Thursday 22nd January 2026

लघुकविताः बिरानो पो भइसकेछ -शान्ता शाक्य


ओहो ! नि मेरो गाउॅ मेरो ठाउॅ
बिरानो देश र दन्यकथाको देशमा
सुटुक्क साटिन पो पुगेछ !
थुक्क मेरो बुद्धि
सोंचेको थिएँ के हुनुपर्ने हो
के भइगएछ !
आफ्नो जिन्दगी त
अर्काको मूल्यसॅग
थपक्क साटिन पो पुगेछ !
समय परिस्थितिले
कोल्टे त मजाले फेरिसकेछ !
गाउॅको रूपरङ्गले
नाङ्गो डाॅडा र पाखासॅग
मितेरी गाॅसिसकेछ !
चराचुरूङ्गीको कलरवले
मौनव्रत लिइसकेछ !
धन र बिल्लाले
छाती फुलाउन हिंडेकाहरू
गुन्द्रुक र ढिडोको
स्वादलाई बिर्सेर
आफ्नै पेवाको
गोरेटोलाई पनि भुलेर
कहिल्यै नफर्किने गरी
सहरिया माखो पो
बन्न पुगिसकेछन् !
गाउॅको सुन्दरता त
खण्डहरमा रूपान्तरण भइसकेछ !
तीजको रमझम
उन्मुक्त नचाइ
देउसी भैली
हाटे मेला
रोटेपिङको मजा
सबैसबै तालु खुइलिसकेका
डाॅडामाथि बसेर
विगतका स्मृतिलाई
झलझली सम्झेर
पुनर्जीवितको आशामा
टपटप ॲासु खसालेर
रोइरहेछन् रोइरहेछन् !
हरे ! जिन्दगी त
धरमरिएछ नि
अल्मलिएछ नि
ढल्पलिएछ नि
सुनौला सपना त
रङ्गहीन हुन पुगेछ नि
जिन्दगी त कहिले
कता पोखिएछ
कहिले कता
अत्तोपत्तो समेत हराइसकेछ !
जताततै काॅडैकाॅडाले
जरा गाडिसकेछ !
फेरि दैवी प्रकोपले पनि
गाउॅलाई नै मजाले सम्झेछ !
कठै ! गाॅसमाथि गाॅस हालेछ
यस्तै – यस्तै कथा र व्यथाले
वास गरिसकेछ !
आफ्नालाई आफ्नै गाउॅ पनि
बिरानो पो भइसकेछ
आफ्नालाई आफ्नै गाउॅ पनि
बिरानो पो भइसकेछ ! !

शान्ता शाक्य
धापाखेल ललितपुर


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...