मुक्तक -१
यस्तो कुनै समस्या छैन, जसको कतै हलै छैन ।
समस्याबिना संसारमा, जिउनु पनि भलै छैन ।
कायर भइ भाग्ने हैन, लड ! किनारा लाग्ने हैन
तिम्रो मनभन्दा अधिक, शक्तिशाली बलै छैन ।
मुक्तक – २
सुन्नेले आवाज सुनेका छैनन्, जस्तै चित्कार गरून् जनता ।
सोझ्याउँछन् आफ्नै दुनाहरू, बरू भर्सेला परून् जनता ।
आफूले खाए बाँचिन्छ भन्छन्, आफूले लाए ढाकिन्छ भन्छन्
समस्या, अभाव र महामारीले, दिनदहाडै मरून् जनता ।
मुक्तक – ३
समस्या खोजी जनताको, दिमाग घुमाउन चाहन्न कोही ।
जो जो मरून् तर आफ्नाको, मृत्यु चुमाउन चाहन्न कोही ।
सत्ताको डम्फू बजाउनुछ, हिजोका सपना सजाउनुछ
मौकामा चौका नहानेर, कुर्सी गुमाउन चाहन्न कोही ।
मुक्तक – ४
सूचनामा छ शक्ति अनेक, कलम सबतिर डुलाइरहून् ।
ओझल परेका सारा कुरा, खोजेर बागमा फुलाइरहून् ।
निश्पक्षतामा नचुकीकन, सत्य र तथ्यमा नझुकीकन
लुकेछिपेका विकृति सब, चौथो अंगले खुलाइरहून् ।
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।