Thursday 25th April 2024

स्ववियु चुनाव : राजनीतिको ‘नर्सरी कक्षा


सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ – त्रिभुवन विश्वविद्यालयले आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने निर्णय गरेको छ । त्यससँगै देशैभरिका क्याम्पसहरूमा विद्यार्थी नेताहरूको सक्रियता बढेको छ । विद्यार्थी नेताहरूका साथसाथै राजनीतिक दलहरूले पनि स्ववियु निर्वाचनलाई महत्त्व दिने गरेका छन् । मिनी इलेक्सनका रूपमा पनि चिनिने स्ववियु चुनावलाई राजनीतिक दलहरूले प्रतिष्ठाको लडाइँ बनाउन थालेका छन् ।
तर, पछिल्लो समय स्ववियुले आफ्नो ओज घटाइरहेको देखिन्छ । दलीय स्वार्थ पूरा गराउन दलहरूले विद्यार्थी संगठन र स्ववियुलाई उपयोग गर्न थालेपछि यसको ओज घट्न थालेको हो । गर्विलो इतिहास बोकेको स्ववियुले समयको माग र आवश्यकता बुझ्न नसक्दा र त्यसअनुसार आफूलाई परिवर्तन गर्न नसक्दा स्ववियुको ओज घट्न थालेको बुझ्न गाह्रो छैन ।

विद्यार्थी आन्दोलनबाट उदाएका नेताहरू मुलुकको राजनीतिको शीर्ष स्थानमा छन् । तर, विद्यार्थी आन्दोलन र स्ववियु भने निरन्तर खस्कँदो अवस्थामा पुगेको छ । सोही कारण विद्यार्थी सङ्गठनहरूले समयको माग र आवश्यकताअनुसार आफूहरूलाई रुपान्तरण गर्न ढिला गर्नु हुँदैन । त्यसो हुन नसके विद्यार्थी आन्दोलनको ऊर्जामा खिया लाग्ने देखिन्छ । दुःखको कुरा त्यही कुरा भइरहेको छ ।
विद्यार्थी हक, अधिकारको रक्षा, शैक्षिक संस्थाहरूमा शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यसहित स्ववियु स्थापना भएको हो । २०३६ को जनमत सङ्ग्रह, २०४६ को जनआन्दोलन मात्र नभएर २०६२/६३ को जनआन्दोलनमा विद्यार्थीको भूमिका उल्लखनीय रहयो । यसले स्पष्ट देखाउँछ स्थापनादेखि हालसम्म आइपुग्दा विद्यार्थी आन्दोलनले थुप्रै उतारचढाव पार गरेको छ । र, त्यससँगै स्ववियु पनि जोडिएर आउने गरेको छ ।
तर, समयमै स्ववियु चुनाव नहुने, भए पनि त्यसले वास्तवमा विद्यार्थीको हकहितका लागि काम गर्न नसक्ने या नगर्ने प्रवृत्ति देखिएको छ । पछिल्लो समयकै कुरा गर्दा २०७३ यता स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक २/२ वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन यति लामो समयसम्म पनि हुन नसक्दा पनि यसको भूमिकाप्रति प्रश्न उठाउने ठाउँ देखिन्छ ।
राजनीतिको ‘नर्सरी कक्षा’का रूपमा चिनिने स्ववियुको नेतृत्वप्रति उठ्ने प्रश्न चिह्नले भावी नेतृत्वप्रति सन्तोष गर्ने ठाउँ दिँदैन । त्यसैले पनि अहिले मुलुकको राजनीतिक वितृष्णा भोलिसम्म कायम नरहोस् भन्ने चाहनेहरूले स्ववियुलाई चुस्त र पारदर्शी बनाउन जरुरी छ ।
विद्यार्थीहरूलाई नवीन सोच, चिन्तन र रचनात्मक क्षमताका खानीका रूपमा चिनिन्छ । उनीहरूको साझा संस्था स्ववियु राजनीतिक दलहरूको ‘रिमोट कन्ट्रोल’बाट सञ्चालन हुनु सुखद पक्ष होइन । आफ्नो माउ पार्टीको विरासत थाम्न र नेताहरूको स्तुतीगान गाउन रानै भद्दा शैली अपनाइरहने हो भने समग्र विद्यार्थी आन्दोलन थप आलोचित हुनेछ ।

तोकिएको समयमा शैक्षिकसत्र पूरा नहुने, समयमा परीक्षा नहुने, रिजल्ट नआउनेजस्ता समस्याहरू विद्यार्थीहरूले झेलेको पनि वर्षौं भइसक्यो । ४ वर्षको पढाइ पूरा गर्न ६ वर्ष लाग्ने समस्या नयाँ होइन । तर, यसको समाधानका लागि स्ववियुले सार्थक पहल गरेर परिणाम निकाल्न सकेको छैन । परीक्षा दिएर रिजल्टका लागि १ वर्ष र त्योभन्दा पनि बढी समय पर्खनुपर्ने बाध्यतामा विद्यार्थीहरू छन् ।
विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने कारखाना बन्न थालेको आलोचना भइरहेको छ । यो विद्यार्थीको पीडा मात्र होइन, मुलुककै लागि घातक छ । तर, यसविरुद्ध अब आउने स्ववियु नेतृत्वले खबरदारी गरेर व्यवहारमा सुधार ल्याउन सक्ला ? दुःखका साथ भन्नुपर्छ त्यसको लक्षण देखिएको छैन । सैद्दान्तिक ज्ञानका पाठशाला बनेका हाम्रा राम्रा विश्वविद्यालयलाई प्रयोगात्मक पद्धतिमा कसरी ल्याउने ? त्यसका लागि स्ववियुको भूमिका के हुने ? यी र यस्ता खालका बहस हुनुपर्ने बेला हो यो । तर, अहिले राजनीतिक दलको प्रतिष्ठाको लडाइँ बन्न पुगेको छ ।
आजको सन्दर्भमा विद्यार्थी आन्दोलनलाई बढीभन्दा बढी रचनात्मक र सिर्जनशील आन्दोलनमा रुपान्तरण गर्नु आवश्यक छ । राजनीतिक घटनाक्रमलाई हेर्न, बुझ्न र विश्लेषण गर्न युवा विद्यार्थीहरू सक्षम छन् । राजनीतिक चेतना हिजोको तुलनामा निकै बढेको छ । अब नयाँ नेतृत्वले युवालाई पढ्दै कमाउँदैको नीति ल्याउन सक्नुपर्छ । प्रमाणपत्रको चाङ लगाएर बेरोजगार बस्ने युवाको पीडा सुनिन जरुरी छ । अबको स्ववियुले पुरानै काम, पुरानै धारणा, पुरानै सोच, पुरानै तरिका, पुरानै तरिका त्याग्न जरुरी छ । अनि मात्रै स्ववियुको सार्थकता पुष्टि हुन सक्छ ।

नोटः पंतिकार उहाँ बिद्यार्थी नेता समेत हुनुहुन्छ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...