Monday 30th March 2026

लघुकथाकार छविलाल खड्काकृत ”आशिर्वाद” लघुकथा संग्रह माथि परिचर्चा


बन्दना घिमिरे – २०७९/०१/१८ गते अमेरिकी समय अनुसार बिहानको सात बजे, नेपाली समय अनुसार साँझ ५:४५ बजे मोलुङ फाउन्डेशनको आयोजनामा भएको कार्यक्रममा सहभागीहुने अबसर पाएँ । यस्तो अबसर दिनु भएकोमा आयोजक टिम बिशेषगरी सहजकर्ता विश्वराज अधिकारी सरप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

लघुकथा लेख्न शुरु गर्नुभएको १८ महिनाको छोटो अवधिमानै लघुकथा संग्रह निकाल्न सफल हुनुभएकोमा लघुकथाकार छविलाल खड्कालाई हार्दिक बधाई  तथा शुभकामना ।

मोलुङ फाउन्डेशनका अध्यक्ष प्रो. डा.भुप प्रसाद धमलाको अध्यक्षतामा भएको ”आशिर्वाद” कृतिको परिचर्चा कार्यक्रममा लघुकथाका विशिष्ट हस्तिहरुको गरिमामय उपस्थिति रहेको थियो । लघुकथा समाजका निवर्तमान उपाध्यक्ष ध्रुव मधिकर्मी, अग्रज लघुकथाकारहरु कल्याण पन्त, डा. शेखर कुमार श्रेष्ठ, खेमराज पोखरेल कार्यक्रमका केन्द्रबिन्दु ”आशिर्वाद” लघुकथा संग्रहका लेखक छविलाल खड्का,भवानी पाण्डे, लता के.सी, ममता मृदुल,कुसुमाकर शर्मा, सत्या अधिकारी, निर्मला बराल, महानन्द ढकाल लगायत अन्य लघुकथाप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । लघुकथा गान बजाएर कार्यक्रमको शुरुवात गरिएको थियो ।

प्रस्तुत कृति ”आशिर्वाद”छविलाल खड्काको पहिलो लघुकथा संग्रह हो । हाम्रो पुर्णीमा साहित्य प्रतिष्ठान कोहलपुर बाँके प्रकाशक रहेको पुस्तकको आबरण चित्र बिक्रम शिशिरले बनाउनु भएको हो भने भाव चित्र सुरज सुबेदीले बनाउनु भएको हो । न्यू सिध्दार्थ अफसेट प्रेस बाँकेले मुद्रण गरेको छ भने कम्प्युटर सेटिङ निर्मल पारुले गर्नुभएको छ ।

लघुकथाको ईतिहासमा पहिलो लघुकथा संग्रह प्रकाशन गर्ने लघुकथाकार पुर्णप्रसाद ब्राह्मणमा समर्पित पुस्तकमा हाम्रो लघुकथा पाठशालाका व्यबस्थापक लता के.सी. ले शुभकामना मन्तव्य दिनुभएको छ भनेअर्का व्यबस्थापक डा. शेखर कुमार श्रेष्ठले ”आशिर्वाद” भित्र लघुकथाकार छविलाल खड्का भन्दै आफ्नो समालोचकीय धारणा राख्नु भएको छ ।

लघुकथाकार छविलाल खड्कालाई हाम्रो लघुकथा पाठशालाका अब्बल बिद्यार्थी भन्दा अत्युक्ति हुदैन जस्तो लाग्छ मलाई । डिसेम्वर १३,२०२० मा हाम्रो लघुकथा पाठशालामा जोडिएर लघुकथा प्रेषित गर्नुहुने लघुकथाकारले प्रत्येक दिन २४ घण्टाका लघुकथा संकलन कार्य गर्नुहुन्छ ।
साहित्यकार छविलाल खड्कासँग साक्षात्कार नभएपनि म उहाँलाई लघुकथाको माध्यमबाट राम्ररी चिन्छु । माता स्व. भिमकली खड्का र पिता स्व. भिउँदल खड्काका सुपुत्र छबिलाल खड्काको जन्म २०२५ साल चैत २३ गते रुँघा,रुकुममा भएको हो ।हाल कोहलपुर नगरपालिका -६ , बाँकेमा स्थायी बसोबास गर्नुहुन्छ ।स्नातक तह सम्मको योग्यता हासिल गर्नुभएका खड्का निजामती सेवामा कार्यरत हुनुहुन्छ ।साहित्यमा रमाउनु हुने खड्का हाम्रो पूर्णिमा साहित्यिक प्रतिष्ठान कोहलपुर बाँके र राप्ती साहित्य परिषद शाखा कार्यालय रुकुम पश्चिमको आजीवन सदस्य हुनुहुन्छ ।साईनो , कविता र लघुकथामा कलम चलाउनुहुने साहित्यकारको ”बहिनीलाईचिट्ठी ” शिर्षकको कविता २०४५ सालमा राप्ती संदेश पत्रिकामा प्रकाशित भएको थियो । मिसन टु डे पत्रिकाको २०७७ साउन अंकमा ”कोरोना क्याप्सुल” शिर्षकको लघुकथा प्रकाशित भएको थियो । “शहिदको संदेश ” लघुकाब्य -२०४९ र “बिरौटो” साईनो सङ्ग्रह -२०७७ कृतिहरु प्रकाशित छन् ।

प्रस्तुत कृति ”आशिर्वाद”मा ५१ वटा कथाहरु रहेका छन् । चित्रात्मक पुस्तकमा दुई पृष्ठमा कथा समापन गरिएको छ ।कृति भित्रका कथाहरुमा वर्तमान समय जिवित छ । नेपाली समाजमा रहेका बेथिति, बिसंगती माथि तिखो व्यंग्य गर्दै नविन समाज निर्माणतर्फ क्रान्तिकारी सोच पस्कन सफल हुनुभएको छ कथाकार ।लघुकथाहरुमा धेरैजसो पात्रहरु बोलेका छन् । साहित्य समाजको ऐना हो भन्ने भनाईलाई कृति आशिर्वादले चरितार्थ गरेको छ ।

यस कृतिको नाम जुराउने कथा ”आशिर्वाद”ले पारिवारिक विकृति उजागर गरेको छ । पैसाको मूल्य बुझेको तर परिवारको मूल्य बुझ्न नसकेको पल्लो घरको डक्टरको परिवार देखेकी बज्यैले आफ्नो नातिलाई डाक्टर नबनेस् भन्ने आशिर्वाद दिएकी छन् ।यो कथाले मेरो मन छोएको छ । दुई छोराहरुलाई डाक्टर बनाउदै गरेकी मेरो माता मनमा चसक्क चोट लागेको छ । पाठकको मनमा चस्स लाग्नु लघुकथाकारको उपलब्धि हो जस्तोलाग्छ मलाई ।

मातृत्व लघुकथामा संन्तानले बाउआमाको त्याग बिर्सेको र कुलङ्घार लघुकथामा आमाको बृध्द भत्ताको पैसा चोरेर रक्सी खाने जस्ता कुलङ्घार छोरा पनि छन् है समाजमा भन्ने देखाउदै बृध्दभत्ताको कसरी दुरुपयोग हुन सक्छ भन्ने यथार्थ देखाईएको छ ।
आश्चर्य कथामा भ्रष्टाचार, बिजयभोज भोक ए ग्रेड कथामा कोरोना कहर बाट समाजमा परेका थरिथरि प्रभाव
देखाईएको छ ।
सरप्राईज कथाले हाम्रो समाजमा रहेका लागू पदार्थ दुर्व्यसनीहरुलाई बिद्यालयले गर्ने जनचेतनामूलक कार्यक्रमहरुले केहि हदसम्म भएपनि सुधार्न प्रेरित गर्छ भन्ने तथ्य उजागर गरेको छ ।
अस्पताल ,बा र गुणको पैचो जस्ता कथामा अस्पतालले सर्बसाधारण माथि गर्ने शोषण देखाएको छ भने देखाउने दाँत लघुकथाले देश परिवर्तन गर्न सिहदरबार छिरेका नेताहरु आफुमात्र परिवर्तन हुने तर्फ चोटिलो व्यंग्य गर्दै समापन गरिएको छ ।
पर्दाफास लघुकथाले महिला अधिकारकर्मीको खोल ओढेर महिला बेचबिखनमा लागेकाहरुको उछितो काढेको छ ।ऐलानी लघुकथाले होटल व्यवसायी महिलाहरु प्रति समाजको नकारात्मक सोच रहेको तर्फ बिद्रोह गरेको छ । के म लालपुर्जा नभएको ऐलानी जग्गा हुँ ? भन्दै बिद्रोहको स्वर उचाल्दै महिला मैत्री समाजको परिकल्पना गरिएको छ ।
चिसोताप कथाले धन सम्पत्तिले मात्र महिला भाग्यमानी हुन नसक्ने तर्फ ईशारा गरेको छ भने सतबिउ लघुकथाले बाला चतुर्दशीका दिन पशुपतिमा सतबिउ छर्न जाँदा संन्तानको बिउ पनि छरेर आउने पुरुष प्रवृत्ति ओकलेको छ ।
कर्मको फल लघुकथामा मन्दिरका पुजारीलाई पात्र बनाउदै रक्षक भक्षक पनि हुन सक्छन् भन्ने तितो सत्य उजागर गरिएको छ ।
मुल्याकंनमा सरकारी कार्यलयहरुमा हुने ढिलासुस्ती र कामचोर प्रवृत्ति देखाउदै त्यस्तै कार्यालयहरुनै सर्वोत्कृष्ट ठहरिदै पुरस्कृतहुने गरेको यथार्थ पस्किएको छ । जुक्ति लघुकथाले आफ्नो गल्ती छोप्न अरुलाई दोष थुपार्ने प्रवृत्ति प्रति व्यंग्य गरेको छ । ग्यारेन्टीकार्ड र व्यापारिक चाल जस्ता लघुकथाहरुले व्यापारीहरुले आफ्नो दुनो सोझ्याउन जे सुकै गर्न पछि नपर्ने तर्फ व्यंग्य गरिएको छ । वातावरण दिवस लघुकथाले वर्तमान समयमा गरिने कार्यक्रमहरु व्यानर बनाउने फोटो खिच्ने र सामाजिक संजालमा फोटा हाल्ने मै सिमित भएको तर्फ चोटिलो प्रहार गर्न सफल छ। मर्निङवाक लघुकथाले समाजमा मर्निङवाकको नाममा भित्रिएको विकृति उजागर गरेको छ भने हाकिम पुराण कथामा थरिथरिका हाकिमहरुको चर्चा गर्दै मानवेतर पात्र कुर्सी र स्विपरको वार्तालापको माध्यमबाट सहि मानिस भेट्न मुस्किल छ भन्ने भाव पस्केको छ कथाले ।
समय लघुकथाले हाम्रो नेतृत्ववर्ग हास्यव्यङ्ग्य कलाकार भएको तर्फ खेद प्रकट गरेको छ ।गुणको पैचो लघुकथामा भनसुन गर्न बाध्य अबस्था प्रति उछितो काढदै बाउ मरेको दश दिनमा भनिदिएको छु भन्दै फोन गर्ने नेतालाई चुनावमा गुण तिर्नेछु भनिएको छ ।

कथाहरु पढदै जाँदा पाठकलाई लघुकथाका भावहरुले हसाँउछन् , भावुक वनाउछन् अर्थात् झङकृत गराउन सफल छन् लघुकथाकार छविलाल खड्का त्यसकारण मलाई यो कृति सफल छ । पठनिय छ, संग्रहनीय छ ।

अन्त्यमा साहित्यका बिभिन्न बिधामा कलम चलाउनु हुने साहित्यकार छविलाल खड्काको साहित्यिक यात्रा अझ शसक्त बन्दै जाओस् भन्ने कामनाका साथै सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि कोटी कोटी शुभकामना अर्पण गर्दछु ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...