Sunday 27th July 2025

चित्रमा पञ्चाङ्ग, भाग-७३


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०४/०२
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
रामराजा के.सी.
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको त्रिहत्तरौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
यो अनन्त ज्योतिको कसम खाऊ भनेँ त
सुन काण्ड कसको ? अगाडि आऊ भनेँ त
गरिब देशमा बहुमूल्य धातु भेटियो
कसको गर्ने विश्वास, लड्छ पाउ भनेँ त
न्याउरा खाने ढाडे बिरालो माउ भनेँ त ।
सविता के.सी, दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
यदि जलिरहन्छ दियो यो चौबाटो सुन्दर हुन्छ
शहीदको सम्झनाले देशको माटो सुन्दर हुन्छ
स्वाच्छ हुन्छ देश सडक वरिपरि वृक्ष लगाए
जब देश एकढिक्का बन्छ लाटो सुन्दर हुन्छ
त्यही बेला सबैलाई यो बाटोघाटो सुन्दर हुन्छ ।
सुरेशकुमार पाण्डे घोराही १८ दाङ
पञ्चाङ्ग ३
महापुरुषको समाधीमा दीपकको सौगन्ध खान्छन् नेता
ठीक विपरीत सुनका ती बोरा भरेर घरमा लान्छन् नेता
माथिदेखि तलसम्म तारतम्य मिलाएको छ कमाउन
यो राष्ट्र कसैको होइन केवल आफ्नो निजी नै ठान्छन् नेता
आफ्नो कार्यकालमा धन पुग्नेगरि कमाएर जान्छन् नेता ।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग ४
देशका अनगिन्ती सम्पदाको सान हेर
लुम्बिनीले विश्वमा चिनाएको मान हेर
गर्व लाग्दछ आफ्नो देशका सम्पदा हेर्दा
गौतम बुद्ध गरेका ज्ञानको दान हेर
हटाउ त्यो नचाहिँने कुराको भान हेर ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग ५
भोलिको गेस राम्रो
प्रेमको पेस राम्रो
आफ्नै जन्मभूमिको
भाषा र भेस राम्रो
बुद्धको फेस राम्रो ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ६
आहा कति राम्रो अति सुन्दर ठाउँ हेर
वरिपरि हरियो बोट अनि गाउँ हेर
मनमोहक दृश्य मकल बलिरहेको
यो गर्मीमा त्यो नदीमा भैदिए नाउँ हेर
एक पल्ट सबार गर्न त्यहाँ जाउँ हेर ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ७
झुटो बोल्ने गला जति रुद्ध बनून् सबै
स्वाभिमान बेच्नेसँग जुद्ध बनून् सबै
निरन्तर बलेको यै दीप ज्योति जस्तो
तन मन वचनले शुद्ध बनून् सबै
सत्यम् शिवम् सुन्दरम्ले बुद्ध बनून् सबै ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ८
बर्षौँदेखि शान्तिद्वीप जलेकै छ यहाँ
जसोतसो इन्धन त्यो चलेकै छ यहाँ
गौतमको जन्मभूमि यो लुम्बिनीभित्र
घुम्दाघुम्दै दिन त्यसै ढलेकै छ यहाँ
नयाँ ज्ञानशक्ति पनि फलेकै छ यहाँ ।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग ९
ज्ञानको दियो बालौँ हामी
दियोमा तेल हालौँ हामी
संसारको कल्याण होओस्
अँध्यारो कालो फालौँ हामी
प्रबुद्ध ज्योति पालौँ हामी ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग १०
बुद्धको सम्झनामा अखण्ड दीप बल्दैछ
शान्तीको आभाष जगाउँदै सीप बल्दैछ
जलको सामिप्यमा अनन्त ज्योति जल्दैछ
मनको ज्वाला शान्त पार्न पो रिप बल्दैछ
विश्वलाई लठ्याउने मस्त टिप बल्दैछ ।
सरिता काफ्ले कोहलपुर ८ बाँके
पञ्चाङ्ग ११
सिक्नु र सिकाउनु भएको दिनु दान हाम्रो
स्वागत र बिदाई गर्नु यहि हो मान हाम्रो
ज्ञानभुमी,शान्तिभुमि बुद्ध भुमि नेपालमा
शान्तिका अग्रदुत गौतम बुद्धको ज्ञान हाम्रो
विश्व सम्पदा सुचिमा अङ्कित यो सान हाम्रो ।
– पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३काभ्रे
पञ्चाङ्ग १२
चौबाटोको चोकै राम्रो लाग्छ
भेट्न जाने भोकै राम्रो लाग्छ
चारैतिर हरियाली ठाउँ
मायालुले छोकै राम्रो लाग्छ
सुनी तिम्रो जोकै राम्रो लाग्छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग १३
१.
चेतनाको प्रज्वल दिप बाल्न सकौँ
परेका भ्वाङ राम्रोसँग टाल्न सकौँ
जेजस्तो पायौं शिक्षा ज्ञान सम्हालेर
भएको फोहोर जति पखाल्न सकौँ
नितान्त हितको कुरा अँगाल्न सकौँ ।
२.
ज्ञानको समीप भएरै
अँध्यारोमा दिप भएरै
इच्छाशक्ति कमि हुँदैन
बुद्धको ती सीप भएरै
सद्भावको खिप भएरै ।
#पृथक प्रकृति,झापा
पञ्चाङ्ग १४
देवता सरि झरेको यो भूमिमा
ज्ञान प्रकाश छरेको योभूमीमा
महा पुरुष जन्मिदा लुम्बिनीमा
युद्ध अशान्ति टरेको यो भूमिमा
बुद्धको छायाँ परेको यो भूमिमा ।

ज्ञानको प्रकाशले झलमल पारी दिए
युद्ध र अशान्तिको खलबल टारी दिए
महामानव बुद्धले लुम्बिनीमा जन्मेर
हिँसाको ताप नै खलखल झारी दिए
विश्वभरि शान्तिको कलकल सारी दिए ।

टीकाराम जोशी, टीकापुर ।
पञ्चाङ्ग १५
लुम्बिनीको ज्योति छर्न प्रज्वलित दीप
मन र मस्तिष्क भर्न प्रज्वलित दीप
सदावहार ल्याउन सकौं हामी सबै
सन्देशात्मक नै गर्न प्रज्वलित दीप
अन्यायको तृष्णा हर्न प्रज्वलित दीप ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १६
लुम्बिनीमा दीप ज्योति झलमल अझै
बुद्ध हाँसेर लिँदैछन् मलमल अझै
पर्यटकीय थलो ऐतिहासिक भूमि
घुम्न जान पर्नुहुन्न अलमल अझै
भन्छन् सबैजना खोइ चलमल अझै ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग १७
सीता अनि बुद्ध दायाँबायाँ परेको देश
तपस्या गरी बुद्धले ज्ञान छरेको देश
राजकाज सम्पुर्ण त्यागेर हिडने बुद्ध
बुद्धले जनता बिच ज्योति भरेको देश
ज्ञानी ऋषिले कडा तपस्या गरेको देश ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग १८
मनको मन्दिरमा शान्तिको दीप बलिरहोस्
ईष्र्या मोह र वैमनस्यता सधैं ढलिरहोस्
नासियोस् अन्धकार खुलोस् मानव तेश्रो आँखा
अशान्तिलाई त्यागी शान्तिको मार्ग चलिरहोस्
सृष्टिमा मानवता नै मानवता फलिरहोस् ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग १९
हेर ईश्वरको माया प्रभावशाली छ
बत्ती वरिपरि छाया प्रभावशाली छ
याहाँ धेरै प्रभाव पार्न सक्नेहरूमा
यो संस्कार जान्न ताया प्रभावशाली छ
अनि माया भन्दा काया प्रभावशाली छ ।
अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग २०
ग्यासद्वारा त्यहाँ नित्य बत्ती जलेको छ
विश्वभरि त्यसको सन्देश चलेको छ
दृष्टान्त छ बुद्ध जन्मस्थल लुम्बिनीमा
बुद्धको नाम अमर रही फलेको छ
कैयौँ बर्ष बित्यो शान्ति दीप बलेको छ
सुरेश चन्द्र घिमिरे
पञ्चाङ्ग २१
उता पट्टी बुद्ध थलो यता दिपको सान छ
लुम्बिनी प्रदेश भित्रै नेपाली पहिचान छ
खुसीका फूलहरू फूलिरहँदा सधैँ यहाँ
उराठ लाग्दा मन भित्रै भन्न त अजान छ
खोज्नु पर्ने बाँकी हामीले यहीँ समाधान छ ।
डिल्ली राज घिमिरे
अर्घाखाँची
पञ्चाङ्ग २२
सयौँवर्षदेखि अखण्ड दीप जलेको छ यहाँ
बुद्ध ज्ञानको ज्योति समीप चलेको छ यहाँ
राजकाज,मायामोह त्यागेर हिंड्न सक्ने बुद्ध
अवलोकन हेर्दाहेर्दै दिन ढलेकाे छ यहाँ
समय अनुसारको फलफूल फलेको छ यहाँ ।
दुर्गा भट्टराई
मोरङ


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

प्रतिकृयाहरू
...