मुक्तकः![]()
=====
(१)
नगर्नु अवहेलना कसैलाई पनि,
सम्मान गर्नु सबैलाई आफ्नै ठानी,
भेदभाव, छुवाछुत अन्त्य हुनुपर्छ,
सबै मिलेर काम गर्ने बसालौँ बानी ।
(२)
बगेको खोला फर्केर कहिले आउँदैन,
उद्देश्य सही भए बाधाले पछ्याउँदैन,
हाँसोहरू रोदनमा परिणत भएपछि,
आफन्तले पनि दुःखमा साथ लाउँदैन ।
(३)
तितोपाती झैँ तितो नबनोस् जिन्दगी,
पसिनाको श्रम मिठो रहोस् जिन्दगी,
अनि पो काम गर्ने रहर पलाउँछ,
सबैसँग रिस, डाहा मरोस् जिन्दगी ।
(४)
कहाँ जाने जानुपर्ने ठाउँ नभएपछि,
पीडाले सबै रहरहरू लुटेर गएपछि,
झन् मन कसरी मर्दो रहेछ जिन्दगीमा,
मृत्युलाई पनि भगवानले नछोएपछि ।
(५)
पाइला चाल्नु अघि धेरै नै सोच्नुपर्छ,
रहर भेटाउन त धीरता रोज्नुपर्छ,
चारैतिर विश्वासको रहेछ खडेरी,
चाहना पूरा गर्न मित्रता जोड्नुपर्छ ।
-रिता खराल, रूपन्देही