Monday 30th March 2026

श्रीमतीमाथि एसिड प्रहार गर्ने व्यक्ति अदालतबाट दोषी ठहर


तीतोपाटी डटकम-२५ साउन, जनकपुरधाम । धनुषामा श्रीमतीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ ।अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले २४ वर्षीय संजीव साहलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए । उनका अनुसार संजीवलाई एसिड बेच्ने नागेन्द्र साहलाई भने सफाइ दिइएको छ ।

आरतीमाथि एसिड प्रहार गरेकै दिन संजीव पक्राउ परेका थिए । संजीवविरुद्ध सरकारी वकिलको कार्यालयले अदालतमा १५ वर्ष ६ महिना कैद सजायको माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो ।

अदालतले दोषी ठहर गरिसकेपछि अब अर्काे पेशीमा सजाय तोकिने सूचना अधिकारी मिश्रले जानकारी दिए । ‘सजायको सन्दर्भमा सरकारी वकीलबाट प्रतिवेदन माग गरिएको छ’ उनले भने, ‘त्यो पेश गरेपछि सजाय तोकिनेछ ।’

गत कात्तिक २९ गते दिपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर संजीवले श्रीमती र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।संजीवले प्रहार गरेको एसिडले आरतीको शरीरको झण्डै आधा भाग जलेको थियो भने ३ वर्षीया छोरी रियाको शरीरमा समेत एसिड परेको थियो ।

४ वर्षअघि मात्रै आरतीको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका संजीवसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...