Monday 24th August 2026

दाङ र पोखरमा बाढी तथा पहिरोमा परि ७ जनाको मृत्यु


दाङको सिस्ने खोलामा आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार सिस्नेखोला तर्नेक्रममा कार खोलाले बगाउँदा उक्त घटना भएको हो ।

सिस्ने खोला घोराही लमही सडकखण्ड अन्तर्गत पर्छ । गएराति करिब १० बजेको समयमा ५ जना सवार प्र ३०१२४ च ४४४० नम्बरको कार नेपालगञ्जबाट घोराही जाँद गर्दा खोलामा आएको बाढीले बगाएको प्रहरीको भनाइ छ ।

मृत्यु हुनेमा घोराही १३ का वर्ष ३२ कि शुसिला श्रेष्ठ, १४ निवासी वर्ष २९ कि राधिका कुवर, घोराही १३ बस्ने बर्ष ४० की रितामाया पुन र घोराही १४ कि ४० वर्षीया बिमला केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त कारका चालक घोराही १५ का ४३ वर्षका नरबहादुर पुनको भने घटनास्थलदेखि १ किलोमिटर टाढा खोलामा बगिरहेको अबस्थामा उद्धार गरिएको प्रहरीको भनाइ छ । उनको खुट्टामा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ ।

त्यसै गरि पोखरामा अविरल वर्षाका कारण पहिरीमा परेर तीन जनाको मृत्यु भएको छ । पहिरामा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन् ।

लगातारको वर्षापछि गए राति आएको पहिराले घर पुरिँदा पोखरा महानगरपालिका–२० भलाममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घरधनी ४५ वर्षका कृष्ण श्रेष्ठ र उहाँकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङ रहनुभएको छ । पहिरामा परी उनीहरूका तीन वर्षीय छोरा सन्तोष बेपत्ता छन् भने घाइते आठ वर्षीय राजकुमारको मणिपाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

त्यसैगरि पोखरा–११ भञ्ज्याङ नमूना टोलमा पहिराले घर परिँदा घाइते ४२ वर्षीय लक्ष्य नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरामा परी घाइते भएका दुई जनाको उक्त अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पोखरा–११ काँहुमा पहिराले घर पुरिँदा एकैघरका तीन जना घाइते भएका छन् ।

अहिले घटनास्थलमा स्थानीय बासिन्दा, प्रहरी र विभिन्न सङ्घ संस्थाको सहयोगमा उद्धार कार्य भइरहेको छ ।

-न्यूज २४ नेपाल


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको तनाव पुनः तीव्र बनेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनले इरानलाई टिकाइराख्ने “हरेक आर्थिक जीवनरेखा काट्ने” नीति…

अफगानिस्तानमा तालिबान पुनः सत्तामा आएको पाँच वर्ष बित्दा पनि महिलामाथिका कडा प्रतिबन्धहरू जारी रहेका छन्। महिलाहरूलाई उच्च शिक्षा, धेरैजसो रोजगारी…

बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणका रूपमा युक्रेनको राजधानी कीभ पुगेर युक्रेनप्रति बेलायतको अटल समर्थन पुनः दोहोर्याएका…

प्रतिकृयाहरू
...