Saturday 22nd August 2026

अष्ट्रेलियामा एकै हप्ता भित्रमा ३ नेपाली विद्यार्थीको मृत्यु


तीतोपाटी – विद्यार्थी भिसामा अष्ट्रेलिया पुगेका ३ जना नेपाली विद्यार्थीको एक पछि अर्को गरि गत साता एकै हप्ता भित्रमा मृत्यु भएको छ । मृत्यु हुनेमा अध्ययनको शिलशिलामा पर्थमा रहेका सम्राट तामाङ्ग, सिड्नीमा रहेकी रश्मी लेखक र रिजनल साउथवेल्समा रहेकी अर्की एक नेपाली विद्यार्थी रहेको एनआरएनए अष्ट्रेलियाले एक समवेदना सन्देश जारी गरि जानकारी दिएको छ ।

रामेछाप स्थायी घर भइ २ वर्ष अघि अष्ट्रेलिया पुगेका तामाङ्गको शनिबार पर्थकै एक अस्पतालमा निधन भएको हो । त्यस्तै लिभर क्यान्सरले पिडित रश्मी लेखकको सिड्नीको स्थानीय अस्पतालमा शुक्रबार निधन भएको हो । त्यसैगरी रिजनल न्यू साउथवेल्समा रहेकी अर्की एक युवतीको शनिबार राति निधन भएको भन्दै  गैर आवासीय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए) का अध्यक्ष नन्द गुरुङ्गले समवेदना सन्देश सार्वजनिक गरेका छन् ।


तामाङ बिरामी भइ अस्पतालको सैय्यामा कोमामा पुगेपछि तामाङ्गको परिवारकै आग्रहमा पश्चिम अस्ट्रेलियावासी सम्राटको जीवन बचाउने महाअभियानका जुटेका थिए । अभियन्ताहरुले जीवन संघर्षमा रहेको एउटा उम्दा युवाको जीवन रक्षाका लागि सक्रिय सहभागिता जनाइदिन अपिल गरेका थिए । सहयोगी मनका लागि एनआरएनए पश्चिम अस्ट्रेलियाको खातामा रकम जम्मा गर्न सकिने प्रबन्ध पनि मिलाइएको थियो । तर सुन्दर भविश्यको सपना बोकेर अष्ट्रेलिया आएका तामाङ्गको निधनले पर्थवासीहरु विक्षिप्त बनेको एनआरएनए पश्चिम अष्ट्रेलियाका संयोजक दिपक बस्नेत बताउँछन् ।

यता सिड्नीमा रहेकी रश्मी लेखकको उपचारको क्रममै निधन भएको खबरले यहाँको नेपाली समाज विक्षिप्त बनेको छ । हालै सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका नन्द गुरुङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत समवेदना प्रकट गर्दै भनेका छन् आफूले सपथ ग्रहण गरेकै दिनको २४ घण्टाका आसपासमा तीन नेपाली भाईबहिनीको निधनको खबर पाउँदा म दुःखित बनेको छु ।’ त्यसो त रश्मीको उपचारका क्रममा एनआरएनएले सहयोग गरेको थियो भने निधन भएको खबरसँगै अन्तिम संस्कारका कार्यका लागि समेत सहयोग गरिसकेको पनि गुरुङ्गले बताए ।

अष्ट्रेलियामा नेपालीहरुको संख्यामा द्रुततर गतिमा बृद्धि भएसँगै यहाँ विभिन्न प्रकारका मानसिक रोग, दीर्घ रोग, आर्थिक अभाव, जुवाको लत, सवारी दुर्घटना र समुन्द्रमा डुबेर नेपालीहरुको निधन हुनेको संख्या पनि त्यतिकै बढेको छ ।

उपरोक्त  खबर एएनजेखबर डट कम मा प्रकाशित भएको छ ।


सम्बन्धित शीर्षकहरु

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

राति आकाशतिर हेर्दा हामी हजारौँ तारा चम्किरहेको देख्छौँ। अझ शक्तिशाली टेलिस्कोपले हेर्ने हो भने हाम्रो आँखाले देख्न नसकेका असंख्य आकाशगंगा…

नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन शुक्रबार कुवेतको फरवानियास्थित Chef Naushad Signature Restaurant मा…

प्रतिकृयाहरू
...