Sunday 5th May 2024

कविताः उल्कापुर यात्रा -अविचल आस्था मणि


जाऔं घुम्न रमाइलो, छ उल्कापुरमा सुनें
पहिलोपल्ट जाँदामा साथी गाँठ हुने चुनें।।१।।
उल्कापुर अनौठाको भित्र पाइन्छ जे पनि
सुनेको मात्र हो मैले, उल्का धेर हुने भनी।।२।।
त्यो उल्कापुरका मान्छे उल्का वर्षण गर्दछन्
एकैपल्ट पुगे हुन्छ, अनाकर्षण भर्दछन्।।३।।
चोरीको साथ डकैती मिल्ने सङ्गमको थलो
छन् खप्पीस सबै मान्छे अर्काको गर्न कुभलो।।४।।
त्यहीँ रक्सी र रण्डी छन्, कौडी र तास खास छन्
एकमाथि उछिनेर अर्का झन् बदमास छन्।।५।।
जो भेटेमा पनि मान्छे, निराशा छन्, हतास छन्
भेटेसम्म सबै गर्छन्, निन्दा र उपहास झन् ।।६।।
आत्मसम्मान बेचिन्छन् कौडीको मूल्यमा पूरा
छन्छनाएर बज्दैछन्, तान्न ग्राहक हो चुरा।।७।।
एकभन्दा त अर्को छ छुरा, काट्न परे कुरा
ढुङ्गा हानेर हाँस्दैछन् वृद्धलाई रमी भुरा।।८।।
मिर्गौला पनि बेचिन्छन्, जाँड, मासु खुराकमा
गाहकी नित्य लुटिन्छन् बहानामा नयाँ नयाँ।।९।।
कानचिरा पसेका छन्, कामपिपासु भै जहाँ
बनेका नित्य नौला छन्, ठगीका योजना यहाँ।।१०।।
मिर्गौला पनि बेचिन्छन्, जाँड, रक्सी खुराकमा
सधैं ग्राहक लुटिन्छन् बाहनामा नयाँ, नयाँ।।११।।
कानचीरा पसेका छन् कामको नित्य चिन्तन
सुनाएर भनेका छन् अलख् भोले निरञ्जन।।१२।।
पैसामा पद बेचिन्छन् गाँठ ठूलो कुरा भयो
बासेको मध्यरातैमा पोथी पो कुखुरी छ यो।।१३।।
मुखले बोल्छ त्यो राम, खल्ती भित्र छुरा भयो
चोरको बाबु चाण्डाल बजार्दै पाखुरा रह्यो ।।१४।।
सिधासाधा र निर्धाका बाँच्ने आशा सबै गयो
बेश्या ग्राहक रोज्दैछन् काम बेकामको छ यो।।१५।।
यता लाग्ने उता लाग्ने राम हराम झैं भयो
खाएको नुन बिर्सेको हरामी इतिहास हो।।१६।।
छाती सानो छ फिस्टेको कागती नुनको कथा
चट्टी लाएर हिँडेको धूर्तको दुष्ट दुर्दशा।।१७।।
सकेसम्म छ लेखेको काव्य यो सुत्रमा सब
बुझ्ने छन् तब पो मात्रै स्रष्टाले भन्दछन् जब।।१८।।
ऐतिहासिक मोर्चामा लुक्ने नेता बने पछि
स्रष्टाले लेख्दछन् काव्य लगाएर खुबै कसी।।१९।।
उल्कापात भएको छ काटमार बढ्यो अति
मान्छे निष्काम देखियो शास्त्र धेरै पढे जति।।२०।।
क्रमशः

अविचल आस्था मणि
म्याग्दे, तनहुँ, गण्डकी प्रदेश, नेपाल ।
२०७८।०५।१९, बिहान


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...