Saturday 3rd October 2026

पोखरामा भीषण असिना पानी, जनजीवन प्रभावित


पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् । सडकमा बाक्लो असिना जमेको छ ।

पोखराका सडकहरुमा बाक्लो असिनाका कारण यातायात अवरुद्ध भएर ट्राफिक जाम भएको थियो । फागुनको पहिलो सातामै परेको असिनाले हिउँदे र बेमौसमी तरकारी तथा थन्काउने बेलाको आलुमा नोक्सानी पुगेपछि कृषक मर्कामा परेका छन् ।

पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, नयाँबजार, सिर्जनाचोक, रानीपौवालगायतका क्षेत्रका सडकमा बाक्लो असिनाका कारण यातायात सञ्चालनमा कठिनाइ भएपछि एक्साभेटरको सहायताले असिना हटाएर यातायात सहज बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सडकमा असिना जमेर गाडी गुड्न अप्ठ्यारो भएपछि प्रहरीले असिना हटाउन सुरु गरेको हो । असिना पानीले सडक अवरुद्ध हुँदा चालक र पैदलयात्रु सडकमै रोकिन बाध्य भएका थिए ।

असिनाका कारण हिउँदे बाली तथा काउली, बन्दा लगायतका तरकारी र कौसी खेतीमा क्षति पु¥याएको महानगर कृषि विकास महाशाखाले जनाएको छ । महानगरका वडा नं १८, २०, १६, २५, २२, १४ लगायत कृषि उत्पादन बढी हुने क्षेत्रका कृषक असिनाबाट पीडित बनेका छन् ।

आलु खन्ने समयमा असिना र पानी पर्दा आलु कुहिने सम्भावना बढी हुने भएकाले कृषक मर्कामा पर्ने उनले बताए । महाशाखा प्रमुख मनहर कडरियाले भने, “विगतका वर्षहरुमा फागुन अन्तिम र चैतमा असिना पर्ने गरे पनि यसवर्ष अनुमानभन्दा पहिल्यै परेपछि तरकारी बालीमा बढी क्षति गरेको छ । कृषकहरुले क्षतिका प्रारम्भिक रिपोर्टहरु दिनुभएको छ । बजार क्षेत्रमा यति बाक्लो असिना परेको मेरो जानकारीमा रहेसम्म अहिलेनै हो ।”

पोखरामा अघिल्ला वर्षहरुमा पनि ग्रामीण क्षेत्रमा बाक्लो असिना पर्ने गरेको थियो । बजार क्षेत्रमा भने वर्षौपछि बाक्लो असिना परेको बताइन्छ । रासस


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...