Wednesday 30th July 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : पचहत्तरौँ भाग (७५)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/१२/२८
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : जोडेको, मोडेको, गोडेको, छोडेको, तोडेको आदि मिल्दो ।

स्थायी :- मिल्ने किसिमको ।

अक्षर संख्या :- पाँचदेखि पच्चिससम्म ।

पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

टुट्ने जति गए टुटेर जोडेको छैन मैले
हिँड्ने गोरेटो उही सधैँ मोडेको छैन मैले
ठुलो स्वरले चिच्याएर असत्य सत्य हुन्न
संस्कार संस्कृति मान्दछु छोडेको छैन मैले
बुझ्नेले उल्टो बुझे नाता तोडेको छैन मैले ।

सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

हावाले जोडेको सम्बन्ध
हुरीले तोडेको सम्बन्ध
नटिक्ने रहेछ आखिरी
धनमा मोडेको सम्बन्ध
आखिर छोडेको सम्बन्ध ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३

झारपात सम्झी गोडेन मलाई
वचनको पक्का तोडेन मलाई
सतिले सरापेको मेरो देशमा
धनिसँग मन जोडेन मलाई
गरिबीले अझै छोडेन मलाई ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ४

मलिन देखियौ साथीले कपाल गोडेको जस्तो
उचालेर पछार्दै बिच बाटोमै छोडेको जस्तो
बानी अति खराब रहेछ,मन अन्तै बहेछ
नगर्नु गर्‍यौ घात त्यो,फुटेपछि जोडेको जस्तो
स्वार्थको भकारी भर्न नजर नै मोडेको जस्तो ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ५

कोशिस गर्न छोडेको छैन
घरबार अझै जोडेको छैन
भन्न पनि लाज लाग्ने भयो
कसम पनि तोडेको छैन
यो बाटो अन्तै मोडेको छैन ।

घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ६

यात्रा मोडेको कुरा
चट्टै छोडेको कुरा
बिर्सेको छैन हेर,
स्वप्न गोडेको कुरा
नाता तोडेको कुरा ।

वसन्त अनुभव
घोराही, दाङ ।

पञ्चाङ्ग ७

दुई मुटु जोडेको छु
लालाबाला छोडेको छु
सकिँदैन बिर्सन नि
धान मकै गोडेको छ
भिर पाखा मोडेको छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ८

कसै कसैले यहाँ बाटो अन्तै मोडेको देखेँ
तामा समाती खाएको कसम तोडेको देखेँ
भन्नु के भन्नु ढुङ्गा टिपी के हान्नु आफ्नैलाई
ती सन्तानलाई आदि बाटोमा छोडेको देखेँ
सानो कुरामा घरबार अन्तै जोडेको देखेँ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ९

मायाले घुम्ति मोडेर गए हुन्छ
वचन राम्रा तोडेर गए हुन्छ
सकिन्न भुल्न जानेका इच्छाहरू
चाहना सब गोडेर गए हुन्छ
खुसीको पल अोडेर गए हुन्छ ।

होमप्रसाद
धरान,सुनसरी ।

पञ्चाङ्ग १०

फल देला कि भनेर पो फेदमा गोडेको थिएँ
मलजल हाली डल्लाडल्ली पनि तोडेको थिएँ
बढेपछि झाँगिएर सितल दिन्छ कि भनेर
आफ्नालाई छाडी उसङ्गै सम्बन्ध जोडेको थिएँ
जन्म दिने आमा र जन्मघर नै छोडेको थिएँ ।

– खोटाङ

पञ्चाङ्ग ११

घरबार हुन्छ भनेर सम्बन्ध जोडेको थिएँ
म भन्दा नि कडा रहेछ त्यसैले छोडेको थिएँ
सुन्दै छु अहिले सुधार भै सक्योरे जिवनमा
यस्तै सुधार होस् भनि मैले बाटो मोडेको थिएँ
सम्बन्ध बलियो पार्न चोखो माया तोडेको थिएँ ।

अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा

पञ्चाङ्ग १२

बिग्रेकाे भन्दा सम्बन्ध जाेडेकाे राम्रो
नराम्रो बाटो सधैँ नै माेडेकाे राम्रो
हरेक कुराहरू महत्त्व राख्दछन्
बिरुवा समयमा नै गाेडेकाे राम्रो
नराम्रो बानी सबैले छाेडेकाे राम्रो ।

शाेभा आचार्य गाैतम, काठमाडौँ

पञ्चाङ्ग १३

दिन ढल्दै उही रातको साथ गोडेको सम्बन्ध
निषेध मुटुमा मुटुको साथ जोडेको सम्बन्ध
हाराहारी उत्कृष्ठै छन् जीवनका भावनाहरू
दमदारसँग तारुण्य साथ छोडेको सम्बन्ध
सधैँ पिरोल्ने सम्झनाको साथ मोडेको सम्बन्ध ।

✍️अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १७

जबर्जस्ती जाेडेकाे सम्बन्ध
धनपैसाले गाेडेकाे सम्बन्ध
भनेजस्ताे कहाँ टिक्छ र हजुर
बेलाबेला ताेडेकाे सम्बन्ध
लाेकाचारले माेडेकाे सम्बन्ध ।

चन्द्रावती अधिकारी


सम्बन्धित शीर्षकहरु

सैन्यले आफ्नो परिचालन उद्देश्यहरूलाई मानवीय अनिवार्यताहरूसँग सन्तुलनमा राख्नुपर्छ, जसमा भोकमरी रोकथाम र नागरिक जीवनको सुरक्षा समावेश छ। एकै समयमा धेरै…

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

वाशिंगटन: अमेरिकी अधिकारीहरूले विदेशी हस्तक्षेपको आशंकामा अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल X मा फ्रान्सले गरेको आपराधिक अनुसन्धानको शुक्रबार…

प्रतिकृयाहरू
...