Friday 25th September 2026

राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले जाँचबुझ समिति गठन गरेसँगै उनी स्वत: निलम्बनमा परेका हुन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको भन्दै तीन सदस्यीय जाँचबुझ समितिसमेत गठन गरिएको हो ।

जाँचबुझ समिति गठन भएसँगै गभर्नर अधिकारी निलम्बनमा परेका हुन्। राष्ट्र बैंक ऐन २०५८ को दफा २२ को उपदफा ५ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरुको पदमुक्त सम्बन्धि व्यवस्था राखिएको छ ।

मन्त्रिपरिषदले गभर्नरलाई पदमुक्त गर्दा जाँचबुझ समिति गठन गर्ने व्यवस्था ऐनमा छ । ‘राष्ट्र बैंकको उद्देश्य हासिल गर्नका लागि बैंकले गर्नुपर्ने काम नगरेको, कार्यक्षमता अभाव भएमा, मुलुकको बैंकिङ तथा वित्तीय व्यवस्थामा हानी नोक्सानी पुग्ने कार्य गरेमा, बैंकको काम कारबाहीमा बेइमानी र बदनियत गरेको देखिएमा, वा खराब आचरण भएमा पदमुक्त गर्न सक्ने’ व्यवस्था ऐन रहेको छ ।

जाँचबुझ समितिको गठन गर्दा सर्वोच्च अदालतका अवकासप्राप्त न्यायाधीशलाई अध्यक्ष र आर्थिक, मौद्रिक, वित्तीय तथा वाणिज्य क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुबाट २ जना सदस्य रहनेछन् ।

२०७६ चैत २४ गते केपी ओली नेतृत्वको सरकारले अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो । डा.चिरञ्जीवी नेपालको पाँच वर्षे कार्यकाल पूरा गरेर विदा भएसँगै रिक्त रहेको पदमा तत्कालिन ओली नेतृत्वको मन्त्रिपरिषद्ले अधिकारीलाई गभर्नरमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...