Sunday 21st June 2026

लघुकथाः गृह बैठक


आज गुरुदत्तले गृह बैठक आयोजना गरे।आफ्नै घरको भव्य बैठक कक्षमा सबै सदस्य उपस्थित भए।आफू, पत्नी, छोराछोरी र बुहारीहरु सोफा, कुर्सीमा लहरै बसे।
पञ्चायत कालका खाँटी पञ्च गुरुदत्त प्रभावशाली प्रधानको रुपमा परिचित थिए।वहुदल आएपछि उनले समयमै पार्टी प्रवेश गरेर गाविस अध्यक्ष समेत पड्काएका थिए। उनी राजनीतिका चतुर खेलाडी भनेर समेत प्रख्यात छन्। समय अनुसार दल बदल गर्दै राम्रै राजनीतिक लाभ प्राप्त व्यक्ति हुन् उनी।
बैठक शुरु गर्दै गुरु दत्त बोले- “विभिन्न सिजनमा विभिन्न प्रकारको खेती गरिन्छ।राम्रो फसल प्राप्तिको लागि जमिनको पूर्व तयारी आवश्यक हुन्छ।उत्तम बिउ छनौट भएमा सोही अनुसारको फल प्राप्त हुन्छ।त्यसैले समयमै बिउ छनौट र जमीन तयारी आवश्यक पर्छ।आजको गृह बैठक यसैको लागि बोलाइएको हो।”
“धान काट्नै बाँकी छ।खेत खाली नहुँदै किन हतारिनु भएको बुवा ? धान काटेपछि बिउ ल्याउँला, लगाउँला।सधै गरेकै काम त हो, गरौंला नि।” –छोरो ऋषिकेशले बालाई ढुक्क गराउन खोज्यो।
“तिमीहरु कुरै वुझ्दैनौ।मैले यस्तो खेतीको कुरा गर्न खोजेको हैन।यो त उदाहरण मात्र पो।खास कुरो अर्कै हो।” –गुरुदत्तले भने।
“स्पष्ट भन्नुस् न त खास कुरो के हो ?” –कान्छो छोरो हतारियो
“अब चुनावको मौसम शुरु हुँदै छ।त्यसैले को को कुन कुन दलमा प्रवेश गर्ने हो ? योजना बनाउनु पर्यो नि।अब ठुल्ठूला नेताहरु गाउँ फर्कने बेला भो।ठूला नेता आएकै बेला ठ्याक्क पार्टी प्रवेश गर्नु पर्छ।बाँडिएर फरक फरक पार्टी प्रवेश गरेपछि कसै न कसैको पार्टीले जितिहाल्छ अनि लाभ लिन सकिन्छ।”–गुरुदत्तले गुह्य कुरो खोले।
“नाइँ बुवा म त मेरो पार्टी छोड्दिन।उतिबेला देखि लागेको पार्टी, मेरो आस्था विश्वास त्यसैमा छ।म निष्ठाको राजनीति गर्छु।आफ्नो इमान छोड्दिन।”-ऋषिकेशले आफ्नो विचार पोख्यो।
“यत्रो पढेको हेर कुवुद्धि ? तेरो डिग्री त खेरै गयो।यत्रो समय निष्ठा र इमान भन्दै लागिस् के पाइस् ? ठुल्ठूला नेताहरु भ्यागुतो उफ्रे झैँ गरि घरी यता घरी उता गरेर कति पद पाउँछन् ? तँ भने फोस्रो आदर्श छाँट्छस्।बेलैमा विचार गर्।”–गुरुदत्तले अलि हपार्ने पाराले ऋषिकेशलाई भने।
सबै चुप लागे, बैठकमा मौनता छायो।
“सबैले अलि गम्भिरतापूर्वक सोचौँ, विचार गरौँ र समयमै सही निर्णयमा पुगौँला।अब एक हप्ता पछि बस्ने गरि आजको गृह बैठक यहीँ समापन गरौँ।”– गुरुदत्तले बैठक समापन गरे।

–मित्र उराठी गौतम
अमरपुर-गुल्मी हालः बुटवल


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...