“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०८०/०२/१८
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : तरे, झरे, परे, हरे, गरे, चरे, छरे, टरे, नरे, भरे, मरे आदि मिल्दो ।
स्थायी :- मिल्ने किसिमको ।
अक्षर संख्या :- पाँचदेखि पच्चिससम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
जिन्दगीका दोभानहरू तरेपछि
झरनासँगै माथिबाट झरेपछि
कसरी बुझ्ने जीवनको परिभाषा
मौसमविना नै असिना परेपछि
आफ्ना कै भागमा परेको हरेपछि ।
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
मरेपछि कोही वैतरणी तरे यहाँ
पापी जतिका सबै नर्कमा झरे यहाँ
जस्तो कर्म गरिन्छ फल पनि उस्तै हो
भएका कसैले पुण्य कर्म गरे यहाँ
बाँचेको कोही छैन नि सबै मरे यहाँ ।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग ३
चाकडीको मैदानमा चापलुसी जस्ले गरे आज
पाएर सिरमा पगडी तिनी त मख्ख परे आज
जनताकै लागि जनताको भोटले नेता भए ती
सोच्दैनन् जनताको भलो किन होला नि हरे आज
भ्रष्टाचार मौलिदै जाँदा नजरबाट झरे आज ।
टीकाराम जोशी, टीकापुर।
पञ्चाङ्ग ४
झरना उस्तै नै झरेको छ हेर
आँसुको सागर तरेको छ हेर
साँझ र बिहान एक छाक टार्न
पर्नुसम्म दु:ख परेको छ हेर
आफैभित्र आर्त मरेको छ हेर ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ५
नर्कमा पर्छन् यी देशद्रोही नेता मरे पछि,
पिप कुण्डमा पर्दछन् राष्ट्र घात गरे पछि,
जनताको सबै सम्मान ओईलायो देशमा
उद्दण्ड र अत्याचारी नेताहरु परे पछि,
जन्मभूमि बेची बिदेशी पैसामा चरे पछि ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
पञ्चाङ्ग ६
सबै नेता भ्रष्टाचारी नै परेका छन् यहाँ
यो सुन्दर राष्ट्रको घात गरेका छन् यहाँ
बिकास भन्दा पनि भष्टाचार गरेपछि
देश छिमेकीलाई बेची चरेका छन् यहाँ
बिश्व सामु निकै तल झरेका छन् यहाँ ।
दुर्गा भट्टराई
पञ्चाङ्ग ७
कलकल बगेको खोला तरे जस्तो
एकनास झर्ने झरना झरे जस्तो
जीवन पनि आफ्नै सुरमा चल्दछ
दुःख र सुख गर्दागर्दै टरे जस्तो
फल्छ भन्ने आशामा बिउ छरे जस्तो ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग ८
आजभोलि नेताले उपद्रै गरेछन् यहाँ
नेताको नाउँमा कुनेता नै परेछन् यहाँ
भोट दिन जानिएन ~नराम्रा छानिएछ
विदेशी झन्डा नि वर वर सरेछन् यहाँ
उँभो भन्दा भन्दै सबै उँधो झरेछन् यहाँ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ९
आफ्नै मात्र स्वार्थमा नहुँदो गरेपछि
स्वयं कुबुद्धिले अझै पछि परेपछि
केही हुने छैन,भन्न पनि सकिदैन ;
समस्याले दुखिया नै तल झरेपछि
सकिन्न सबै अपुगले नै डरेपछि ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १०
समाजमा भ्रम छरे यहाँ
नेताको विश्वास परे यहाँ
सोझासाझाले थाहै पाएनन्
कुबुध्दि सबैमा भरे यहाँ
आपसमा जुधी मरे यहाँ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ११
मुतकारिब मुसम्मन सालिम अनुसार
———– यमक अलङ्कार
म तिम्रो नजर् मा झरेको छु फेरि
र अर्कै शहर् मा सरेको छु फेरि
यहाँ झन् बिरानो भएँ आज साह्रै
छँदै छैन आफ्नो डरेको छु फेरि
र आफैँ म आफैँ मरेको छु फेरि ।
~ नारायणप्रसाद निरौला, काठमाडौँ
पञ्चाङ्ग १२
हिजो त्यसले आज यसले मनपरि गरे हजुर
आश्वासनको पोको बाँडेर भ्रम मात्रै छरे हजुर
हिजो पनि उस्तै आज पनि उस्तै मात्रै फरक शैली
त्यै नरे वल्लो घरबाट पल्लो घरमा सरे हजुर
निमुखा कहिले पो बाँचे खै दिनैपिच्छे मरे हजुर ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग १३
एउटा सूर्य सँगै जिन्दगी मरेर गयो
खुसी आउने रात संझदै टरेर गयो
पर्खि रहन्छ किन होला भोलिको भविष्य
अाशामा फुलेका फूलहरू झरेर गयो
नगर्नु थियो सृजना किन गरेर गयो ?
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग १४
१
हाँसखेल गर्ने भए भरे आउन
निहुँ तिहुँ सानो काम परे आउन
खाई पिई यतै बास बस्नु पर्छ है
रमाईलो गरौँला नी हरे ! आउन
यता बाले ढोका बन्द गरे आउन ॥
२
डरलाग्दी छिन् सासु घर मरे जाँदिन
माईतै दुःख भोग्छु जे जे परे जाँदिन
गरीखानै गाह्रो भयो मलाई साह्रो भो
बटुलेर राखुन् या छरुन् छरे जाँदिन
त्यहीँ बसुन् शहर सरुन् सरे जाँदिन ॥
३
बुढा पात सबै झरे हामी बाँकी छौँ
कोही नेतागिरी गरे हामी बाँकी छौँ
बोल्नै सकिएन हाम्रो पिठै बिकेन
धेरै साथी अघि सरे हामी बाँकी छौँ
सबै साथी पारी तरे हामी बाँकी छौँ
४
खोला तरेपछि मात्र साथी सम्झियो
धोक्रो भरेपछि मात्र साथी सम्झियो
विश्वासिलो साथी ठान्नु व्यर्थ रहेछ
आफ्नो टरेपछि मात्र साथी सम्झियो
गाह्रो परेपछि मात्र साथी सम्झियो ॥
५
गुन कहिले देखिन्छ ? मान्छे मरेपछि
मान्छे पर भाग्छन् आफ्नो खाँचो टरेपछि
सत्य धर्म र संस्कृतिको ख्याल राख्नु है
कस्ले राम्रो भन्छ चारैतिर चरेपछि
मानसम्मान हराउँछ यस्तो गरेपछि ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग १५
छाँगा छहराबाट झरना झरे जस्तो
वरिपरि हरियाली मन परे जस्तो
मन थियो उहि प्रकृतिमा रमाउने
तर किन लाग्छ उमङ्ग नै मरे जस्तो
जीवनका पाइला ओरालो झरे जस्तो ।
अच्युत घिमिरे-भुटान
पञ्चाङ्ग १६
उठ्ने मनमा अनेकौं प्रश्न के गरे छ लौ
भाग बण्डा नमिल्दा बिदेशमा सरेछ लौ
प्रभावकारी समाधान समाजको भनी
संझौता गर्न हिडेको कुरामा टरेछ लौ
थाहा नपाई हस्ताक्षर गर्न मरेछ लौ ।
डिल्ली राज घिमिरे
अर्घाखाँची
पञ्चाङ्ग १७
लौरोको के काम भयो ठुलो खोला तरेपछि
मायाको के अर्थ रह्यो आँसु बनी झरेपछि
बाँचिन्जेल तेरोमेरो गर्छ अन्धो दुनिया यो
गुणगान गर्छ खुबै शत्रु पनि मरेपछि
पोतेको के काम भयो सही लग्न टरेपछि ।
चन्द्रावती अधिकारी
पञ्चाङ्ग १८
समाजमा भ्रम छर्नु छरे नेताले
भ्रष्टाचार गर्न अघि सरे नेताले
विकासको नाममा विनाश गरेर
पापको खोला खुव तरे नेताले
जनावरको चरे झैँ चरे नेताले ।
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे