Tuesday 31st March 2026

भानु जयन्ती विशेष रचना वाचन र कृति विमोचन सम्पन्न


विश्व नेपाली साहित्य प्रतिष्ठानको आयोजनामा २१० औं भानु विशेष रचना वाचन र कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ।

भर्चुअल माध्यममा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा. नारायण गैरेले भानुको योगदान बारे चर्चा गर्नुभएको थियोे । वहाँले भानुभक्तभन्दा पहिले साहित्य स्रष्टा भएको भए पनि प्रभाव, मौलिकता र सरल नेपाली भाषामा लेख्ने कविको रूपमा उनी आदिकवि हुन् भन्नुभयो । अर्का अग्रज साहित्यकार डा. बम बहादुर थापा जितालीले भानुभक्त प्रथम व्यङ्ग्य कवि समेत हुन् भन्दै भानुको व्यङ्ग्य कविता सुनाउनु भएको थियोे ।

विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रिय अध्यक्ष जनार्दन अधिकारी धड्कनले नेपाली साहित्यको श्रीवृद्धिको लागि प्रतिष्ठानले २ वर्षदेखि कार्य गरिरहेको कुरा बताउनुभयो। वहाँले साहित्यकार शिव खनाल जीवमले प्रकाशित गरेको कृति साहित्य यात्रा नेपाली साहित्यको सम्पत्ति रहेको र प्रतिष्ठानले नेपाली माटोमा जन्मेका विभिन्न विधाहरुलाई प्रवर्द्धन गर्ने कुरा बताउनुभयो ।

स्रष्टा शिव खनाल जीवमले साहित्य यात्रा कृति विभिन्न कालखण्डमा लेखिएका साहित्यिक अवधारणाहरु र रचनाहरुको संग्रह भएको कुरा बताउनुभयो। वहाँले जीवन साहित्य, लेखन प्रविधि, लक्षित साहित्य, शाब्दिक कविता र झरको अवधारणा एवम् सिद्धान्त समेटिएको कृति साहित्य यात्रामा १२० प्रतिनिधि झरहरु समेत समेटिएको कुरा बताउनुभयो । अर्को प्रसङ्गमा वहाँले भानु जयन्ती भानुभक्तलाई सम्झना गर्ने दिन मात्रै नभएर अग्रज साहित्यकारलाई सम्मान गर्ने दिन समेत हो भन्नुभयो । वहाँले आगामी दिनहरुमा अग्रजलाई सम्मान गर्ने कार्यक्रमसमेत राख्ने कुरा बताउनुभयो ।

साहित्य यात्रा कृति बारे समिक्षा गर्दै अग्रज साहित्यकार खगेन्द्र बस्यालले हाम्रै सेरोफेरोमा राम्रा स्रष्टाहरु रहेको र वहाँहरुलाई उपयुक्त सम्मान दिनुपर्ने कुरामा जोड दिदै नजिकको तीर्थ हेला गर्न नहुने कुरा बताउनुभयो । वहाँले जीवमको कृतिले औल्याएको साहित्य, जीवनको पक्षमा लेखिएको हुनुपर्ने, मानिसका समस्याहरु समाधान गर्न सक्ने र सकारात्मक हुनुपर्ने कुरा मननीय रहेकोे कुरामा जोड दिनुभयो । साहित्य यात्रा कृति जगत्रदेवी साहित्य संगम गल्याङ स्याङ्जाले प्रकाशनमा ल्याएको हो ।

कार्यक्रममा साहित्यकार लक्ष्मी प्रसाद मिश्र, सुधा बास्कोटा ढकाल, निरु गौतम, भावना खनाल, चुडा निर्भीक, उत्तम भेटुवाल, उर्मिला पन्त, रिता खतिवडा, गंगा अभिलाषी, चन्द्रावती अधिकारी, दर्बेन्द्र देव खनाल लगायतले रचना वाचन गर्नुभएको थियोे ।

प्रतिष्ठानका केन्द्रिय सह-सचिव सविता केसीको संचालनमा रहेकोे कार्यक्रममा कोशी प्रदेश अध्यक्ष निरु गौतमले स्वागत मन्तव्य राख्नुभएको थियोे भने कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले गर्नुभएको थियोे । कार्यक्रम गुगल मिटको माध्यमबाट साँझ ८ बजेदेखि ११ बजेसम्म ३ घण्टा चलेको थियोे ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...