Tuesday 21st March 2023

नन् स्टार होटललाई पनि स्टार होटल सरह सुविधा दिन व्यवसायीको माग


तीतोपाटी डटकम-मझौला तथा साना होटल व्यवसायीहरुले ठूला तारे होटल सरह आफुहरुलाई पनि सेवा सुविधा दिन सरकारसँग माग गरेका छन् । बुधबार होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।

‘राज्यले ठूला तारे होटलहरुलाई मात्र पर्यटन उद्योगको हिस्सेदारको रुपमा लिइरहेको छ । सेवा सुविधा उनीहरुका लागि मात्र बाडिरहेको छ । तर साना तथा मझौला होटल, रेष्टुरेन्ट व्यवसायलाई खै सरकारले प्रमोट गरेको ?’ होटल व्यवसायी महासंघका पूर्वअध्यक्ष अमृत भुजेलले भने, ‘अब नन् स्टार होटल व्यवसायले पनि तारे होटल सरह सुविधा पाउनुपर्छ ।’

सोही अवसरमा होटल तथा पर्यटन व्यवसायी संघ, काठमाडौं जिल्ला समितिका अध्यक्ष शैलेस कार्कीले साना होटल व्यवसायीहरुलाई च्याप्ने गरी ल्याएको पुरानो ऐन संशोधन गर्नुपर्ने बताए ।

‘होटल व्यवसाय ऐन, २०३५ निकै पुरानो भयो । अब यसले काम गर्न सक्दैन तत्काल संशोधन गर्नुपर्छ । होटलहरु ट्याक्स तिर्न मात्र सञ्चालन भइरहेका छैनन्, पर्यटन उद्योगलाई समेत ठूलो टेवा पु¥याइरहेको भुल्न हुँदैन’ कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले भने, ‘पयर्टन व्यवसायलाई प्रवर्धन गर्न सरकारले होटल व्यवसायसँगै नयाँ नयाँ पर्यटकीय गन्तव्यको खोजि गर्नुपर्छ । साथै आकर्षण कार्यक्रमहरु ल्याएर आन्तरिक पर्यटक समेत चलाएमान बनाउन आवश्यक छ’ उनले भने ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुकेले विदेशी मुद्रा आर्जनको मुख्य स्रोत पर्यटन व्यवसायलाई राज्यले प्राथमिकताका साथ हेर्नुपर्ने बताए । पर्यटन प्रवद्र्धनका लागि होटल व्यवसायलाई पनि राज्यले प्रवद्र्धन गर्नुपर्ने बताउँदै अध्यक्ष चुकेले अर्थतन्त्र चलायमान गर्न मेला महोत्सव जस्ता कार्यक्रमहरुलाई समेत निरन्तरता दिनुपर्ने बताए ।

सोही अवसरमा उनले केन्द्रीय सरकारदेखि प्रदेश र स्थानीय सरकारले समेत पर्यटनमा गर्ने खर्च सम्बन्धित पर्यटन सम्बध स्टेकहोल्डरहरु मार्फत गर्नुपर्ने बताए । अनिमात्र त्यसको प्रभावकारी हुने उनको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि एवंम् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले समग्र प्रदेशको पर्यटन प्रवद्र्धनमा सरकार लागेको बताउँदै त्यसमा सबैको सल्लाह र सुझाव आफुले चाहेको बताए ।

‘पर्यटन प्रवद्र्धनका लागि सरकार सधै सकारात्मक छ । समग्र प्रदेशको संभावित पर्यटन क्षेत्रको विकासमा बागमती प्रदेश सरकार लागिरहेको छ । अझ तपाईहरुसँग उपयुक्त उचित योजनाहरु छन् भने ल्याउनुस् । के गर्न सकिन्छ म तपाईहरुलाई सहयोग गर्न तयार छु ।’ तर, पर्यटन प्रवद्र्धन र विकासका नाममा डाँडाडाँडामा भ्यू टावर ढड्याउने काममा भने प्रदेश सरकार नलाग्ने उनले स्पष्ट पारे ।

बुधबार बागमती प्रदेशको दामन, चित्लाङमा सम्पन्न कार्यक्रमा व्यवसायीहरुले स्थानीय झाकीँ तथा लोक बाजागाजासहित ¥याली समेत गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा…

दक्षिण अमेरिकी मुलुक इक्वेडरमा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार दिउँसो दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा…

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित भएका छन् । निर्वाचित यादवले पाँच सय १३ मत ल्याउँदा एमालेकी अष्टलक्ष्मी शाक्यले दुई सय…

प्रतिकृयाहरू
...