Saturday 1st February 2025

खोप प्रमाणीकरण गर्न आएका मजदुरको मजबुरी : गोजीमा पैसा सकियो, भिसा पनि सकिने चिन्ता


तितोपाटी- सोमबार रातको ८:३० बजे ।सिमसिम पानी पर्ने तरखर गर्दै थियो । मानिसहरूको भन्दा लामखुट्टेको साउती सुनिन थालेको थियो ।  ‘नमस्कार हजुर ! हाम्रो केही सेवा सुविधा हुन्छ भने यसो गरिदिनु न’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाहिर सडकपेटीमा लामबद्ध सुतेका युवाहरूबीच एक कारुणिक आवाज हाम्रो कानसम्मै ठोक्कियो ।

‘म रुकुम चौरजहारीबाट आएको हजुर । नवराज विकलाई चिन्नुहुन्छ ? म उसैको गाउँको मान्छे’, दुई दिनदेखि खोपको प्रमाणीकरण गर्न पालो पर्खिरहेका इन्द्रकुमार नेपालीले दुखेसो पोख्नजत्तिकै हतार गरे आफूलाई चिनाउन पनि । अबको दुई दिनमा खोपको प्रमाणीकरण नपाउने हो भने उनको साउदीको भिसाको म्याद सकिन्छ । इन्द्रकुमार भन्छन्, ‘भिसा सकिन दुई दिन मात्रै बाँकी छ । प्रमाणीकरणको कार्ड भोलिसम्ममा पाइनँ भने विदेश जान पाउँदिनँ ।’ त्यसो त इन्द्रकुमार विगत १० वर्षदेखि साउदीमा रहँदै आएका रहेछन् । बेलाबखत नेपाल आउजाउ गर्ने उनी पाँच महिनाअघि छुट्टीमा जन्मघर फर्किएका रहेछन् ।

तर, निषेधाज्ञाले नेपालमै थन्किएका इन्द्रकुमारलाई साउदी फर्कन प्रमाणीकरण चाहिने भएपछि उनी काठमाडौं आइपुगेका हुन् । जोन्सन एण्ड जोन्सन खोप लगाएर अरु अस्पताल चहार्दा–चहार्दै कतैबाट पनि प्रमाणीकरण नभएपछि टेुकु आइपुगेको बताउँछन्, उनी ।
‘मजदुरलाई स्वदेश/विदेश कतै सुख छैन । नेपालमै ३०/३५ हजार रुपैयाँ कमाइ हुने काम दिन सक्ने नेपालमा कोही भगवान्‌जस्तो नेता कुनै दिन आउलान् नि,’ लामो सुस्केरासहित उनले भने, ‘यहाँ पनि ३० हजार त कमाउन सकिन्छ तर आज काम पाइएला, भोलिपर्सिको भरै हुँदैन ।’
उनले १० वर्षअघि घर बनाउन ५ लाख रुपैँया ऋण लिएका रहेछन् । सोही ऋणले उनलाई विदेश पुर्‍यायो । बाआमा, तीन छोरी र एक छोराको रेखदेख गर्ने जिम्मेवारी पनि उनकै काँधमा छ । भन्छन्, ‘कमाइ कति नै हुन्छ र विदेशमा पनि । महिनाको ३० हजार त हुन्छ ।’

प्रमाणीकरण कार्ड हात पर्नेबित्तिकै कम्पनीको काम सकेर टिकट गरिहाल्ने सोचमा छन्, उनी । तर, प्रमाणीकरण गर्न सहज भएको भए यसरी सडकपेटीमा आफ्नै चप्पललाई सिरानी हालेर सुतिरहेका हुने थिएनन्, इन्द्रकुमार ।  घरबाट आउँदा १५ हजार लिएर आएका उनले टेकु अस्पतालसम्म आइपुग्दा गोजीमा ४ सय रुपैयाँ मात्रै बाँकी रहेको सुनाए ।
म्याट ओछ्याएर उनी निदाउने प्रयास गरिरहेका थिए । ‘धेरै बाहिर बसेर होला, चिसो भएको छ । आँखा त लाललाल भइरहेछ’, टेकुबाहिर सडकमा बस्नुको पीडा हाँस्दै सुनाए उनले ।‘अर्काको देशमा दुःख पाउनु त स्वाभाविक हो । आफ्नै देशमा पनि सामान्य कागजात लिन पनि दुःख भोग्नुपर्दा मन कटक्क हुन्छ,’ साथमा रहेको प्लास्टिकको पोको देखाउँदै उनी भन्छन्, ‘अब अस्पतालको भर छैन, सबै उपरवालाको हातमा छ ।’

स्याङ्जाबाट सोमबार बिहान काठमाडौं आइपुगेका ४६ वर्षीय वीरबहादुर परियार पनि प्रमाणीकरका लागि राति नै टेकु पुगे । थकित देखिएका वीरबहादुर भन्छन्, ‘पहिला मेडिकल गर्न काठमाडौं आइयो । फेरि कतारको मेडिकल गराउन काठमाडौं आइयो । फेरि खोप लगाउन आइयो । फेरि प्रमाणीकरणका लागि आउनुपरेको छ ।’ दुई वर्षदेखि कतारमा काम गर्दै आएका वीरबहादुर पुनः कतार जाने सोचमा छन् । ‘भिसा त आइसक्यो, यही भेरिफिकेसनकै समस्याले काम रोकिएको छ,’ उनले गुनासो पोखे । एउटा सर्टिफिकेटका लागि रातभरि बस्नुपर्ने कस्तो सिस्टम होला हाम्रो ! एक वाक्यमै उनले मनभरिको दिक्दारी बिसाए ।

चितवनमा खोप लगाए पनि खोप प्रमाणीकरण गर्न काठमाडौं आएका ३७ वर्षीय सुदर्शन खकुरालको व्यथा पनि उस्तै छ । भन्छन्, ‘के गर्नु नेपाल बसेर ? यहाँ रोजगार पाउनै गाह्रो छ । पाए पनि आफूले भनेजस्तो हुँदैन । केही पाउनलाई केही गुमाउनुपर्छ भनेको हो रहेछ । हाम्रै रेमिट्यान्सले देश चलेको छ । हामीले केही नगरी देश चल्दैन ।’
स्वदेशमै रोजगारको सम्भावना भएको भए साउदी जानुपर्ने बाध्यता नरहने निष्कर्षमा पुगेका सुदर्शन भन्छन्, ‘विदेश जाने रहर कसलाई हुन्छ र ? बाध्यताले जानैपर्छ ।’
यसअघि पनि उनी सात वर्ष साउदी बसेर आएका रहेछन् । भन्छन्, ‘आफ्नै देशमा त यस्तो गाह्रो छ । योभन्दा डब्बल दुःख हामी उता गएर पाउँछौँ । नेपाली हुनुमा पहिलेपहिले त खुबै गर्व लाग्थ्यो तर अहिले त

…. !,’ बोल्दाबोल्दै उनी रोकिए ।

प्रमाणीकरणको पालो पर्खँदै गरेका सुदर्शनले बोकेकोे झोलाभन्दा गह्रुँगो मन बनाएका सुदर्शन भन्छन्, ‘संसारभर कोरोनाले यस्तो बिचल्ली पारेको छ । हामीलाई पनि मन थियो, ऐसआराम गरेर घरमै जिन्दगी जिउने । कसको श्रीमती कसको छोराछोरीले सोच्छ र विदेश जाओस् भनेर ? हामीले आज यति दु:ख पाइरहेका छौँ । छोराछोरीलाई दु:ख नहोस् भनेरै त हो नि हामीले यति दुःख ब्यहोर्नुपरेको ।’

सोही लाइनमा रहेका स्याङ्जाका ज्ञानबहादुर रसाइली पनि प्रमाणीकरणका लागि अस्पताल चहार्दाचहार्दै आजित भएको गुनासो गर्छन् । ‘पाटन, सिभिल अस्पताल दुईचोटि चक्कर लगाइसकेँ, प्रमाणीकरण भएन । अब टेकुबाट त होला नि,’ उनी भन्छन् ।
उनी पनि पाँच महिनाअघि छुट्टीमा नेपाल आएका रहेछन् । निषेधाज्ञाले उनलाई यतै रोक्यो । खोप लगाएको प्रमाण पेस गर्न आतुर रसाइली कतार जान नपाउने हो कि भन्ने शंकामा छन् ।

रात छिप्पिँदै गयो । अघिसम्म उभिएका युवाहरू थकित भएर भुइँमै लम्पसार पर्न थाले । ‘हाम्रो शीतलनिवास यही हो,’ शीतल नभएको मनलाई सान्त्वना दिन खोजिरहेका थिए उनीहरू ।
‘बेलुका कर्मचारीहरूले ओभरटाइम गरिदिए त जनताले यसरी सास्ती पाउनु पर्दैनथ्यो नि, मान्छे कहाँकहाँबाट आएका छन्’, आजित भएको भिडबाट गुनासो गुञ्जिएको थियो ।

अनि टेकुले राति पनि गर्‍यो भेरिफिकेसन
यिनै मजदुरको आवाजलाई सम्बोधन गर्न मंगलबार राति १२ बजेसम्म पनि टेुक अस्पतालले भेरिफिकेसन गर्‍यो ।
‘पानी परेको छ । रुझेर बसेका दाजुभाइको दुःख देखेर नै राति पनि सेवा दिएका हौँ,’ अस्पतालका निर्देशक डा. अनुप बाँस्तोला भन्छन्, ‘देशभरबाट प्रमाणीकरण गर्न टेकुमै आएकाले समस्या भएको हो । हामीले दैनिक ३ सयदेखि ५ सयको भेरिफिकेसन गर्दै आएका छौँ ।’
सरकारले ५० शय्याभन्दा माथिका सम्पूर्ण सरकारी अस्पताललाई खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको छ । तर, रोजगारका लागि विदेश जानेहरू टेकुकै गेट ढकढक्याउन पुग्छन् । ‘यो नागरिकको हामीप्रतिको विश्वास हो । त्यसैले टेकुमै आइपुग्नुहुन्छ । तर, ५० शय्यामाथिका सबै अस्पतालले दिने व्यवस्था नगरेसम्म समस्या समाधान हुँदैन,’ डा. अनुप भन्छन् ।

भोलीपल्ट

रातभर सडकमा बसेका मजदुरहरूको प्रमाणीकरण भयो कि भएन होला ? हामीले उनीहरूलाई पछ्यायौँ ।
अस्पताल चहार्दाचहार्दै थाकेका चितवनका सुदर्शनले भोलिपल्ट फोन सम्पर्कमा भने, ‘धन्न टेकु अस्पतालबाट प्रमाणीकरण भयो । अब विदेश जान पाउने भएँ । टिकट पनि ओके गरेँ । उड्नका लागि फेरि काठमाडौं आउँछु नि है …..!’
यो समचार सविना देवकोटाले, शिलापत्रमा लेखेकी छिन


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

"७५० फिल्स" मै चिकेन बिरियानी, मःमः पनि "७५० फिल्स"! सुन्दा अचम्म लाग्छ तर यो कुरा सत्य हो । मंफाफ स्थित…

इजरायलले हमासको सूचीले गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा गरिने ३३ बन्दीहरूमध्ये आठ जनाको मृत्यु भएको देखाएको बताएको छ। सरकारी…

प्रतिकृयाहरू
...