Sunday 27th September 2026

नेपाल र साउदी अरबबीच सम्झौतापत्रमा हस्ताक्षर हुँदै


तितोपाटी- साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा मंगलबार साँझ यहाँ आइपुगेका छन् ।

निजी विमान चढेर श्रीलङ्काबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र यहाँस्थित साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । आज परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भेटवार्ता गर्नेछन् । भेटवार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ । साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् । साउदी अरब अधिराज्यका विदेशमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले दिवाभोज आयोजना गर्नेछन् । अपराह्न उनी स्वदेश फर्कने कार्यक्रम छ । –रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

प्रतिकृयाहरू
...