Tuesday 13th October 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – २६


स्रष्टा परिचय
नाम : दुर्गा देवी शिवाकोटी
साहित्यिक नाम : दुर्गा वनवासी
पिता : स्व. नन्दलाल शिवाकोटी
माता : स्व. हरिप्रिया शिवाकोटी
जन्म : असाेज १७, कोजाग्रत पूर्णिमा २०२८
जन्मस्थान : बुधबारे-६ [हाल- बुद्धशान्ति], झापा
शिक्षा : एम. ए. [त्रिभुवन विश्वविद्यालय]
पहिलो कविता : अनुभव,२०४६, (युगज्ञान साप्ताहिक)
प्रकाशित कृति : सार्थक नाम (जीवनी पुस्तिका), हैशियत-२ [संयुक्त गजल संग्रह], शब्द शिविर (संयुक्त गजल संग्रह), धराकाश (काव्य)
पुरस्कार : सत्यमाेहन जाेशी शताब्दी पदक तथा विविध साहित्यिक संघ संस्थाहरुबाट प्रोत्साहन, सम्मान
रुचि : लेखन, सम्पादन, अनुवाद
भ्रमण : नेपाल र भारतका विभिन्न स्थलहरु
पेशा : सम्पादन, अनुवाद (नेपाली, अंग्रेजी, हिन्दी)
मोबाइल नम्बर : ९८४११९५६०५
email : [email protected]

रचना
लघुकथा : जिजीविषा

श्मसानमा जलेका बिभिन्न चिताहरुबाट बाँकी रहेका साना, ठूला दाउरा र चोइटाहरु खोलाकै बगरमा यत्रतत्र छरिएका थिए | जुन जुन चिताका ती दाउराहरु थिए, ती चितामा शरीर जलाइएका आत्माहरु मध्यरातमा तिनै दाउरामाथि बसेर गफ गर्न थाले ,

एउटा आत्माले भन्यो- “मेरो बाइकलाई त्यो असत्ती ट्यांकरले ठक्कर नदिएको भए यति चाँडो त्यो सुन्दर शरीर छाड्नुपर्ने थिएन नि मैले !”
दोस्रो आत्मा उसरी नै उदास हुँदै बोल्यो- “त्यो पैसामुखी डाक्टरले लापरवाही नगरिदिएको भए मैले पनि त यसरी असमयै शरीरबाट छुट्नुपर्ने थिएन |”
“ती स्वार्थी नेताहरुको लहैलहैमा लागेर बन्दुक नसमातेको भए म पनि यो सुन्दर संसारमा सशरीर घुमिराखेको हुनेथिएँ | कत्ति न शहीद बन्ने लहड लिएर जीवन बलिदान दिएँ, न केही कदर भयो, न त परिवारले नै केही पाए !” तेस्रो आत्माले अझ बोझिलो स्वरमा भन्यो ।
“तिमीहरुकोभन्दा पनि दुखद कथा त मेरो पो छ त साथीहरु ! मातापिताको शेषपछि दाइले अंश ठग्यो भनेर मुद्दा हालें, आफ्नै दाजुले गुन्डा लगाएर यो गति पारिदियो | श्रीमती रोइरहेकी देख्छु, छोराछोरी नियास्रेका देख्छु | न सान्त्वना दिन सक्छु, न त छुन नै | बरु मुद्दा नहालेकै भए हुने रहेछ, अब पछुताएर के गर्नु ?”
यस्तै असन्तुष्टि र जिजीविषाहरुकै कारण शरीर छाडेको दुई सय वर्षसम्म पनि प्रेतकल्पमै रुमल्लिइरहेको र अब चाहेर पनि मुक्त हुन नसकेको प्रेतात्मा ती नयाँ आत्माहरुका अतृप्ति र गुनासाहरु सुनेर अलिनो मुस्कान मुस्कुराइरह्यो ।
बस्


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...