Monday 22nd December 2025

श्रीभक्त पौडेल ’आफन्त’को कविता “एक बिहान”


एक बिहान
———-
जब शहर नियाल्छु भनि
झ्यालका पर्दाहरु सार्दै थिएं
हताश निकै नरमाईलो लाग्यो
रातका जुनका सितहरु
या बाछिटाका बुँदहरु
सिसा झ्यालमा रोइरहेको पाएँ
आफ्नै बलिन्द्र अश्रुधारा जस्तै लागे
लागे साना छोटा नदिहरु जस्तै
कतै यी बुँदहरु
शहरका धुल त पखाल्दै छैनन्?
कतै आँफै बाटो बिर्सँदाका भुलहरु
पखाल्दै त छैनन्?
तर म केहिबेर
आँफैलाई हल्का महशुस गर्छु
कि कतै यी बुँदहरुले मेरा
छाती भित्रका मयलहरु
धोइरहेका त छैनन्?
हो होइन, होइन हो
यस्तै यस्तै अनगिन्ती सवालहरुको
अंधिबेहरि चल्न थाल्छ,
मन मस्तिस्क भरि
उथल पुथल हुन्छु आँफैमा।

मन निर्क्यौलमा पुग्छ
¨होइन¨
होइन यी बुँदहरुले
बाटो बिराएका हुन्
आफ्नै रहरहरु सँगै
मनको एक कुनाले भन्छ
यिनका रहरहरु पनि
बगेर सागर छुन जाने नै हुन्
छाल सँग मिलेर सागरमा बिलाउने नै हुन्
हो तर आज यीनका रहर मरेछन
मेरा हिजोका रहरहरु मरे जस्तै
त्यसैले होला,
अनायशै मेरा आँखाहरुबाट पनि
केहि बगेजस्तो आभाश हुन्छ
तप्प! तप्प!!
देब्रे हातको उल्टो हत्केलाले
बाँकी बग्दै गरेका धाराहरु पुस्छु
नितान्त फरक पाउछु
सिसा झ्यालमा बगेका बुँदहरु र
मेरा गालामा बगेका धाराहरु बिच
आँखाबाट झरेका पारदर्शी नुनिला धारा बिच

सित, झरी बाछिटाका बुँदहरुको चाहना त
सागर सँग मिल्न जाने थियो,,
तर मेरा आशुहरुको ?????
कती निर्दोश छन् मेरा आशुहरु
कती लालायीत छन मायामा
अर्कैको दुःख , पिडामा तप्की दिन्छन
तप्प तप्प

अझ झन अमुल्य पाउछु
आफ्नै आशुका थोपाहरु
खहरेहरु, ढिकाहरु
यस्तै यस्तै
कल्पनाको सागरमा हराउदै थिएं
छाती न्यानो भएको पाएं
भिजेका परेलिहरु ओभानो पाएं
बिस्तारै आँखा खोल्दै थिएं
पूर्वको उदाउँदो घामले
सारा शहर, बस्तिमा
रोषनी बाढ्दै थियो,
केहि मेरो कोठामा पनि
त्यही झ्याल बाट
चुहाइ सकेको रहेछ ….
तर , तर
म खुशी हुन सकिन रमाउन सकिन
त्यो बिहान त्यो रोषनी सँग, किरण सँग
सधैं रमाउँथे तर
किन कि,
त्यो पापी किरणले
अघिका सारा बुँदहरु निलिसकेछ
साना पवित्र खोलाहरु सुकाइ सकेछ
बाँकी छन् त केबल
धमिला सुकेका धर्साहरु
जहाँ यही शहरको मैलो कटकटिरहेको छ
अघिसम्म पखालिएका मेरा
छाती भित्रका मयलहरु
यथास्थानमै छाड्डै सारा बुँदहरु
हराइ सकेछन् ।

म नतमस्तक हुन्छु
पर्दा उघारौ कि उधारौ
पर्दा उधारौ कि उघारौ …

एक बिहान ….

श्रीभक्त पौडेल ’आफन्त’ , चितवन
हालः स्पेन
२६ जनवरी सन् २०१४,
स्पेन


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...