नि
ठाउँ न कुठाउँ बलिया विकास छर्छ कसले
हुन्छ हुन्छ भनेको काम कसरी हर्छ कसले ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
आवस्यकताको ठाउँमा पुल छैन मारमा छन्
कतै अनावश्यक पुल हुँदा बिना धारमा छन्
मानिसहरू अनेक स्वार्थ जडित ध्यान गर्दै
निखारको उदाहरण छैन सबै खारमा छन्
उल्टा कार्यहरूले गर्दा जनता नै भारमा छन् ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ३
१.
खोलामा तर्न विद्यार्थीलाई त डर छ
अरु के गर्ने जँगार एउटा भर छ
नेताको विकास भने कस्तो छर्लङ्ग भो
जनतामाथि थुपारेको कति कर छ
नेतालाई खानलाई सबैमा तर छ
२.
बाटो नभएको ठाउँमा पुलमा पैसा छरिन्छ यहाँ
जनताको आँखामा धुलो हालेर खल्ती भरिन्छ यहाँ
लौ भन्नुस् यो देशको विकास कसरी कहिले हुने हो
गरीब मान्छे अभावै अभावमा सधैं मरिन्छ यहाँ
जहिल्यै जनता झुक्याएर काण्डैकाण्ड गरिन्छ यहाँ ।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग ४
खोला तर्ने विद्यार्थीको एक हुल भेटिन्छ
जन सेवा गर्छु भन्नेको नै भुल भेटिन्छ
यो नेपाल हो खोजेमा अनेक पाइएलान्
कतै फेरि गन्तव्य बिनाको पुल भेटिन्छ
यस्तै यस्तै नव विकासको मूल भेटिन्छ ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ५

झरीले गर्दा होला नि खोला तर्नै गाह्रो
बगाउला भन्ने पीर छेऊ पर्नै गाह्रो
हरेक वर्ष वर्षाको बेला यस्तै हुन्छ
साथीभाइ नभए त आँट गर्नै गाह्रो
खोलीमा पाइला राखे अघि सर्नै गाह्रो ।

जहाँ पानी ऑउदैन त्यहा पुल बन्छ
मन्त्रालय भित्र छिर्दा खाने हुल बन्छ
यस्तै त हो नेपालमा के के हुन्छ हुन्छ
अन्त भए यही कुरा ठुलो भूल बन्छ
काम केही नभए नि यहाँ तुल बन्छ ।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग ६
बिद्या आर्जन गर्न गाह्रो छ
पुल बिनाको तर्न गाह्रो छ
नदीमा नजर नगाकै हो
खेतको भर पर्न गाह्रो छ
बसाइँ पनि सर्न गाह्रो छ ।
धनमाया चौधरी
कैलाली
पञ्चाङ्ग ७
हिंजो आज त बर्खाको भेल भयो
विध्यार्थी जिवन सँग खेल भयो
के होला देशका कर्णधारको दिन्
जुन सरकार आए नि फेल भयो
बाँचेकै छौं तर जिन्दगी जेल भयो ।

सङ्गलो पानी माथी सुन्दर पुल छ
सजिलरी नै पुगौंला घर पुल छ
शुरक्षित छौं राम्रो छ भविश्य हाम्रो
हुन्छ हाम्रो जिवन निर्भर पुल छ
हो बगाउँला भन्ने छैन् डर पुल छ ।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
पञ्चाङ्ग ८
साउन महिनामा भेल बढेर आयो
बालबालिका हिलाम्मेमा गढेर आयो
पहुँचवालाको ध्यान खै जादैन तेता
त्यो सानो पुल खै कसरी चढेर आयो
यो चित्र देख्दाखेरि मन डढेर आयो ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग ९

बाढीले बगाउला भन्ने ठूलो डर छ
नजाउ भन्दा पनि जानलाई कर छ
हरेक वर्ष बाढीले सताउँछ यहाँ
छेउमा न कुनै न पिपलु न वर छ
यस्तो बेलामा त साथीको ठूलो भर छ ।

नेताले त हौ आफ्नो खल्ती भर्नलाई यहाँ
जनताको आँखामा छारो छर्नलाई यहाँ
अनावश्यक ठाउँमा पुल बनाएका छन्
यसो त्यसोको वफादारी गर्नलाई यहाँ
चोर बाटो समाई सागु तर्नलाई यहाँ ।
सरस्वती श्रेष्ठ
इटहरी ।
पञ्चाङ्ग १०
सिटामोल देउ न अहिले सुइ त पछि लाउँला सरकार
पहिला अलिक बिसेक होस् न अनि खोले खाउँला सरकार
लोकतन्त्र अझसम्म हिड्नै जान्या छैन उडेको गफ लाउँछ
पहिला हिड्न सिकाउनु अनि सङ्गै पारी जाउँला सरकार
अनि बल्ल जनताले लोकतन्त्रको गीत गाउँला सरकार ।
पशपति राई
खोटाङ ।
पञ्चाङ्ग ११
प्राकृतिक प्रकोपले पनि गर्नु गर्ने भयो
बाढी पहिरोले पुलै लाने मनै डर्ने भयो
कहिले कता कहिले कता अतिवृष्टि दिन्छ
एक्लै कसरी पारी जाने कसरी तर्ने भयो
बस्ती धरापमा पार्न आयो सार्नु पर्ने भयो ।
जमुना आचार्य
सिन्धुपाल्चोक
पञ्चाङ्ग १२
उर्लिदो भेलमा पारी तर्नै गाह्रो भो
एउटा डोरीको भर पर्नै गाह्रो भो
यो कठिन यात्रा गर्न बाध्य छौ हामी
एक्लै दोक्लै हुँदा आँट गर्नै गाह्रो भो
खोला छेउ गएर अघि सर्नै गाह्रो भो ।

बिना पानीको पुल बन्छ
घुस खानेको हुल बन्छ
यस्तै छ यहाँको चलन
यि नेता छान्नु भुल बन्छ
बेकामेको चैँ तुल बन्छ ।

दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग १३
१.
भ्यु टावरको साटो पुल बनाइदिएको भए
दुर्गममा पनि त लगानी खनाइदिएको भए
अलिकति भएपनि विकाशमा रमाउथे जन
सरकारले उपस्थिति मात्रै जनाइदिएको भए
भोट माग्दा जस्तो राहत भनाइदिएको भए ।
२.
के बिग्रन्थ्यो होला सरकारको राहत दिदा
हर्न दु:खको झोला सरकारको राहत दिदा
जनताको बारेमा चिन्तित कहिले हुन्छन् र
खिइन्छ त चोला सरकारको राहत दिदा
बग्छ कुन खोला सरकारको राहत दिदा ।
#पृथक प्रकृति ,झापा
पञ्चाङ्ग १४
खोला तर्न डर लागेको छ
आखिरीमा कर लागेको छ
बाढी आउँदा कसरी भनौँ
आफन्तको भर लागेको छ
मनभित्र चर लागेको छ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग १५
विकास निकास छैन दु:ख खोला तरेका छन्
कोही वारि कोही पारि बिचल्निमा परेका छन्
देश जनताको माया छ र कसलाई बरा
कति कति बालबच्चा अकालमा मरेका छन्
नेताका चै छोरा छोरी विदेशमा सरेका छन्
चेतना पोखरेल
मोरङ
पञ्चाङ्ग १६
साधन विपरित कस्तो पुल बनियो
ज्ञान र बुद्धि दुबै खस्तो पुल बनियो
चाहेका ठाउँमा केही बनिन सकेन
बाटो नै नचाहेको जस्तो पुल बनियो
नकारात्मक खोज्न सस्तो पुल बनियो ।
अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग १७
रहरहरू पारि तरे वारि मन रह्यो
हाम्रा कष्ट यस्तै हजुर कता धन रह्यो
प्रकृतिले वर्षैपिच्छे छाँटेको हो कति?
गर्ला भनी पठाएको कता जन रह्यो
मनभरि बल्दो आगो दनदन रह्यो ।
चन्द्रावती अधिकारी


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ…

अमेरिकी सरकारले नेपाललाई दिँदै आएको अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई निरन्तरता दिने भएको छ। अमेरिकी राष्ट्रपतिमा…

बुधबार, इरानले रातभरको आक्रमणको नयाँ चरणको रूपमा इजरायलमा हाइपरसोनिक मिसाइलहरू प्रहार गरेको दाबी गरेको छ। देशका शीर्ष नेता, अयातुल्लाह अली…

प्रतिकृयाहरू
...