Monday 28th July 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : बहत्तरौँ भाग (७२)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २

मिति:- २०७९/११/३०
…………………………………
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
अनुप्रास : कान बखान गान घान छान जान झान ठान तान थान दान धान भान मान सान बहान आदि मिल्दो ।
स्थायी :- आफू खुसी ।
अक्षर संख्या :- पाँचदेखि पच्चिससम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
मकैलाई हेलाँ गरी धान खोज्नेलाई
परिस्थिति नबुझेर मान खोज्नेलाई
कहिले बुझ्ने जिन्दगीलाई? भन्न सक्छौ
प्रशंसाको नाममा बखान खोज्नेलाई
पिसाब फेरी न्यानोको भान खोज्नेलाई ।

घुन पिस्न भनी मकै घान हालेका छन्
घुन कहाँ पिसिन्छ , अज्ञान हालेका छन्
त्रिफला हो ओखती, तिनपाने बीस
अमृत पिउन रसपान हालेका छन्
पासो थापी बाटोमा निशान हालेका छन् ।

सविता के सी काठमाडौँ ।

पञ्चाङ्ग २

खोजिएको ठाउँतिर पाइएन जान पनि
गाह्रो पर्यो कमाउन दुईछाक खान पनि
मेहेनत गरेकै छु रात दिन घोटिएर
यही बेला ऑउदैनन् कोही गर्न दान पनि
ईश्वरले थुनी बसे ब्यथा सुन्ने कान पनि ।

घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ३

राम्रो नराम्रो छान आफैले
सत्य असत्य जान आफैले
कलीको काल बुझ्न कठिन
ठुलाको अर्ती मान आफैले
सत्यको जित ठान आफैले ।

– आर्त अकुलीन, कैलाली

पन्चाङ्ग ४

मन त थियो मलाई पनि जान उता
पाइन्छ होला कि भन्ने पक्कै खान उता
भने र सोँचे जस्तो नहुने रहेछ खै
आफै मात्र थाल्यो देखाउन सान उता
चुप्प लागि बाटो लागेँ थुनी कान उता ।

अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा

पञ्चाङ्ग ५

ईश्वरले दिएका यी कान पनि
खै कता गए यिनका सान पनि
यता उति गर्दा गर्दै गए खेर
कति सुन्नु यिनका बखान पनि
यिनले राखेनन् कुनै मान पनि ।

सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ६

तिम्रो गुणगान खुब चल्दैछ अचेल
अस्थिर अडान खुब चल्दैछ अचेल
नाटक रच्यौ,र उसलाई जब भज्यौ
अहो!पहिचान खुब चल्दैछ अचेल
अन्तै त्यो रटान खुब चल्दैछ अचेल ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ७ (पाञ्चायन)

कपडा बुन्ने तान आफ्नै
झगडा सुन्ने कान आफ्नै
भएपछि के चाहियो र
बखडा गुन्ने सान आफ्नै
लफडा तुन्ने थान आफ्नै ॥

भेडाको नि बथान आफ्नै
गेडागुडी र धान आफ्नै
खानलाई छैन अप्ठ्यारो
जाँड छोकरा छान आफ्नै
टेढा टेढी जे ठान आफ्नै ॥

चुल्हो आफ्नै रछ्यान आफ्नै
दिन आफ्नै बिहान आफ्नै
काम गर या सुत खुसी
असल गरे शान आफ्नै
खराबमा निदान आफ्नै ॥

आपत्तिमा जहान आफ्नै
सुतेर बसे घान आफ्नै
आईपरेको गर्नै पऱ्यो
गुडान र उडान आफ्नै
घाटा नाफा त जान आफ्नै ॥

राम्रो नराम्रो खान आफ्नै
गर्छन् कोही वयान आफ्नै
आफन्तवादले सतायो
ल्वाङ सुपारी पान आफ्नै
चट्नी तेलमा झान आफ्नै ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग ८

खेतबारी बाँझियो है हेर्दाहेर्दै धान दिने
खनजोत गर भन्दा कोहि छैन मान दिने
दिनै पिच्छे खानुछ झिल्लीमा किनेको चामल
कुरा गर्छन् त ठुलाठुला उसैले सान दिने
सुन्दैन सानो कुरा ठूलो नै सही ठान दिने ।

-खोटाङ ।

पञ्चाङ्ग ९

दुनियाको बखान गर्दै बस
खोक्रो आदर्श सान गर्दै बस
यो दुनियालाई चासो नै छैन
तिमी जति नै मान गर्दै बस
मन्त्र भजन गान गर्दै बस ।

रतन बिष्ट _ आलिताल, डडेल्धुरा

पञ्चाङ्ग १०

उपयुक्त गुण छान आफैले
सत्य बोल्नु राम्रो जान आफैले
जीवन मरेर जाने चोला हो
मान्यजनलाई मान आफैले
अल्झेको खुट्टो तान आफैले ।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग ११

सुन्दै नसुन्ने कान के काम
मुसाले खाको धान के काम
अब होशियार हौँ हामी
हेप्दै गरेको मान के काम
पैसा बिनाको शान के काम ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा. -३,

पञ्चाङ्ग १२ लोक छन्दमा

जन्मियौँ धर्ती जीवन धान्न खान नै ठुलो छ
महाँजञ्जाल सृष्टिको खाल तान नै ठुलो छ
समाज सेवा निस्वार्थ्य छाती विशाल बनाऊ
प्राणान्त पछि अमर बन्न मान नै ठुलो छ
ऐश्वर्य भन्ने हातको मैला दान नै ठुलो छ ।

सुरेश चन्द्र घिमिरे
लमजुङ


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

प्रतिकृयाहरू
...