Tuesday 25th August 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – ३२


स्रष्टा परिचय

नाम/ दुर्गाकिरण तिवारी “क्षितिज”
जन्म स्थान / पोखरा महानगरपालिका वडा न. ३२ राजाको चौतारा हाल काठमाडौ
जन्ममिति / २०२९/११/६ असोज
माया / राधिका तिवारी पिता / शिवलाल तिवारी
छोरा / कौशल कुमार भट्टराई
रुचि / साहित्य /भलिबल /पौडी
प्रकाशान कृति / नचुमेको क्षितिज ( कविता सङ्ग्रह २०७४)
नजरभरि माछापुच्छ्रे (मुक्तक सङ्ग्रह २०७६)
प्रकाशनोन्मुख कृति / नीलगगनको अंगालोमा ( कविता सङ्ग्रह )

पुरस्कार / उत्कृष्ट कविता ( संसाक , साहित्यकार खेलकुद समाज २०७५
गीतल प्रतिभा पुरस्कार तथा सम्मान २०७५गीतल साहित्य प्रतिष्ठान तथा नाटक मंच तनहुँ ।
गरिमामय वाचनकला तथा सृजना सम्मान २०७४/ ७५ हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवन ।

रचना
कविता – नाथे भोक

खै किन दिएको हो कसले दिएको
कसरी लाग्छ कताबाट लाग्छ
त्यो पनि थाहा हुँदैन र त
चालै नपाई बदनाम गराउँछ
प्रारब्धदेखि वर्तमानसम्म रिँगाएको छ
सोचलाई शून्यमा धकलेर
नैतिकता बिर्साएको छ
अनि आफैँलाई बिर्साएको छ
नाथे भोकले ।

बैँसको लुलो लहरा समाउँदै
भोगको लालसा जगाएर
वासनाको उच्छ्वास जाहेर गर्छ
अन्त्यहीन उन्माद त कति हो कति !
न दुई पाइला अगाडि देख्छ
न त उच्छ्रिएको विगत नै
क्षणभरलाई सन्तुष्टिको राग ओकल्छ
र त आफैँलाई बिर्साइदिन्छ
नाथे भोक ।

मनमा भावको उद्बेग उमालिदिन्छ
तृष्णालाई अतृप्त यात्री बनाएर
आवेग र आक्रोशको भुमरीमा धकेल्छ
संवेग र मर्यादाका बारहरू भत्काउन
बाध्य बनाउँछ र
आफू हुनुकै सीमा भत्काउँछ
नाथे भोक ।

म चक्कर खान्छु
नाथे अनगिन्ती भोकहरू देखेर
साँच्चिकै संक्रमणमा धकेलेको छ
वासनाको भोक,
सम्पतिको भोक,
मान प्रतिष्ठाको भोक
स्वार्थको भोक
भोक पनि कति थरीका !

साँच्चिकै निरीह जीवन गुजारेको छ मान्छे
म कसरी तुलना गरूँ यी भोकहरूबीच
जसले उमेर भन्दैन, आफन्त भन्दैन
विद्वान् भन्दैन, बन्धु गन्दैन,
न त मित्रताको ख्याल राख्छ
न पदीय मर्यादा राख्छ
केही कुत्सित मनोकाङ्क्षा पूरा गर्न
स्वयम् आफैँलाई बिर्सन्छ
र सीमा नाघ्छ पत्तै नदिई नाथे भोक ।

हे ईश्वर !
भो मलाई यस्तो भोक नदेऊ
जसले मेरो, म हुनुको औचित्य नै मेटिदिन्छ
अर्काको मानमा आँच पुर्याउँछ
हृदय चोइट्याउँछ
आमाको दुधको मूल्य मेटाउँछ
दोस्राको प्रतिष्ठा गिराउँछ
आफू र आफ्नाको सात पुस्ता पिराउँछ
त्यसैले भो मलाई यस्तो भोक नदेऊ
बित्थाको नाथे भोक।।


सम्बन्धित शीर्षकहरु

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा…

अन्वेषणको इतिहासमा एउटा अचम्मलाग्दो तथ्य छ—नजिक हुनु भनेको सधैँ पहिले पत्ता लाग्नु होइन। पृथ्वीबाट अरबौँ किलोमिटर टाढा रहेको अरुण ग्रह…

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

प्रतिकृयाहरू
...