Wednesday 1st April 2026

कविताः बुझ्ने पाठकको अभाव -अविचल आस्था मणि


शार्दूलविक्रीडित छन्द

बुझ्ने पाठकको अभाव, कविता लेख्नै यहाँ व्यर्थ हो
पढ्दैनन् कविता पसेर गहिरो जो भावमा अर्थको
चल्छन् शैशव कालका कवि सफा, छन् कालका यानमा
पौडन्छन् सुविधानुसार रमिता छन् ज्ञान, विज्ञानमा  ।।१।।

आँखा चिम्म गरेर बस्नु तपसी जस्तै घरैमा बसी
आएका तप भङ्गका नियतले रम्भा तथा उर्वशी
आमाबा मतभेदमा जब गए भन्छिन् खुला मेनुका
पूजा गर्छु पवित्रता छ दिलमा छन् बत्स झैं धेनुका ।।२।।

गर्छौ पाठक नापतौल गर लौ जान्ने कुनै छौ भने
बुझ्ने नाटक कथ्यका विषयमा ज्ञाता कुनै हौ भने
लेख्ने चाख समेत हट्छ कविको, छैनन् भने पाठक
नेपाली गुढ अर्थ शब्द लयको ज्ञाता बनून् वाचक ।।३।।

साँच्चै पाठक छौ कुनै यदि भने, लेख्ने छ स्रष्टा अब
ब्रम्हाण्डेतरका समेत सुविधा तान्ने छ द्रष्टा सब
मिल्छन् कौतुकमा प्रसन्न युवती वामाङ्क राख्ला मणि
रत्नासाथ प्रभाश दीप्ति गहना बन्छिन् तिलस्मी धनी ।।४।।

ब्रम्हाण्डेतर धाम स्वच्छ छ जहाँ तारा अनेकौँ गण
भद्रान्वेष गरेर तत्व सुकिला छन् राम वा रावण
साक्षात् भक्ति परम्परा छ गहिरो आमोदमा अन्वय
आफैं मोक्ष छ प्राप्त दीप्त सुविधा ढोका खुले चिन्मय ।।५।।

 

-अविचल आस्था मणि
म्याग्दे, तनहुँ, नेपाल ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...