Saturday 28th September 2024

पञ्चाङ्ग चित्रपट, भाग – ०७


पञ्चाङ्ग चित्रपट ः भागः ०७
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या ः ०१
मितिः २०७८/१२/०२

प्रशिक्षक ः
————
सविता के.सी.
नारायण प्रसाद निरौला

मिति ः प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीवार

चित्र संकलक
—————-

सोमनाथ लुइटेल “रवि पाल्पाली“

समायोजन
————-
👉️सोमनाथ लुइटेल “रवि पाल्पाली“

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू
हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पाचौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा पञ्चाङ्ग पठाउनुहुने सबै सर्जकहरूलाइ हार्दिक धन्यवाद ।

नोट ः संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

पञ्चाङ्ग ०१

गणतन्त्रमा पनि होलि मनाइन्छ साथी
प्रजातन्त्रमै दिल खोली मनाइन्छ साथी
बहुदलमा पार्टिका झण्डा होलीको जस्तो
फागुमा रङ्ग घोली घोली मनाइन्छ साथी
होलिका गीत बोली बोली मनाइन्छ साथी ।

सोमनाथ लुइटेल “रवि पाल्पाली“

पञ्चाङ्ग ०२

अठहत्तर सालको होली शुभकामना
सम्पूणर्मा छ मन खोली शुभकामना
पहाड तराई सबैतिर उत्सव मान्नु होला
उपहारको सट्टा मधुर बोली शुभकामना
अथाहा मनमा माया घोली शुभकामना ।

रुपा गौतम, बारा

पञ्चाङ्ग ०३

रङ्गीन यो चाडमा मिलेर खेलौं होली अब
फेरि यस्तै दिनहरू नआउला भोली अब
सधैँ यो मिलन नहुन पनि सक्छ नि हैन
नदुखाउँ चित्त कसैको नराम्रो बोली अब
जिन्दगी बिताउँ राम्रो सातै रङ्ग घोली अब ।

रामराजा के. सी., फर्पिङ, काठमाडौं

पञ्चाङ्ग ०४


रौनक लिएर आएको छ होलीले सबैलाई
भोक मेटाएको छ खाद्यको झोलीले सबैलाई
उमङ्ग र संस्कृतिको जगेर्ना लिँदैछ होलीले
तिर्खा मेटाएको सम्पूणर्मा खोलीले सबैलाई
सुहाउँदो भाव देखाउँछ चोलीले सबैलाई ।।

मिली मनाऔं होली सबैले
पोखौंन दिल खोली सबैले
संस्कृति जगेर्ना गर्नुपर्छ
राखौं त बाजि मोली सबैले
धर्मको बोकौँ झोली सबैले।।

जमुना आचार्य, सिन्धुपाल्चोक

पञ्चाङ्ग ०५

बर्ष दिनका सबै दुःखहरू जलाउन आयो होली
मायाका रङ्गहरू सँगसँगै पलाउन आयो होली
कलियुगको अन्त्य भई सत्ययुगको शुरुआत झैँ
सुख शान्ति लिएर नयाँ बर्ष बोलाउन आयो होली
ईश्वरको रंगभित्र योगी भै टोलाउन आयो होली ।

गुणनिधि घिमिरे, पाँचथर मोरङ हाल अमेरिका

पञ्चाङ्ग ०६

होलीको पर्व नजिकै आई सक्यौं रे रमाएर,
उमङ्गका गीतहरु गाइसक्यौँ रे रमाएर।
रङ्ग खेल्ने वाहानामा संस्कार नभुलौ कसैले ,
साथीभाइ भेट्नलाई धाइ सक्यौँ रे रमाएर,
तिमीले त भाङ्ग पनि खाइसक्यौँ रे रमाएर।

दुर्गा आचार्य, मोरङ्ग

पञ्चाङ्ग ०७

रमाइलो आउदैछ होलीको दिन सम्झेर
रमाइ आउदैछन् साथिभाई लिन सम्झेर
साह्रै राम्रो लागेको छ यही पर्व मनाउन
विरामी हुँदा लाग्नेछ पैसाको रिन सम्झेर
रगतको खोलो नबगाउ है घिन सम्झेर ।

अम्बिका अधिकरी, विर्तामोड

पञ्चाङ्ग ०८

प्रत्येक जन को मनमा होली,आएको राम्रो
रङ्गले रंगीदै हर्ष उल्लास, छाएको राम्रो
सबै मिलिजुली मनाऔं पर्व, मानेर गर्व
सबेरै उठी मोठ मन्दिर मा, धाएको राम्रो
होली आयो भनेर नाच्दै, गीत गाएको राम्रो।

पबित्रा चाम्लिङ, खोटाङ।

पङ्गचाङ ०९

आयो घुमी होली पूणर्िमा
खेलु मन खोली पूणर्िमा
बिकृति नआओस् पर्वमा
रङ्गियोस् चोली पूणर्िमा
नहानु है गोली पूणर्िमा।

सुमित्रा पोखरेल काठमाडौं

पञ्चाङ्ग १०

गाउँ तथा शहरमा होली पर्व त आयो रे
सबै मन मन्दिरमा हर्ष उमङ्ग छायो रे
सप्त रङ्गी रंगले छोपेर मान्छे चिन्नै गाह्रो
साथी भाइ घर घरमा होली खेल्न धायो रे
रङ्गै रङ्गमा रङ्गिई भाङ धतुरो खायो रे।

सरस्वती श्रेष्ठ, इटहरी

पञ्चाङ ११

आँसुले नबगाओस् होलीका सातै रङ्गहरु
दुख पीडा नहोस् आवोस् सबैमा उमंगहरु
स्वतन्त्र भएर बाँच्न सकियोस काम गरी
उच्च मनोबल सफल बनाउन ढङ्गहरु
सबैको मनमा छाउन आउ फुरुङहरु

तारा घिमिरे, संखुवासभा

पञ्चाङ्ग १२

घरघर उमङ्ग छाउँदै आयो होली
उज्यालो दीप ज्वाला वालेर छायो होली
रङ्गीन चाड दलौ रातो, पहेँलो रङ्ग
सातै रङ्गको मीठो गीत पो गायो होली
साथी भाइसँग पो मितेरी लायो होली

सरिता काफ्ले, कोहलपुर बाँके

पञ्चाङ्ग १३

नेपालीको घरघर पसी आज होली उदायो
लोला भर्दै रङ अबिरका साथ झोली उदायो
हाँसौँ खेलौँ सुखद हुन गै आपसी प्रेम साट्दै
माया गर्दा असल मनमा बेस बोली उदायो
पानी छ्याप्दा भुइँभर जमी एक खोली उदायो

तोयानाथ सुवेदी, काँडाघारी,काठमाडौं

पञ्चाङ्ग १४

सद्भाव राखी बोलौं सबैले मीठो बोली याहाँ
घर आगन आयो रङ्ग बिरङ्ग होली याहाँ
संस्कार र संस्कृती जोगाई राखौँ हामि
एक आपसमा खुसी बाटौं दिल खोली याहाँ
कसले के लानु छ र मरि जाँदा भोली याहाँ ।

चेतना पोखरेल, मोरङ

पञ्चाङ्ग १५

रङ्गसरी जीवन रङ्गियोस् कामना गरौँ
आसुरी तत्व सर्वनाशको वन्दना गरौँ
देखाई सबैमा मित्रभाव खुशी साटेर
आफू पनि सधैँ खुशी हुँने चाहना गरौँ
रङ्गीन पर्वझैँ जिन्दगानी सिर्जना गरौँ ।

केशब न्यौपाने, नुवाकोट

पञ्चाङ्ग १६

वर्षदिनमा सप्तरङ्गी पर्व होली राम्रो लाग्यो
चारैतिर बाँधिएको चौबन्दी चोली राम्रो लाग्यो
भेटघाट रमाइलो वर्प मनाउन आउनू
सातै रङ्ग पानीमा, खेल खेल्न होली राम्रो लाग्यो
त्यही रङ्ग पखाल्ने सेती कोशी खोली राम्रो लाग्यो ।

सविता के.सी., काठमाडौं

पञ्चाङ्ग १७

फाल्गुण शुक्ल पूणर्िमा पर्व छ भोलि मनाऔँ
घमण्ड द्वेष निकाली अग्निमा पोली मनाऔँ
सम्बन्ध हाम्रो सुदृढ गरेर नित्य जीवन्त
भावना शुद्ध मिलाई तनमा घोली मनाऔँ
विशाल सोच लिएर खुसीको होली मनाऔँ।

सुरेश चन्द्र घिमिरे, दोर्दि ३ लमजुङ

पञ्चाङ्ग १८

एकता, सद्भाव बढोस् रङ्गसँगै हाम्रो यहाँ ।
विश्व बन्धुत्वको भावना होस् प्रगाढ राम्रो यहाँ ।
जिन्दगी हो रङ्गमञ्च पात्र असल बनी खेलौ ।
द्वेष, इर्ष्या, तृष्णा छाडी प्रेमको बाँधौ काम्रो यहाँ ।
सत्यताको सन्देश छर्न नबनौ है चाम्रो यहाँ ।

भवानी घिमिरे, सर्लाही

पञ्चाङ्ग १९

आयो वसन्त सङ्घार रङ्ग भर्दै उमङ्गको,
रङ्गमा रङ्गिए सारा रङ्ग छर्दै उमङ्गको।
तरु पुष्प फुलेका छन् फेरिए नयाँ पालुवा,
नर नारी रमाउँदै रङ्ग गर्दै उमङ्गको।
मिलीजुली सबै साथ रङ्ग धर्दै उमङ्गको।।

नारायणप्रसाद निरौला, काठमाडौँ।

पञ्चाङ्ग २०

जिन्दगी रङ्गीन बनोस् होलीमा सबैको।
सद्भाव कायम रहोस् होलीमा सबैको।
वर्ष दिनमा आउने पर्व मान्नु पर्छ ,
माया प्रेम अघि बढोस् होलीमा सबैको।
दुश्मन पछाडी परोस् होलीमा सबैको।

ह्यारिस ह्यारिसन, काठमाडौं

पञ्चाङ्ग २१

रङ्ग सँगै आयो होली साथी
खेलौँ अब मिली भोलि साथी
मरी लानु केही छैन यहाँ
बोल्नु पर्छ दिल खोली साथी
तन त जान्न है बोली साथी।

गिता अर्याल, नेपालगन्ज बाँके

/पञ्चाङ्ग २२

वैरीलाई खुसी नै दिन आफैँ रुनुपर्छ बरु
रगतले होलि भएको टाटो धुनुपर्छ बरु
नडराउनुस् महोदय रङ्ग दल्नेहरुसँग
रङ्ग बदल्नेसँग होसियार हुनुपर्छ बरु
आफू बाँच्न प्रशंसा गर्दै मन छुनुपर्छ बरु ।

श्रद्धा आचार्य , पोखरा

पञ्चाङ्ग २३

सुन्दर रङ्गको चाड यो होली आयो
खोलौँ सबसँग भावको झोली आयो
परिचय हाम्रो प्राचीन खोजी गर्दै
अरु गरून् बयान दिल खोली आयो
गौरव हामी पाउँनेछौँ बोलि आयो।

तिलकप्रसाद लुइटेल, काठमाडौं

पञ्चाङ्ग २४

आउ खेलौ रमाएर होली आज
बर्ष दिनमा तन मन खोली आज
कतै अबिर गुलाल लगाउदै छन्
रंङ्गै रङ्गले भिजाउँ चोली आज
पिच्कारी र लोला हानौँ गोलीआज।

देवी कार्की खुलाल, झापा

पञ्चाङ्ग २५

सत्यको जीत हुन्छ भन्छ होली सँधै भरि
मधुर हुन्छ विद्वानको बोली सँधै भरि
आज आज भोलि भोलि आउँदैन कहिले
मनाउनु छ होली दिल खोली संधै भरि
होलीमा बनाउँछु रङ्ग गोली सँधै भरि।

निर्मला सुवेदी, बागलुङ।

पञ्चाङ्ग २६

घरघर नाचगान चलेको छ होली हाम्रो
गरौँ आजै रसरङ्ग के था छ र भोलि हाम्रो।
युगौँ युग बाँचिदिने धर्मकर्म गरौँ साथी
सत्यमा छ अडिएको गहकिलो बोली हाम्रो।
मृत्युपछि साथ जाने कर्मकै हो झोली हाम्रो

चन्द्रावती अधिकारी
कोहलपुर वाँके ।

पञ्चाङ्ग २७

सजाऔं जीवन यही अझ दिमागी शृङ्गारले
कालो दैत्य घुम्टो खोलाई सुमार्गी विचारले
उमङ्गको पर्व होली,शुभकामना मीठो बोली
वसन्तको नव पालुवा सरी नव आधारले
यही जीवन स्वर्ग हो मनाऔं उत्तम सारले ।

प्रेम थापा,बागलुङ


सम्बन्धित शीर्षकहरु

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

भारी वर्षाका कारण मुम्बईको अवस्था खराब छ । भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बई र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा…

प्रतिकृयाहरू
...