Saturday 26th July 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एकान्नब्बेयौँ भाग (९१)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०४/२२
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : खेलियो, जेलियो, झेलियो, ठेलियो, पेलियो, बेलियो, रेलियो, हेलियो आदि मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- ५ देखि २५
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
धन सम्पत्ति र पैसाको खेल खेलियो यहाँ
लहरा माथि पहरा क्रमैले जेलियो यहाँ
तेरो मेरो भन्ने भिन्नता यस्तो हुँदो रहेछ
निमुखा देखेर त ह्याकुलाले ठेलियो यहाँ
दुःख पाउनु रहेछ मजाले झेलियो यहाँ ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ .
पञ्चाङ्ग २
स्वतन्त्रताको नाउँमा समस्य जेलियो झनै
सुःखको खोजिमा हिंडेको दुःख झेलियो झनै
उन्नती भएन देशको न आफ्नो जिन्दगिमा
समयको कोलमा पेल्दा सम्म पेलियो झनै
जहाँ दुख्छु त्यहीँ ठोक्दा समस्य रेलियो झनै ।
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
पञ्चाङ्ग ३
जनतासँग धोकाको खेल खेलियो यहाँ
सोझो मान्छे सबैबाट सधैं पेलियो यहाँ
लौ भन्नुस् न सोझाका दिन कहिले आउँछन्
समाज धनी गरीब बीच जेलियो यहाँ
भ्रष्ट्राचारी लुकाएर सोझो ठेलियो यहाँ ।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग ४
आफन्तले आफन्तलाई हेपिन्छ यहाँ
दुई ढुङ्गाको तरुल झैँ चेपिन्छ यहाँ
जो होचो छ नि उसैको मुखमा घोचो
नबोल्नेकै मुखमा हिलो छेपिन्छ यहाँ
गरिब निमुखाकै गला चेपिन्छ यहाँ ।
चेतना पोखरेल
मोरङ
समपञ्चाङ्ग ५
विदेशीन बाध्य बनाई रेलायो युवालाई
आजभोलि भनेर साच्चै खेलायो युवालाई
रेमिटान्स चाहिन्छ नेतालाई तलब बाँड्न
भत्ता खाने सत्ताधारीले जेलायो युवालाई
जोखिम गर्नेलाई कति पेलायो युवालाई ।

विदेश पठाउन भन्दै केलायो युवालाई
पैसा जग्गा धितो राखेर ठेलायो युवालाई
निर्धन युवा युवती जाने गर्छन् खाडिमा नै
राहदानी लिएर कति झेलायो युवालाई
झुटो बोली-बोली सदैव बेलायो युवालाई ।

सोमनाथ लुइटेल “रवि पाल्पाली”
पाल्पा।
पञ्चाङ्ग ६
जिन्दगी विवादमा रेलियो खुवै
वेलनाले बेले झैँ बेलियो खुवै
आखिर जीवन यस्तै त रहेछ
अनेकौं समस्यामा जेलियो खुवै
आफ्नै जिन्दगीसँग खेलियो खुवै ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न पा -३,काभ्रे
पञ्चाङ्ग ७
यात्रामा समस्या जेलियो अधिक
दु:ख पिर व्यथा झेलियो अधिक
दैवले दैनिक दिएपछि पीडा
आँसुको कुण्डमा खेलियो अधिक
भरोसाका रोटी बेलियो अधिक ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ८
जवानी सारा पहिले त्यसै रेलियो मायामा
सोचेकोभन्दा चौगुना बढी जेलियो मायामा
अहिले बल्ल बुद्धिमा सानो अङ्कुर हुँदैछ
नजाने पनि चिम्लेर ऑखा हेलियो मायामा
नराम्रोसङ्ग जवानी छॅदा खेलियो मायामा ।।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग ९
खेल्नु नखेल्ने खेल खेलियो यहाँ
चिन्नै गाह्राे भो जरा जेलियो यहाँ
कसको जरा कुन चिन्नै सकिएन
आफ्नै मान्छेले जरा केलियो यहाँ
सोझा सिधा जनता पेलियो यहाँ ।
धनमाया चौधरी
कैलाली
पञ्चाङ्ग १०
सधैँ सिधासाधा मात्रै पेलियो किन
सत्य लुकाई असत्य ठेलियो किन
ठुला माछा उम्के एउटा बहानामा
भुरा माछा जन्जिरमा जेलियो किन
जनताको भावनामा खेलियो किन ।
श्रीकृष्ण शर्मा
पोखरा
पञ्चाङ्ग ११
एता र उता गर्दा गर्दै हेलियो जिन्दगी
सधैं डर र त्रासमा नै झेलियो जिन्दगी
छोरीको जन्म हारेको कर्म भन्थे बाबाले
मनको पीडा लुकाएर जेलियो जिन्दगी
विबादै विवादमा परि रेलियों जिन्दगी ।
सरस्वती श्रेष्ठ
इटहरी
पञ्चाङ्ग १२
अग्रगमनको खेल मज्जाले खेलियो आज
जनता ढाँट्न गठबन्धनमा जेलियो आज
सत्ताकालागि आदर्श सिद्धान्त हेरिन्न कतै
गणतन्त्रको नाउँमा पापड बेलियो आज
एकपछि अर्को नाट्य मञ्चन ठेलियो आज ।
प्रधुम्न चालिसे
भक्तपुर ,कटुन्जे ।
पञ्चाङ्ग १३
भएको सम्पत्ति सबै जुवा खेलियो यहाँ
अहिले त जिन्दगी त्रासमा जेलियो यहाँ
उमेर छउन्जेल यस्तै गर्दै बिते दिन
सोझा सिधा हुँदा सबैबाट पेलियो यहाँ
समाजमा गरिबी जिन्दगी रेलियो यहाँ ।
दुर्गा भट्टराई
मोरङ
पञ्चाङ्ग १४
धनात्मक ऋणात्मक खेल खेलियो त के पायौ
नौरङ्गी जालझेलमा रीत जेलियो त के पायौ
जे गरेपनि हुन्छ नभन, नजिकै छ जीवन
नजिक आएको समृद्धि नै ठेलियो त के पायौ
सुख नमज्जाले बेल्ना भरी पेलियो त के पायौ ?
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १५
राजनीतिको खेल खेलियो भन्छन्
झेल्नु नझेल्नु सबै झेलियो भन्छन्
राजनीति सजिलो किन नभको
पीडैपीडामा प्राण जेलियो भन्छन्
हारले जिन्दगानी‌ हेलियो भन्छन् ।
अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग १६
सानो हुँदा बल ठुलो भएसि तास मात्रै खेलियो हेर
समयलाई नचिन्दा कति मौका त्यसै नै छेलियो हेर
आजको दिन भुतलाई कोट्याएर गफैगफमा बित्यो
भोलिभोलि भन्दाभन्दै आजलाई त सधैं झेलियो हेर
झेल्दाझेल्दै जिन्दगीलाई आज घाटतिरै ठेलियो हेर ।
-पशपति राई खोटाङ ।
पञ्चाङ्ग १७
वाल्यकालमा साथी सँग खेलियो धेरै
यहाँसम्म आऊँदा दुःख झेलियो धेरै
जीवन रंगमञ्चको खेल जस्तै त छ
बाटो खोज्दा खोज्दै लहरा जेलियो धेरै
जिन्दगीको व्यवहारमा हेलियो धेरै ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १८
धेरै खेल खेलियो जिन्दगीमा
दुःख पनि झेलियो जिन्दगीमा
खेल्दा जीवन बाँच्ने खेलहरू
आफू आफैँ पेलियो जिन्दगीमा
दुनियाँ तरेलियो जिन्दगीमा ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग १९
१.
कस्तो विडम्बना जोखीम खेल खेलियो सधैँ
बाध्यता भुली जिवनको गाडी ठेलियो सधैँ
सरकार कहिलेसम्म झेल्नुपर्ने बेथिति
उखुलाई जस्तो कहर पनि पेलियो सधैँ
राहत पाउने आसमा मन जेलियो सधैँ ।
२.
नियतिको घट्टामा पेलियो मान्छे
रोटी जस्तो पनि त बेलियो मान्छे
स्रोत साधन छैन भोग्नुपर्या छ
परिस्थितिमा चाहिँ जेलियो मान्छे
अहिलेसम्म कता ठेलियो मान्छे ।
#पृथक प्रकृति ,झापा
पञ्चाङ्ग २०
हारे पनि जिते पनि धेरै खेल खेलियो यहाँ
दुखका पर्खालहरू अनगिन्ती झेलियो यहाँ
घटना, दुर्घटना आउँने जाने चलिरहन्छ
समस्या समाधानका बाटाहरू पेलियो यहाँ
हाँसो खुसीका अनेक क्षणहरू ठेलियो यहाँ ।
उर्मिला के.सी.
धनकुटा


सम्बन्धित शीर्षकहरु

कुवैत सिटी, जुलाई २४, गैरकानूनी आवास अभ्यासहरूलाई लक्षित गर्दै एउटा साहसिक नयाँ अभियानमा, कुवेती अधिकारीहरूले खैतानमा व्यापक निरीक्षण अभियान सुरु…

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ,…

मध्यपूर्वको नम्बर एक खुद्रा विक्रेता लुलु हाइपरमार्केटले अलराई आउटलेटमा जुलाई २३ मा आफ्नो अलराई आउटलेटमा आफ्नो बहुप्रतीक्षित भारतीय आँप महोत्सवको…

प्रतिकृयाहरू
...