Wednesday 8th May 2024

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प, पर्यटन व्यवसायी निराश


तेजेन्द्र केसी  -उद्घाटन भएको ७ महिना बितिसक्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले गति लिन सकेको छैन । अन्तर्राष्ट्रिय उडान संख्या बढ्नु त परै जावस्, पछिल्लो समय आन्तरिक उडानहरु पनि रोकिएपछि पर्यटन व्यवसायीहरु निराश भएका छन् । गत जेठ २ गते अन्तर्राष्ट्रिय उडान उद्घाटनसँगै उडान भर्दै आएको कुवेतको जजिरा एयरलाइन्सले हालै हुस्सुको कारण देखाउँदै उडान रोकेको हो । त्यस्तै हिमालयन एयरलायन्सले गत कात्तिक १७ देखि सुरु गरेको चार्टर उडान अहिले रोकेको छ ।

हुस्सुलाई कारण देखाए पनि यो विमानस्थलमा जडान गरिएको उपकरण अवतरण प्रणाली (इन्स्टु«मेन्ट ल्याण्डिङ सिस्टम) सञ्चालनमा नआउँदा अन्तर्राष्ट्रिय उडान ठप्प भएका हुन् । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जजिराले १८ डिसेम्बरदेखि उडान स्थगित गरेको जनाए । हिमालयन एयरलाइन्सले २० डिसेम्बरदेखि भैरहवाबाट गर्ने भनेको चार्टर उडान फिर्ता लगेको उनको भनाइ छ ।

यो विमानस्थल २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । उद्घाटनसँगै जजिराले सुरुमा सातामा तीन दिन उडान भरेको थियो । त्यसपछि यात्रु संख्या बढ्ने अपेक्षा सहित उसले केही समय दैनिक उडान सुरु गरे पनि यात्रु नपाएपछि फेरि सातामा तीन दिन उडान भर्दै आएको थियो ।

अर्कोतिर आइएलएस रेडियो नेभिगेसन प्रणाली जडान भए पनि उडान गर्दा केही भारतीय भूमि पर्ने भएकाले भारतबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी ) लेटर अझै नेपाल सरकारले ल्याएको छैन । त्यस कारणले पनि अहिले अन्तर्राष्ट्रिय उडान रोक्नु परेको बताइएको छ ।

विमानस्थलका एक अधिकारीका अनुसार हवाई उडानका लागि सामान्यतया १ हजार ५ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर जाडो मौसम सुरु भएसँगै भैरहवाको भिजिबिलिटी ५÷६ सय मिटरमा झर्ने गरेको छ । विमानस्थलमा कम भिजिबिलिटी हुँदा पनि विमानहरू उडान–अवतरण गर्न सकियोस् भनेर क्याटोगरी–१ को आइएलएस जडान गरिएको छ । यो प्रणालीले विमानलाई खराब मौसम तथा रातको समयमा कम भिजिबिलीटीमा पनि अवतरण गर्न सघाउँछ ।

सामान्यतया यो सिस्टममा ८ सय मिटर वा केही कम भिजिबिलिटी हुँदा पनि विमान उडान–अवतरण गर्न सकिने बताइएको छ । तर विमानस्थल उद्घाटन भएको महिनौँ बित्दा पनि अवतरण प्रणाली कार्यान्वयनमा ल्याउन नसक्दा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन् । विमानस्थलका महाप्रवन्धक दाहालले भारतको स्विकृति लिनु पर्ने अवस्थामा माथिल्लो निकायबाटै पहल गनुपर्ने बताए ।

पर्यटन व्यवासयीहरु रुष्ट

अन्तर्राष्ट्रिय उडान नियमित गर्नुको साटो पर्यटक आगमनको मुख्य सिजनमै चलिरहेका केही उडानसमेत ठप्प हुँदा यहाँका पर्यटन व्यवसायीहरू आक्रोशित छन् । लामो समय कोरोनाले व्यापार प्रभावित बनेका पर्यटन व्यावसायीहरु अन्तर्राष्ट्रिय उडान बन्द भएपछि निराश हुँदै सरकारसँग अक्रोशित बन्न पुगेका हुन् ।

अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि व्यापार हुने आसमा बुटवल, भैरहवा, लुम्बिनीदेखि देवदहसम्म ठुलाठुला होटेल र ट्राभल्स एण्ड टुर सम्बन्धी व्यवसाय खुलेका थिए । नेपाल एसोसिएसन ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘यहाँ निजी क्षेत्र र व्यापारको कुरा होइन, राज्य नै डुब्ने अवस्था आउँछ ।’ नाट्टाले विमानस्थल छिटो सञ्चालन गर्न माग गरेको छ ।

उनले मापदण्ड अनुरूपकै प्रविधि छँदाछँदै विमानस्थल नियमित सञ्चालन हुन नसक्नुमा सरकार जवाफदेही हुनुपर्ने बताए । भारत सरकारसँग छिटोभन्दा छिटो सञ्चालन गर्न कुटनीतिक रूपमा पहल हुनु पर्ने उनको भनाइ छ ।

सिद्धार्थ होटेल संघका अध्यक्ष चन्द्र प्रकाश (सीपी) शर्माले यस क्षेत्रमा विमानस्थललाई नै लक्षित गरी चार तारे, पाँच तारे गरी प्रशस्त होटल खुलेको तर विमानस्थल सञ्चालन नहुँदा ती सबै व्यवसायी संकटमा परेको बताए ।

२०२३ सालमा पहिलो पटक आन्तरिक विमानस्थलको रूपमा सञ्चालनमा आएको भैरहवा विमानस्थललाई गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा २०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए । करिब ८ बिगाहा फैलिएको यो विमानस्थलको रनवे ३ हजार मिटर छ ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख…

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

प्रतिकृयाहरू
...