Monday 30th March 2026

एमालेले बहिस्कार गरेको सर्वदलीय बैठक निष्कर्षविहीन


तीतोपाटी डटकम- सभामुख अग्नि सापकोटाले अवरुद्ध संसद बैठक खुलाउन बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ । संसद भवन बानेश्वरमा सोमबार झण्डै साढे २ घण्टा बसेको बैठकमा प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठकमा कुनै सहमति नजुटेको नेताहरुले बताएका छन् । बैठकमा नेताहरुले सभामुखलाई पुन प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझाव समेत दिएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिपक्ष एमाले बैठकमा सहभागी नै नभएपछि कुनै निचोडमा पुग्न नसकेको बताए । ‘कुनै निचोडमा पुगेको छैन । यो सभामुख र प्रमुख प्रतिपक्षको कुरा हो, उहाँको उपस्थितिबिना कुनै परिणाम आउदैन’ अध्यक्ष ठाकुरले भने, ‘पहिला पनि ५९ दिनसम्म संसद अवरुद्ध भएको थियो, अहिले त २,३ दिनमात्र भएको छ ।’

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संसद सहज रुपमा सुचारु गर्न बैठक आव्हान गरेपनि प्रतिपक्ष नआएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको जानकारी दिइन् ।‘उहाँ (सभामुख)ले प्रयास गर्दै हुनुुहुन्छ । उहाँले त्यहीँ भन्नुभएको छ । प्रतिपक्ष नै नआएसम्म निष्कर्षमा पुगिँदैन भन्ने नै रह्यो । त्यही भएर प्रतिपक्षलाई समेत सहभागी गराएर बैठक गर्न अनुरोध गरेका छौ’, पौडेलले सहभागी राजनीतिक दलका प्रतिनिधिले दिएको सुझावबारे बताइन् । उनले बैठकअघि सभामुख र कानुन मन्त्रीले प्रतिपक्ष दलका नेताहरुलाई हटलाइनमा फोन गर्दा सो पार्टीका अध्यक्षले नै आजको बैठकमा उपस्थित हुन सकिदैन भन्ने जवाफ दिएको सभामुखले ब्रिफिङ गरेको पनि जानकारी दिइन् ।

उनले बैठकमा सहभागी दलका नेताहरुले सदनलाई अनिर्णयको बन्दीबाट मुक्त गर्न प्रतिपक्ष सहभागी हुनैपर्ने भन्दै कानुन अनुसार नेकपा एकीकृत समाजवादी गठन भएकाले समाजवादी पार्टी सहभागी बैठकमा आउँदिन भन्नु हठ र इगोमात्रै भएको प्रतिक्रिया दिइन् ।

‘सदनमा प्रतिपक्षको मुख्य भुमिका हुन्छ । छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ । कानुन अनुसार एकीकृत समाजवादी बनेको अवस्थामा हठ र इगो लिएर प्रतिपक्षको भुमिका निश्कृय गराउन मिल्दैन । विधि प्रक्रिया अनुसार जानुपर्छ र निकास दिनुपर्छ’, बैठकपछि पौडेलले भनिन् ।

साभार-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...