Monday 1st June 2026

लघुकथाकार किशन पौडेलको लघुकथा “आशीर्वाद” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – लघुकथाकार किशन पौडेलले हाम्रो लघुकथा पाठशालामा लघुकथा दिवस विशेषको रुपमा प्रेषित गर्नुभएको लघुकथा ”आशिर्वाद” पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

लघुकथाकार किशन पौडेलका लघुकथाहरुसँग करिब २ बर्षदेखि परिचित छु । भौतिक रुपमा उहाँको लघुकथा संग्रह ‘खुसी’ बिमोचनको दिनमा उपस्थिति भएर पनि परिचय गर्ने मेसो मिलेन । परिचित नभएपनि उहाँको लघुकथासंग्रह ‘खुसी’हात परेको थियो । खुसी भित्र समेटिएका ४८ वटै कथाहरु पढेंकी छु । हाम्रो लघुकथा पाठशालामा प्रेषित उहाँका लघुकथाहरु प्रायः पढेकी छु अर्थात लघुकथाको माध्यमबाट परिचित छु ।

नेपाली लघुकथा लेखनमा सक्रिय लघुकथाकार किशन पौडेलको जन्म माता रमादेवी पौडेल एवम् पिता ताराप्रसाद पौडेलको सुपुत्रको रुपमा २०२८/ ०५/०९ गते हेटौडा -६,मकवानपुरमा भएको हो ।

लघुकथाको अलावा गीत, गजल, कविता, हाईकु लगायत साहित्यका बिभिन्न विधामा कलम चलाउनुहुने साहित्यकारको पहिलो प्रकाशित रचना २०४६ सालमा गोरखापत्रमा प्रकाशित ‘प्यारो धर्ती’ कविता हो ।

पत्रकारिता पेशामा रमाउनु भएका साहित्यकार पौडेलको बिद्यार्थीकाल देखिनै साहित्यमा रुचि रहेको थियो ।हाल हेटौडा – ४, मकवानपुरका स्थायी बासिन्दा पौडेलका लघुकथासङ्ग्रह खुसी, गजल सङ्ग्रह कहर लगायत संयुक्त लघुकथा सङ्ग्रह,गजल सङ्ग्रह र छेस्का कविता सङ्ग्रह प्रकाशित छन् ।

उहाँका लघुकथाहरुमा समसामयिक सामाजिक तथा राजनीतिक विकृतिप्रति तिखो कटाक्ष, रमाईला मानवीय पात्र र जीवन्त मानवेत्तर पात्रहरु मार्फत मानवीय प्रवृत्ति उजागर गरिएको मैले पाएकी छु ।

प्रस्तुत लघुकथा ‘आशिर्वाद’मा मुख्य पात्र ऊ रहेको छ ।कथा यसरी शुरु गरिएको छ । ” ऊ अवसरको खोजीमा थियो । उसलाई जसरी नि शिखरमा पुग्नु थियो । उसले एउटा आशालाग्दो चाकरीको भर्‍याङ देख्यो ।विवेकमा लगाम लगाएर एक खुट्किलो माथि उक्लियो । माथि फर्केर हेर्‍यो त्यहाँ गुलियो अङ्गुरको झुप्पा देख्यो र लालचको लामो हात फैलाउँदै चाप्लुसीको डोरी समायो र चढ्यो ।त्यहाँबाट उसले जिन्दगीको रङ्गिन सपना देख्न थाल्यो अझै माथि उड्ने लालसाले महत्त्वाकाङ्क्षाको पखेटा फिँजाउँदै निष्ठालाई कुल्चिँदै शिखरमा पुग्यो । त्यहाँ ऊ जस्तै अवसरवादीहरू नैतिकताको सौदा बाजी गर्दै रहेछन् ।

उसले पनि मालिकको आदेश अनुसार आफ्नो नैतिकताको बलिदान दियो र सुनौलो अवसरको झ्यालबाट फुत्त भित्र पस्यो ।इमानको ढोकामा चुकुल लगायो । शिखरको विलासी महल भित्र सुस्ताउँदै ऐनामा अनुहार हेर्‍यो ।उसँग स्वाभिमानको शिर थिएन।” कथा यसरी समापन गरिएको छ ।

समसामयिक राजनीति प्रति तिखो झिर रोप्न सफल लघुकथामा माथिल्लो तहका नेतृत्व वर्गमा स्वाभिमान नरहेको भावमा समापन गरिएको छ । लघुकथामा तिव्रता छ । पात्रमा सिमितता छ ।देउ बलिदान ! भन्दा ” नैतिकताको बलिदान दिएर अबसरको झ्यालबाट फुत्त भित्र पस्दै इमानको ढोकामा चुकुल लगायो ।” भन्ने वाक्यले लघुकथालाई ओजस्वी बनाएको छ । लघुकथा सरल छ । सबै स्तरका पाठकको लागि बोधगम्य छ । शीर्षक सार्थक छ । यसकारण यो लघुकथा म जस्ता नवोदित लघुकथाकारहरुको लागि मानक लघुकथा बनेको छ ।

साहित्यकार किशन पौडेलको साहित्यिक यात्रा अझ उच्चहुदैं जाओस् भन्दै सुस्वास्थ्य, दीर्घायु तथा अटल श्रीवृध्दीको कामना गर्दछु ।

बन्दना घिमिरे
हरिवन-१०, सर्लाही
हाल म.थि.न.पा.-३,भक्तपुर

(लघुकथा दिवस विशेष )

लघुकथा

आशीर्वाद
—–किशन पौडेल

ऊ अवसरको खोजीमा थियो । उसलाई जसरी नि शिखरमा पुग्नु थियो । उसले एउटा आशालाग्दो चाकरीको भर्‍याङ देख्यो ।
निहुँरिदै भन्यो –
-“प्रभु मलाई अवसरको ढोका खोलिदिनुस्।”
-“तथास्तु ! चढ् माथि ।” उसलाई आशीर्वाद प्राप्त भो ।
विवेकमा लगाम लगाएर एक खुट्किलो माथि उक्लियो ।
उसले माथि फर्केर हेर्‍यो त्यहाँ गुलियो अङ्गुरको झुप्पा देख्यो र लालचको लामो हात फैलाउँदै भन्यो –
-“प्रभु मलाई त्यहाँ पुग्नु छ !”
-” समाऊ हात ! ” कृपा दृष्टि भो ।
चाप्लुसीको डोरी समायो र चढ्यो माथि ।

त्यहाँबाट उसले जिन्दगीको रङ्गिन सपना देख्न थाल्यो अझै माथि उड्ने लालसाले महत्त्वाकाङ्क्षाको पखेटा फिँजाउँदै भन्यो –
-“स्वामी मलाई शिखरमा नै पुर्‍याइ दिनुस् ! “
-“अवश्य ! ” मिठो आश्वासन प्राप्त भो ।

निष्ठालाई कुल्चिँदै ऊ शिखरमा पुग्यो । त्यहाँ ऊ जस्तै अवसरवादीहरू नैतिकताको सौदा बाजी गर्दै रहेछन् ।
उसले सोध्यो-
“मालिक म के गरूँ !”
“देऊ बलिदान !”
उसले आफ्नो नैतिकताको बलिदान दियो र सुनौलो अवसरको झ्यालबाट फुत्त भित्र पस्यो । इमानको ढोकामा चुकुल लगायो ।
शिखरको विलासी महल भित्र सुस्ताउँदै ऐनामा अनुहार हेर्‍यो ।
ऊसँग स्वाभिमानको शिर थिएन ।
°°°

हेटौंडा -४


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानलाई “पूर्ण र बिना सर्त आत्मसमर्पण” गर्न चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले आफ्नो…

हालसम्म सार्वजनिक भएका विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूका अनुसार, Ali Al Salem Air Base मा इरानले प्रहार गरेको भनिएको एक Fateh-110 ब्यालिस्टिक…

PSGले आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै लगातार दोस्रो पटक UEFA Europa League च्याम्पियन्स लिग जित्यो। निर्धारित र अतिरिक्त समय…

प्रतिकृयाहरू
...