Thursday 18th June 2026

अभियुक्तको बयान : नशा बढ्दै गयो, अनि हत्या गर्‍यौं


क्राइम थ्रीलर सिनेमाको प्लट जस्तै भयानक छ, लागुऔषध र त्यसले निम्त्याएको एउटा हत्या । सुन्दै आङ जिरिङ्ग हुने हत्या कैलालीको जानकी गाउँपालिकाका ९ को अमरावती बनमा गत पुसमा भएको हो । जहाँ एकै छिमलका चार जना किशोरले आफ्ना साथीको हत्या गरेका थिए । उनीहरु चारै जना २० वर्षभन्दा कम उमेरका छन् । हत्यामा संलग्न रहेको आरोपमा मनोज भण्डारी, रोनी परियार भन्ने दिलिप दास, बमे भन्ने बम बहादुर बोहरा र सुमित साउदलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनीहरुले कैलालीको जानकी गाउँपालिकाका २५ वर्षका अर्जुन दासको हत्या गरेका प्रहरीको आरोप छ । उनीहरुले जंगलमा लगेर घण्टौंसम्म रुखमा बाँधी क्रुरतापूर्वक साथीको हत्या गरेका प्रहरीले बताएको छ । प्रहरीले शुक्रबार सार्वजनिक गरेका सुमित साउदले प्रहरीसँगको बयानमा भने, ‘मार्ने उद्देश्य त थिएन, तर गाजा तथा ड्रग्सले धूत भएपछि मार्ने योजना बन्यो ।’ हत्यामा संलग्न उनीहरु सबै ड्रग्स तथा गाजाले मातिएका थिए । सुमितका अनुसार उनीहरुले त्यसदिन अन्य दिनको भन्दा पाँच-छ डोज बढी लिएका थिए ।

कसरी भयो घटना ?

हत्याको कारण थियो मोबाइल । घटना हुनुभन्दा तीन दिनअघि कमल साउद (यसअघि नै पक्राउ परेका) को मोबाइल हरायो । उनले मोबाइल चोरेको आंशकामा सुमितलाई कुटपिट गरे । कमलको घरमा मृतक अर्जुन काम गर्न आइरहेका थिए । तर मोबाइल हराउनुअघि नै काममा आउने गरेकाले उनीमाथि कमलले शंका गरेनन् ।

तर कमलको मोबाइल सुमितले नभई मृतक अर्जुन दासले चोरेका थिए । अर्जुनले मोबाइल चोरी सिम निकालेर हर्के भाटलाई दिएका थिए । यो कुरा सुमितले चाल पाए । उनीहरुले कमलको मोबाइल फिर्ता गरिदिए । कमलले साथी सुमितलाई कुटेको बदला लिने सोच बनाए मनोज भण्डारी र बमबहादुर बोहराले । त्यसैले उनीहरुले कमलको २५ हजार रुपैयाँ बराबरको लागु औषध (निट्राभेट–१०) चोरेर जंगलमा लुकाए । कमल लागु औषध बेच्ने काम गर्ने कुरा मनोजको समूहलाई थाहा थियो । सुमितले मोबाइल नचोरे पनि कुटाइ खाएको भन्दै उनको समूहले अर्जुनसँग पनि बदला लिने योजना बनायो । ३ पुसमा अर्जुनलाई ड्रग्स खाने भन्दै अमरावती सामुदायिक बनमा बोलाए । जुन उनीहरुको पहिल्यैदेखिको अड्डा थियो ।

अर्जुन आएपछि उनीहरु सबैले संगै ड्रग्स र गाजा खाए । नशा चढ्दै गएपछि उनीहरुले मोबाइल हराएको र कुटाइ खाएको घटनामा विवाद निकाले । अर्जुनले मोबाइल चोर्दा सुमितले कुटाई खाएको भन्दै भण्डारीको समूहले उनलाई मरणासन्न हुने गरी कुटपिट गर्‍यो । कुटपिट गरेपछि उनलाई रुखमा बाँधियो । अर्जुनलाई रुखमा बाँधेपछि उनीहरु फेरि ड्रग्स र गाजा खान थाले । साँझ छ बजेदेखि राति १२ बजेसम्म उनीहरुले लगातार ड्रग्स र गाजा लिइरहे । मोबाइल चोरेको भन्दै मनोज भण्डारी, सुमित साउद, बम बहादुर बोहरा, सुशील मयाल, दीलिप दास, बादल विक र करण दर्नालसमेतले अर्जुनलाई कुटपिट गरे । ड्रग्सले मातिएका उनीहरुले एक्कासी अर्जुनलाई मार्ने योजना बनाए ।

अर्जुनलाई हात खुट्टा बाँधेर राखेको चार–पाँच घण्टापछि सबैले लागु औषधको नशामा मार्नुपर्छ भनेपछि सुशील मयालले खुकुरी उपलब्ध गराए । खुकुरी दिएपछि उनी घर फर्के ।मनोज भण्डारीका अनुसार अन्दाजी राति २ बजे उनीहरुले अर्जुनको घाँटी रेटेर हत्या गरे । उनीहरुले रातभर लागु औषध सेवन गरेर त्यहीं बसे । लागु औषधको नशाले लठ्ठिएका उनीहरु दुई जना बाहेक सबै सुते ।

नसुतेका दुई जनाले बिहान चार बजे सुतेका सबैलाई उठाए । त्यति बेलासम्म उनीहरुलाई नशाले छाडिसकेको थियोे । नशाले छाडेपछि उनीहरु डराउन थाले । ‘बिहान होसमा आएपछि हामीले त मान्छे मारेर पो बसेका हौं, भन्ने याद भयो, हामी डरायौं, अब के गर्ने कसो गर्ने भन्ने भयो’, शुक्रबार काठमाडौं गरिएको पत्रकार सम्मेलनमा मनोजले सुनाए । बिहान भएपछि डराएका उनीहरुलाई अब के गर्ने कता जाने भन्ने भयो ।मनोज भण्डारी काठमाडौं पढ्न आउने तयारीमा थिए । काठमाडौं पढ्न जानका लागि भन्दै घरपरिवारले उनलाई ७ हजार रुपैयाँ दिएको थियो । त्यही खर्चमा उनीहरुले भारततिर भाग्ने योजना बनाए ।३ पुसको बिहान ५ बजे मनोज भण्डारी, दिलिप दास, बादल विक, बमे बोहरा, सुमित साउद र विवेक सिंह भारतको दिल्लीतर्फ लागे भने कनकलाल विक, करण दर्नाल, सुशील मयाल र नाम थर वतन नखुलेका उनका साथी कैलालीमै लुकेर बसेका थिए ।

हत्यापछि मनोज भण्डारीले एक जनालाई फोन गरेर अर्जुनको हत्या आफूले नै गरेको हो भनेको अडियो सार्वजनिक भएको थियो ।पछि फेरि उनले ‘हत्यारा हौं, पक्राउ गरेर देखा’ भन्दै प्रहरीलाई चुनौती दिएका थिए । भारतमा काम नपाएपछि हत्यामा संलग्न चारै जना काम खोज्न रुपन्देहीको सिद्धार्थ नगरपालिका–१ बेलहिया नाका फर्के । प्रहरीले काम खोजिरहेका उनीहरुलाई नाकामै पक्राउ गरेको हो । अर्जुनका हत्यारा पक्राउ गर्न अपराध महाशाखाबाट गोप्य टोली परिचालन गरिएको थियो । पक्राउ परेकाविरुद्ध जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्दा चलिरहेको छ ।

-अनलाइन खबरबाट

 


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

लुलु हाइपरमार्केट र लुलु एक्सचेन्जले कुवेतभरका ग्राहकहरूलाई अझ बढी मूल्य प्रदान गर्ने उद्देश्यसहित रणनीतिक सहकार्य घोषणा गरेका छन्। यस सहकार्यअन्तर्गत…

प्रतिकृयाहरू
...