Monday 13th May 2024

माधवले र मैले लड्डु खान नपाइ ड्याम्म टाउकोमा घन हानियो : प्रचण्ड


तीतोपाटी डटकम-नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी प्रवृत्तिसँग लडेर हाललाई विजय हासिल गरेको भएपनि रिल्याक्स मुडमा भने हुन नहुने बताएका छन् । वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भने,‘अहिले हामी विजयी मुडमा छौं, तर कहिलेकाहिँ के हुन्छ भने विजयी भयो भनेर रिल्याक्स गर्न थाल्दा रहेछौंँ, कुनबेला घन हान्छन् पत्तो हुन्न’,पहिलोपटक ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर भएपछि माधव नेपालसँग मिलेर लड्डु खाएको प्रसंग स्मरण गर्दै प्रचण्डले भने, ‘पहिलो चोटी संसद पुनर्स्थापना भएपछि माधवले र मैले लड्डु खाइयो । त्यो लड्डुको स्वाद जान पाएको थिएन दुईटा पार्टी भए । ड्याम्म फेरि टाउकोमा धन हानेजस्तो आइहाल्यो । बल्ल बल्ल त्यसलाई सम्याइयाछ, अब के आउने हो भन्नेमा पनि सर्तक हुनुपर्छ ।’ समाजवादी विचारमा स्पष्ट भएमा तथा प्रतिक्रान्तिलाई रोक्नेतर्फ इमान्दार भएमा जित निश्चित भएको प्रचण्डले बताए ।

‘राजनीतिबाट बिदा लिएर संस्मरण लेख्न मन छ’

प्रचण्डले आफूले छिट्टै राजनीतिबाट बिदा हुन चाहेको बताए । युवालाई नेतृत्व हस्तान्तरण गरेर आफू राजनीतिबाट बिदा हुन चाहेको र फूसर्दमा संस्मरण लेख्न चाहेको उनको भनाई छ । ‘समाजवादी क्रान्तिको नेता हुने अवसर युवामा छ । अब मलाई छिटोभन्दा छिटो बिदा लिएर संस्मरण लेख्न मन छ’ प्रचण्डले भने, ‘तर तपाईहरु तयार नभएसम्म मलाई सुख छैन ।’ सो क्रममा प्रचण्डले ३८ सालमा आफू युवा संघको अध्यक्ष भएको र विभिन्न परिवर्तनको आन्दोलन देख्दै, भोग्दै यहाँसम्म आइपुगेको पनि सप्रसँग ब्याख्या गरे ।

‘…त्यो त केपीको ठगी धन्दा रहेछ’

अध्यक्ष प्रचण्डले ओली एउटा भन्ने र अर्कै गर्ने नेता भएको बताए । ओलीले ठिक विपरित कार्य गरेको आरोप समेत प्रचण्डले लगाए । केपी ओलीमा भन्ने एउटा गर्ने अर्कै प्रवृत्ति छ, म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ रे । भ्रष्टाचार गर्ने मान्छेलाई देख्न पनि चाहन्नँ भन्ने भाषामात्रै रहेछ’ उनले भने, ‘रक्सी अर्कै छ, लेबल त्यो राख्ने भन्ने रहेछ उहाँको बानी त ।’ पार्टी एकता ओलीले प्रधानमन्त्री बन्नका लागि गठी धन्दामात्रै चलाएको पुष्टि भएको प्रचण्डले आरोप लगाए । ‘कतिपय साथीले एकता गर्नु नै बेकार रहेछ पनि भन्नुहुन्छ, तर एकता गर्नैपथ्र्याे’ प्रचण्डले भने, ‘विधान र राजनीतिक प्रतिवेदनमा अहिलेको राजनीतिक परिवर्तनमा माओवादी आन्दोलनलाई निर्णायक भूमिका खेल्यो भन्नेमा केपीले सही गरेका छन् । अध्यक्ष र प्रम पालो पालो बन्ने भन्नेमा सही गरेको छ । तर प्रम प्राप्त गर्नका लागि केपीको सबै ठगी धन्दा रहेछ ।’

गठबन्धनको बैठकमा केपीसँग एकता गरेर के पाउनुभयो भन्ने प्रश्न नेताहरुले गरेकोमा आफू नाजवाफ भएको उनले बताए । उनले भने, ‘केपीसँग एकता गरेर ठूलो ज्ञान प्राप्त गरेर आएको छु, त्यो ज्ञान काँग्रेसलाई काम लाग्छ, माधवजीलाई पनि काम लाग्छ ।’ उनले आफूहरु घ्यूभन्दा नरम रहेको तर अत्याचार भयो भने विद्रोह गर्ने पनि आफूहरु नै भएको बताए ।

‘प्रतिगमनका नाइकेका कारण पार्टी एकता टिकेन’

‘प्रचण्ड’ले ओली प्रतिगमनको नाइके भएको टिप्पणी गरे । उनले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनलाई निमन्त्रण दिएको तर सबै दलहरु एकढिक्का भएर प्रतिरोध गर्दा प्रतिगमन परास्त भएको उनको भनाइ छ । उनले समाजवादी यात्राको तयारीको लागि कम्युनिस्ट पार्टीमा एकता गरिएपनि प्रतिगमनको नाइकेहरूका एकता नटिकेको उल्लेख गरे । उनले पहिलोपटक भएको संसद विघटनलाई आफूले जनयुद्धकै एउटा रुपका रुपमा लिएको स्मरण गर्दै त्यसलाई प्रतिगमन भनेर युवाहरुले साथ दिएको भन्दै प्रशंशा पनि गरे ।

‘संसद विघटन विरुद्ध उभिँदा सबैले जीवन मरणकै संघर्षका रुपमा लियौं । पटक पटक लाखौँ जनता सडकमा उतारियो । अरु दलल पनि संविधान र लोकतन्त्रका विरुद्ध घात हो भनेर एकजुट हुनुभयो’, उनले भने । समाजवादी आन्दोलनलाई अघि बढाउने कार्यमा युवाहरु जुट्नुपर्नेमा जोड दिँदै उनले अहिले वातावरण पनि रहेको बताए । ‘समाजवादी आन्दोलनलाई अघि बढाउन अहिले वातावरण छ’ उनले का नेता कार्यकर्तालाई भने, ‘हाम्रो आशा तपाईँहरूमाथि छ ।’

पछिल्लो समय बनेको राजनीतिक गठबन्धनको रक्षा गर्नुपर्ने बेला आएको बताउँदै उनले यो गठबन्धन धेरै दुःखले बनाएको बताए । उनले भने, ‘यस अर्थमा पनि धन्यवाद भन्छु कि निरंकुश र प्रतिगमनकारीलाई परास्त गर्दै अहिलेको ठाउँमा आइपुगियो । हाम्रो आशा तपाईँहरूमाथि छ । हामी जीवनको उत्तरार्द्धमा छौं ।’ विचार र प्रवृत्ति बुढो नहुने बताउँदै उनले यसका लागि युवाहरुलाई प्रमोट गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘प्रतिक्रान्तिलाई रोक्नको लागि समाजको लक्षित समूदायलाई अघि बढाउनुपर्छ ।’

२०३८ सालको स्मरण

अध्यक्ष प्रचण्डले २०३८ सालको युवाहरुको राष्ट्रिय भेलाको सम्झना गर्दै अहिलेका युवाहरुको गति तुलना गरे । उनले भने, ‘पञ्चायतको दमन र दबदबा थियो । भारतको कुसीनगरमा भेला भएको थियो । त्यसको म उद्घोषक थिएँ । तपाईँहरुको प्रस्तुति र स्प्रिट हेर्दा ४० वर्षको पिरियडमा के कस्ता बदलाब भए भन्नेबारे समीक्षा भयो ।’

वामपन्थी र काँग्रेस मिलेर पञ्चायतलाई परास्त गरेपनि परिवर्तन अपुरो रहेको भन्दै जनयुद्धमा गएको स्मरण गर्दै उनले भने, ‘खासगरी गणेशमान सिंहलाई कमाण्डर मानेर गरिएको आन्दोलनबाट पञ्चायत ढल्यो । पार्टीमा राजनीतिक ध्रुवीकरण भयो । मार्क्सवादी र माले बनेर एमाले बन्यो, काँग्रेसले चुनाव जित्यो । काँग्रेसभित्रकै अन्तरविरोधका कारण मध्यावधि बन्यो । परिवर्तन अधुरो र अपुरो छ भन्ने निष्कर्ष निकालेँ र तात्कालीन पार्टीभित्र पारित पनि भयो–मध्यावधि निर्वाचनलाई बहिस्कार गरेर जनयुद्धको सुरुवात भयो ।’

जनयुद्ध र जनआन्दोलनकै जगबाट परिर्वतन भएको स्मरण गर्दै त्याग र बलिदानको ठूलो कीर्तिमान निर्माण भएको बताए । उनले भने, ‘पृथ्वीनारायण शाहपछि धेरै ठूलो आन्दोलन थियो त्यो ।’
@रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

उत्तरी अफगानिस्तानमा अधिक वर्षाका कारण शुक्रबार अचानक बाढी आउँदा ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र हजारौं घरहरू ध्वस्त…

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यलयले…

एजेन्सि-रुस र युक्रेनबीच २६ महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । अहिलेको अवस्थामा यो युद्ध अन्त्य हुने सम्भावना देखिँदैन ।…

प्रतिकृयाहरू
...