Monday 30th March 2026

पर्वतका विभिन्न स्थानमा पहिरो जाँदा एकै परिवारका ५ सहित १० जनाको मृत्यु, १ वेपत्ता


तीतोपाटी –  पर्वत जिल्लाको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर एकै परिवारका ५ सहित  १० जनाको मृत्यु भएको छ भने पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन् । पर्वतको कुशमा नगरपालिकाको वडा नं. ३ दुर्लुङ तथा वडा नं. ११ को सिल्मी र पकुवा एवं मोदी गाउँपालिका वडा नं. ५ आम्बोटमा गएको पहिरोले  १० जनाको मृत्यु भएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार मृत्यु हुनेहरूमा  कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो । उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको छ ।

यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ ।

साथै कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको छ भने मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएकी छन् । साथै पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...