Thursday 17th September 2026

ललिता निवास प्रकरण : १० लाख नगद घरौटी बुझाएर छुटे गच्छदार


तीतोपाटी डटकम-ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदार धरौटी बापतको १० लाख रुपैयाँ नगद बुझाएर छुटेका छन् । बयान पछि १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए ।

उनले भने – ‘तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादीको हकमा विशेष अदालत ऐन २०५९ को दफा ७(घ) बमोजिमको अवस्था विद्यमान रहेको देखिदाँ पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी हाललाई यी प्रतिवादी सँग रु १० लाख नगद वा सो बराबरको बैंक ग्यारेन्टी माग गरिएको छ । उल्लेखित धरौटी वा बैंक ग्यारेन्टी लिई निजलाई तारिखमा राख्न र सो दिन नसके नियमानुसार थुनामा राख्नुहुन सम्बन्धित कारागार कार्यालयमा लेखी पठाउनु यति आज आदेश भएको छ । उहाँले १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुँदै हुनुहुन्छ ।’

धरौटी बुझाएर रिहा भएसँगै गच्छदारले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोध पूर्ण अभियोग लगाएको बताए । आफु रुल अफ ल र लोकतान्त्रिक पद्धतिको लागि लडेको मान्छे भएको भन्दै उनले विशेष अदालतको निर्णयलाई सम्मान गर्ने बताए । उनले भने – ‘अख्तियार अनुसन्धान आयोगको म माथिको अभियोग पत्र दुराग्रह, पुर्वाग्रहपूर्ण रुपले, प्रतिशोधपूर्ण अभियोग पत्र म माथि लगाइएको हो । तर विशेष अदालतमा मुद्दा दर्ता गरेको हुनाले म न्याय माथि विश्वास गर्ने मान्छे । न्यायालयको न्यायप्रति विश्वास भएको मान्छे, रुल अफ ल को लागि म लडेको मान्छे, जनताको अधिकार, लोकतान्त्रिक पद्धतिको लागि लडेको मान्छे । त्यसकारण विशेष अदालतमा मुद्दा दर्ता भएपछि म आज उपस्थित हुन आएको । विशेष अदालतले जे निर्णय आज गरेको छ । त्यसप्रति सम्मान व्यक्त गर्न चाहान्छु ।’ उपसभापति गच्छदारले छिट्टै पत्रकार सम्मेलन गरेर आफ्नो धारणाहरू सार्वजनिक गर्ने पनि बताए ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा कैफियत देखिएका पूर्वमन्त्री गच्छदार आज विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतको फरार सूचीमा रहेका गच्छदार काँग्रेस नेतृत्वको सरकार गठन भएलगत्तै बुधबार बिहानै विशेष अदालतमा हाजिर भएर बयान दिएका हुन् । बिहान १० बजे उनी विशेष अदालतमा हाजिर भएर बयान दिएका थिए ।

गतवर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्यसमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारको नामसमेत उल्लेख थियो । गच्छदारविरुद्ध विशेष अदालतले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

@रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...