Sunday 5th May 2024

“दोमन” शीर्षकमा रचना गरिएका १८ जना टुक्काकारका टुक्काहरू


“दोमन” विषयमा लेखिएका टुक्का
१.
मन साह्रै पापी गरिरहन्छ दोमन
कस्तो होला लोभिन्छ देखेर कालो धन।
२.
बाटो खोज्दाखोज्दै म दोबाटोमा पुगेँ
दोमन हुँदाहुँदै दिनभर रुँगे।
३.
बिच बाटोमा नगर प्यारा दोमन
अठार वर्षको मायाँ छोड्छु नभन।
✍️ पौडेल विमुन्स, पाेखरा

 

१.
देखेर दोबाटो दोमन भयो,
घना जंगलले लौ सातो गयो ।
२.
माया भए छ भन दोमन गर्छौ किन,
भागी जान्न बरू मिली खोजॅौला नि रिन ।
३.
तिम्रो व्यवहारले मलाई हुन्छ दोमन,
कहिल्यै पाइॅन मैले तिमीमा आफ्नोपन ।
✍️राजेशराज गड्तौला
रतुवामाई-१०, मोरंग, हाल- प्रवास

 


यता उता कता जाऔँ भयो मन दोमन
जतासुकै कोरोना छ उस्तै लाग्दो गोमन

दाेधारमा परेपछि लाग्दाेरै’छ विस्मत
के सक्नु र देखाउन उल्लेख्य त्याे किस्मत ।
✍️ त्रिलोचन भण्डारी , मेचीनगर ,झापा

 

१.
पिपल पाते बाेलि तिम्राे दाेमन गरायाे,
ठुला ठुला सपना थिए त्यसै हरायाे ।
२.
जस्लाई हेर्याे त्यही राम्राे तिमी राम्राे झन,
कस्लाई राेजाैं अल्मलिए भएँ म दाेमन।
✍️ ताराप्रसाद चापागाईं

१.
जाऊँ कि नजाऊँ भाको छु, रानी बनैमा ,
तिम्रै याद आइरहन्छ, भित्री मनैमा।
२.
यो मन किन यस्तो हुन्छ, दोमन भैरहने,
पछ्याउँदिन भन्छ मन, पाईला गैरहने।
३.
आधा मन यतै बस्छ, आधा दौडिन्छ,
दोधारमा दोमन भै, पानी पौडिन्छ।
✍️ होम प्र, नेउपाने , धरान,सुनसरी

 


नकिन्नु किनीहाले त्यो राम्रो घडेरी देखेर,
भन्दैछ ऊ मुद्दा लागेको जग्गा दिन्छु लेखेर।

दोमन भयो बैना फर्काऊँकी किनूम्,
भाँझो हाल्नेलाई अन्तिम पल्ट चिनूम्।

तर्कारी पसलले फापेन फेन्सी दोकान गर्न मनलाग्यो,
लाखौँ पैसा यसैगरी डुब्ने पो होकि दोमनले धन माग्यो
✍️ कमला पाण्डे पराजुली, झापा

 

१.
पारभयाे कतागयाे बैँशालु त्यो जाेवन ,
खाेजूँ कि सम्झेर बसूँ भइरेछ दाेमन ।
२.
कमाइ धन्दा राेजगारी गुमाउनु पर्याे ,
महामारी दाेहाेरियाे तहसनहस् गर्याे ।
३.
नत गाँठ छ पाकेटमा नत अाँट अायाे
छैनन केही छाँटकाँट खुल्दुलीले छायाे ।
✍️ रामकृष्ण दुवाडी, पाेखरा ।

 

१.
सबै भन्छन् हर प्राणीको मात्र एउटै मन
जे काम गर्दा पनि दोमन हुन्छ किन भन ?
२.
यसो वा म उसो गरूँ भएमा दोमन
विचारको द्वन्द्व चल्दा गर्छु म शयन ।
३.
जति राम्रोसँग काम गर्छु भने पनि
दोधारमा रेटिन्छु म अल्पबुद्धि धनी ।
✍️ श्रीकृष्ण शर्मा, पोखरा

 

१.
मन मेरो दोमन भयो कता जानू होला,
पारी पर्यो राँगे भीर त वारी पर्यो खोला।
२.
भौतारिई हिडी रहेछु गन्तव्यमा रुक्न
जाऊँ नजाऊँ दोमनभो थाल्यो गोडा लुक्न।
✍️ लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा

 

१.
उनीलाई देखेपछि, वशमा रहेन यो मन
लैजाऊँ कि छोडौँ प्यारीलाई, मन भयो दोमन !
२.
हिँड्दा हिड्दै दोबाटो आयो, लैजाऊँ कता यो तन
दायाँ जाऊँ कि बायाँ जाऊँ, मन त भयो दोमन !
✍️ गोपाल कृष्ण डंगोल, महाराजगञ्ज, काठमाण्डौँ
हाल- इटहरी, प्रदेश नं. १

 

१.
मान्छेको सोच राम्रो गर्ने हुन्छ ,
दोमन हुँदा भित्री मन रुन्छ ll
२.
केही नयाँ थालनी गर्दा कसो गरूँ हुने ,
यही हो दोधारे चञ्चले मन सारै छुने ll
३.
सबैको मन एकै हुँदैन कहिल्यै,
दोमन हुँदा काम बन्दैन जहिल्यै ll
✍️ रिता खराल ,रुपन्देही

 

१.
कर्लि कपाल चट्ट तिम्रो रहर लाग्दो यौवन,
माया गासौँ पिरती साटौँ केलाई गर्छौ दोमन?
२.
आएको म त टाढा बाट तिमिलाई भेट्न भनी,
के को दोमन म जस्तो लाई पाउदा खेरि पनि?
३.
पहिले भेट्दा अंगालेर तिमिले माया गर्यौ,
अहिले कसको कुरा सुनी दोमनमा पर्यौ?
✍️ नवशिला
बेलबारी -२, लालभित्ती, मोरङ
हाल: गोदावारी, ललितपुर

१.
यो मन सधैँ भा छ अस्थिर,
किन हो लागि रहेछ पीर ।
२.
आफ्नो वशमा त हुन्न कहिल्यै मन,
यो गरौँ कि त्यो भएर हुन्छ जलन ।
३.
निश्चित कामले नै सकिन्छ सफल हुन,
दोधारे मनले सकिदैन उद्देश्य छुन ।
✍️ दुर्गा भट्टराई , मोरङ

 

१.
आफ्नाे मनलाई कहिले पनि नपार्नू दाेमन,
आफन्त काे नि लाेभि कालाे हुन्छ देखे पछि धन।
२.
माया प्रेम लगाउन नगर प्यारा दाेमन,
वर्षौँ देखि काे याे हाम्रो सम्बन्ध छाेड्छु नभन।
३.
थाेरै धेरै दु:ख सुख गरेर कमाउँनु पर्छ धन,
आमा बाबालाई पाल्नलाई कसैले नगर्नु दाेमन।
✍️ शाेभा अर्याल , रुपन्देही १४ बुटवल

 

१.
तिमी आँखा लगाउँछाैँ किन मेराे जाेवन,
तिम्रा कुरा सुनेपछि हुन थाल्छ दाेमन ।
२.
आजभोलि पीरतीले सवार गर्न थाल्यो ,
दाेमन गर्दै तिम्रो माया भित्रभित्र चाल्याे ।
३.
महादेवकै तीन नेत्र देखेपछि धन,
आैला बाङ्गा बनाउन हुने रैछ दाेमन ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

 

१.
मनोयोगले मानव जीवन सफलतामा हिँड्छ,
दोमन गरी हिड्ने मान्छे आफ्नै मुर्ख्याइँसँग भिड्छ!
२.
उन्नतिको मार्गमा पाइला चाल्दा दोमन हुने किन?
आफूसँगै भएको अपार शक्तिलाई आफैंले चिन!
३.
संघर्षका बाटाहरू चुनौतीपूर्ण सम्भाना हुन्छन्
एकै मन एकै ताल एकै सुरमा भेटिन्छ जुन!
✍️ भूषण जंग, ललितपुर
हाल अष्ट्रेलिया

१.
आऊ सानू तिम्रो मन दोमन नगरी,
होस् सम्बन्ध हाम्रो पनि परेवाको सरि ।
२.
नबस्नु कहिल्यै आफ्नो मन दोमन पारी ,
फर्केर आऊ फेरि घृणाको त्यो विउ मारी ।
३.
दोमनलाई हटाई सत्य बाटो लागौँ ,
हातमा हात मिलाएर अब हामी जागौँ।
✍️ कल्पना थामी , सिन्धुपाल्चोक

१.
आफ्नै जिन्दगी देखि आफै हारेर,
गयौं तिमी ~ टाढा दोमन पारेर।
२.
दुःख र कष्टले नै जिन्दगी भरेको,
म अभागी अझै दोमनमा परेको।
३.
एकै छिनमा रात पर्यो चुचुरे डाँडा पारी,
जाऊँ की नजाऊँ भयो मन जंगलको घारी।
✍️ रविन भण्डारी, मोरङ

 

:::: जय टुक्का! जय साहित्य!! ::::


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...