Tuesday 23rd April 2024

अभियुक्तको बयान : नशा बढ्दै गयो, अनि हत्या गर्‍यौं


क्राइम थ्रीलर सिनेमाको प्लट जस्तै भयानक छ, लागुऔषध र त्यसले निम्त्याएको एउटा हत्या । सुन्दै आङ जिरिङ्ग हुने हत्या कैलालीको जानकी गाउँपालिकाका ९ को अमरावती बनमा गत पुसमा भएको हो । जहाँ एकै छिमलका चार जना किशोरले आफ्ना साथीको हत्या गरेका थिए । उनीहरु चारै जना २० वर्षभन्दा कम उमेरका छन् । हत्यामा संलग्न रहेको आरोपमा मनोज भण्डारी, रोनी परियार भन्ने दिलिप दास, बमे भन्ने बम बहादुर बोहरा र सुमित साउदलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनीहरुले कैलालीको जानकी गाउँपालिकाका २५ वर्षका अर्जुन दासको हत्या गरेका प्रहरीको आरोप छ । उनीहरुले जंगलमा लगेर घण्टौंसम्म रुखमा बाँधी क्रुरतापूर्वक साथीको हत्या गरेका प्रहरीले बताएको छ । प्रहरीले शुक्रबार सार्वजनिक गरेका सुमित साउदले प्रहरीसँगको बयानमा भने, ‘मार्ने उद्देश्य त थिएन, तर गाजा तथा ड्रग्सले धूत भएपछि मार्ने योजना बन्यो ।’ हत्यामा संलग्न उनीहरु सबै ड्रग्स तथा गाजाले मातिएका थिए । सुमितका अनुसार उनीहरुले त्यसदिन अन्य दिनको भन्दा पाँच-छ डोज बढी लिएका थिए ।

कसरी भयो घटना ?

हत्याको कारण थियो मोबाइल । घटना हुनुभन्दा तीन दिनअघि कमल साउद (यसअघि नै पक्राउ परेका) को मोबाइल हरायो । उनले मोबाइल चोरेको आंशकामा सुमितलाई कुटपिट गरे । कमलको घरमा मृतक अर्जुन काम गर्न आइरहेका थिए । तर मोबाइल हराउनुअघि नै काममा आउने गरेकाले उनीमाथि कमलले शंका गरेनन् ।

तर कमलको मोबाइल सुमितले नभई मृतक अर्जुन दासले चोरेका थिए । अर्जुनले मोबाइल चोरी सिम निकालेर हर्के भाटलाई दिएका थिए । यो कुरा सुमितले चाल पाए । उनीहरुले कमलको मोबाइल फिर्ता गरिदिए । कमलले साथी सुमितलाई कुटेको बदला लिने सोच बनाए मनोज भण्डारी र बमबहादुर बोहराले । त्यसैले उनीहरुले कमलको २५ हजार रुपैयाँ बराबरको लागु औषध (निट्राभेट–१०) चोरेर जंगलमा लुकाए । कमल लागु औषध बेच्ने काम गर्ने कुरा मनोजको समूहलाई थाहा थियो । सुमितले मोबाइल नचोरे पनि कुटाइ खाएको भन्दै उनको समूहले अर्जुनसँग पनि बदला लिने योजना बनायो । ३ पुसमा अर्जुनलाई ड्रग्स खाने भन्दै अमरावती सामुदायिक बनमा बोलाए । जुन उनीहरुको पहिल्यैदेखिको अड्डा थियो ।

अर्जुन आएपछि उनीहरु सबैले संगै ड्रग्स र गाजा खाए । नशा चढ्दै गएपछि उनीहरुले मोबाइल हराएको र कुटाइ खाएको घटनामा विवाद निकाले । अर्जुनले मोबाइल चोर्दा सुमितले कुटाई खाएको भन्दै भण्डारीको समूहले उनलाई मरणासन्न हुने गरी कुटपिट गर्‍यो । कुटपिट गरेपछि उनलाई रुखमा बाँधियो । अर्जुनलाई रुखमा बाँधेपछि उनीहरु फेरि ड्रग्स र गाजा खान थाले । साँझ छ बजेदेखि राति १२ बजेसम्म उनीहरुले लगातार ड्रग्स र गाजा लिइरहे । मोबाइल चोरेको भन्दै मनोज भण्डारी, सुमित साउद, बम बहादुर बोहरा, सुशील मयाल, दीलिप दास, बादल विक र करण दर्नालसमेतले अर्जुनलाई कुटपिट गरे । ड्रग्सले मातिएका उनीहरुले एक्कासी अर्जुनलाई मार्ने योजना बनाए ।

अर्जुनलाई हात खुट्टा बाँधेर राखेको चार–पाँच घण्टापछि सबैले लागु औषधको नशामा मार्नुपर्छ भनेपछि सुशील मयालले खुकुरी उपलब्ध गराए । खुकुरी दिएपछि उनी घर फर्के ।मनोज भण्डारीका अनुसार अन्दाजी राति २ बजे उनीहरुले अर्जुनको घाँटी रेटेर हत्या गरे । उनीहरुले रातभर लागु औषध सेवन गरेर त्यहीं बसे । लागु औषधको नशाले लठ्ठिएका उनीहरु दुई जना बाहेक सबै सुते ।

नसुतेका दुई जनाले बिहान चार बजे सुतेका सबैलाई उठाए । त्यति बेलासम्म उनीहरुलाई नशाले छाडिसकेको थियोे । नशाले छाडेपछि उनीहरु डराउन थाले । ‘बिहान होसमा आएपछि हामीले त मान्छे मारेर पो बसेका हौं, भन्ने याद भयो, हामी डरायौं, अब के गर्ने कसो गर्ने भन्ने भयो’, शुक्रबार काठमाडौं गरिएको पत्रकार सम्मेलनमा मनोजले सुनाए । बिहान भएपछि डराएका उनीहरुलाई अब के गर्ने कता जाने भन्ने भयो ।मनोज भण्डारी काठमाडौं पढ्न आउने तयारीमा थिए । काठमाडौं पढ्न जानका लागि भन्दै घरपरिवारले उनलाई ७ हजार रुपैयाँ दिएको थियो । त्यही खर्चमा उनीहरुले भारततिर भाग्ने योजना बनाए ।३ पुसको बिहान ५ बजे मनोज भण्डारी, दिलिप दास, बादल विक, बमे बोहरा, सुमित साउद र विवेक सिंह भारतको दिल्लीतर्फ लागे भने कनकलाल विक, करण दर्नाल, सुशील मयाल र नाम थर वतन नखुलेका उनका साथी कैलालीमै लुकेर बसेका थिए ।

हत्यापछि मनोज भण्डारीले एक जनालाई फोन गरेर अर्जुनको हत्या आफूले नै गरेको हो भनेको अडियो सार्वजनिक भएको थियो ।पछि फेरि उनले ‘हत्यारा हौं, पक्राउ गरेर देखा’ भन्दै प्रहरीलाई चुनौती दिएका थिए । भारतमा काम नपाएपछि हत्यामा संलग्न चारै जना काम खोज्न रुपन्देहीको सिद्धार्थ नगरपालिका–१ बेलहिया नाका फर्के । प्रहरीले काम खोजिरहेका उनीहरुलाई नाकामै पक्राउ गरेको हो । अर्जुनका हत्यारा पक्राउ गर्न अपराध महाशाखाबाट गोप्य टोली परिचालन गरिएको थियो । पक्राउ परेकाविरुद्ध जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्दा चलिरहेको छ ।

-अनलाइन खबरबाट

 


सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...