Wednesday 11th March 2026

गोम बिक्रमका ४ मुक्तक


मुक्तक -१

यस्तो कुनै समस्या छैन, जसको कतै हलै छैन ।
समस्याबिना संसारमा, जिउनु पनि भलै छैन ।
कायर भइ भाग्ने हैन, लड ! किनारा लाग्ने हैन
तिम्रो मनभन्दा अधिक, शक्तिशाली बलै छैन ।

मुक्तक – २

सुन्नेले आवाज सुनेका छैनन्, जस्तै चित्कार गरून् जनता ।
सोझ्याउँछन् आफ्नै दुनाहरू, बरू भर्सेला परून् जनता ।
आफूले खाए बाँचिन्छ भन्छन्, आफूले लाए ढाकिन्छ भन्छन्
समस्या, अभाव र महामारीले, दिनदहाडै मरून् जनता ।

मुक्तक – ३

समस्या खोजी जनताको, दिमाग घुमाउन चाहन्न कोही ।
जो जो मरून् तर आफ्नाको, मृत्यु चुमाउन चाहन्न कोही ।
सत्ताको डम्फू बजाउनुछ, हिजोका सपना सजाउनुछ
मौकामा चौका नहानेर, कुर्सी गुमाउन चाहन्न कोही ।

मुक्तक – ४

सूचनामा छ शक्ति अनेक, कलम सबतिर डुलाइरहून् ।
ओझल परेका सारा कुरा, खोजेर बागमा फुलाइरहून् ।
निश्पक्षतामा नचुकीकन, सत्य र तथ्यमा नझुकीकन
लुकेछिपेका विकृति सब, चौथो अंगले खुलाइरहून् ।

✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...