Tuesday 20th January 2026

दश टुक्काकारका उत्कृष्ट टुक्काहरू


नानीबाबा अधिकारीका १० असारे टुक्काहरू

डाँफे झर्दा बेसीमा भेटनलाई,
तिमी कता तिर्सना मेटनलाई?

नजरको बाँणले हानेको,
ऐलेसम्म खै तिम्ले जानेको?

छैन खुशी झन दुख्याछ मन,
धन्न है कसरी बाँचिछौ भन।

तिमी पूर्व म पश्चिम जादैछु,
त्यो पीडा भुल्ने अौषधी खाँदैछु।

आँखाबाट झर्दैछ अबिरल पानी,
याे दुखेकाे मन लिएर कहाँ जानी?

तिम्रो याद आइदिन्छ यसरी,
जाेडले हावा चलेकाे जसरी।

छहारीमा सुशाउदै बसेको,
शीतमा तिम्रो सम्झना खसेकाे।

हिजाे आज बोल्दैनौ छ की धेरै पीर,
देखेर अर्कै तिर ढल्कायाै नि शीर।

बाच्न धेरै गाह्रो रैछ यो शहरमा,
चाहे जस्तो नहुने आफ्नो रहरमा।
१०
तिम्रो धेरै सम्झना आइराछ,
हिजै देखि बाडुल्की लाइराछ।

– नानीबाबा अधिकारी
कलंकी, काठमाडाैं ।

 

पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”का १० असारे टुक्काहरू

राख्नेछु मैले तिमीलाई यि मेरा आँखामा
हिले छ्याप्दै गाउँला गीत असारे भाकामा।

गैह्री खेतको रोपाइँमा भल छोपेर,
असार पन्ध्र मनाउँला धान रोपेर।

छोपौला ल दुबै मिली असारे भेल्
हाम्रो माया नबनोस् दुई दिने खेल।

रोपाहार बनि तिमी आउनु म बन्छु लाठे,
जीवन साथी पक्कै नै हो तिम्रो मनले आँटे।

छ्यापेर हिलो दिनैभरी दहि चिउरा खाउँला,
गाउँदै गीत लगाई प्रिती जीवनभर लाउँला।

अचार चिउरा खाजा ल्याउनु तिमीले बेलैमा
दोहोरी गाउँदै पिरती लाउँला असारे मेलैमा।

मुठी रोपेर मुरी उब्जाई धन्सार भरौंला,
मङ्सिर भित्र्याई खुशीले रमाईलो गरौंला।

गाउँदै गीत,लगाई प्रीत सानी बस्नेछु आलीमा,
धानसँगै तिम्लाई भित्र्याउने छु म यसै पालीमा।

उकाली अोराली गर्दै हल गोरु नारेर
असार पन्ध्र मनाउँला एकान्त पारेर।
१०
गैह्री खेत रोपी सकें बाँकी छ अब टारी,
कृतज्ञ छु म किसान,सम्पूर्णमा आभारी।

-पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

 

राजेशराज गड्तौलाका १० असारे टुक्काहरू
१.
आऊ है साथी रोपाईॅ गराैं असार मासमा,
कोही आउलान् भनि नबसे अर्काको आशमा ।
२.
साथी हो आज गर्नु छ रोपाईॅ खेल्नु छ हिलो,
मिलेर आऊ चॅाडै नै सकाैं नगराैं लौ ढिलो ।
३.
असारै मास रोपियो धान मिलेर खुरुरू,
वर्षात भयो डुबायो सबै ह्रिदय धुरुरू ।
४.
किसानको रहर असार मासमा रोप्ने धान मात्रै,
ईन्द्रजी रिसाउॅदा त्यहि पनि भयो तिनलाई जात्रै ।
५.
हल गोरु नार्दै पानीमा भिज्दै गर्नु छ रमाइलो,
डॅाडामाथि आए सूर्यजी हेर भयो नि घमाइलो ।
६.
पानी है पर्यो असार महिना रोपाैं अब धान,
मुरी उब्जाउनेको सबैले मिली राखाैं है मान ।
७.
बाउसेको पर्म तिर्नु छ आज खेताला गएर,
सक्नु छ काम मार्दै थकाइ एकै ठाउॅ भएर ।
८.
बालापन याद गर्नु छ आज हिलोमा खेलेर,
लडाउनु छ दाजुभाइ सबै खेतैमा ठेलेर ।
९.
रोप्नु छ धान असारैभित्र खेलेर यो हिलोमा,
फल्नेछ अनि भकारीभरी मंसिरमै ढिलोमा ।
१०.
असारै महिना अचाक्ली गर्मी वर्षात भएन,
नरोप्दा धान गरिबको पीडा कहिल्यै गएन ।

– राजेशराज गड्तौला
रतुवामाई-१०, मोरंग
हाल- अबुधाबी, युएई

घनश्याम पौडेलका १० असारे टुक्काहरू
१•
किसानीको खेतबारीमा,
हरियाली छायो टारीमा।
२•
मुठ्ठी खाई मुरी उमार्ने,
किसानीलाई खुशी पार्ने।
३•
टारी टुक्रा गराहरुमा,
बराबरी चासो अरुमा।
४•
बाउसे र रोपार खेले हिलैमा,
माया प्रीति लगाई चोखो दिलैमा।
५•
रात दिन बिहानी सबै बराबर,
व्यस्तताले भरेका किसानका घर।
६•
हलो र जुवा कोदिली बोकेर झरियो,
शुरुमा नार्ने कहाॅ हो अल्मल परियो।
७•
खले गरो सकेर टीका लाउने,
मुखियाको बक्सिस के के पाउने।

के खान्छौ खाजा भन त मेरा ए साथी दामल,
मिलमा लगि कुटेर ल्याएँ झिनिया चामल।
९•
असार मास रोपियो धान हिलोमा गडेर,
साउन लाग्दा आयो नि फेरि हलक्क बढेर।
१०•
कुलोको पानी सोझ्याईकन मुहाने गरामा,
पुर्याउनु पर्छ जसरी पनि धानका जरामा।

– घनश्याम पौडेल, सृजना चोक
पोखरा

नीमा छिरिङ्ग भोटियाका १० असारे टुक्काहरू
१•
धानको पनि जीवन आएछ,
असारले अब झरी ल्याएछ ।
२•
लय र हिलोमा धान रोपौं
झरीमा सबले मौका छोपौ ।
३•
समय अहिले छ पानीको,
मन गर काम यो बानीको ।
४•
असारे गीतले बोली दिऊँ,
मनको त्यो कुरा खोली लिऊँ ।
५•
बाउसेको बल पानीको भल,
धानले पाउँछ मिलेर बल ।
६•
दही र चिउरा कति मिलेकाे,
असारे झरी उसै नै हिलेकाे।
७•
हाम्रो संस्कृति हाम्रो यो एउटा शान,
दही चिउरा खाने हाम्रो पहिचान ।
८.
असारमा महिना खेतमा लगाउँछौ,
मंसीरमा ढुकुटी यसैले भराउँछौ ।
९•
धानको यो महिना आएछ,
खेतले धेरै पानी पाएछ ।
१०•
अहिले नरोपौं बेलामा यहाँ,
भोलि पाउँने छौं मिठो त्यो कहाँ ।

-नीमा छिरिङ्ग भोटिया,
जलढक्का /कालेबुङ, भारत

 

तारा घिमिरेका १० असारे टुक्काहरू

झिमि र झिमी पानी है पर्‍यो असार मासैमा
नगरी काम पुग्दैन खान नबसौ आसैमा ।

असार मास रोपाइ गर्नु झरेर बेंशिमा
निर्भर हुन नेपाली हाम्रो लगानी खेतीमा।

रोपेर धान खाएर मानो उब्जाउ मुरिनै
कोरोना आयो अहिले यहाँ बढाउ दुरिनै।

नजिक हामी नबसी काम गरेर जाउँला
कृषिमा भर परेर हामी आफैले खाउँला।

बिदेश अब नजानु बेस खतरा मोलेर
आउछ लास बाकस भरि हृदय पोलेर।

घरर बारी धितोमा राखी बिदेश धाउँछौ
अर्काको ठाँउ रगत बगे हामी के पाउँछौ।

घरमा आमा बाबाको याद अथाह बोकेर
नजाउ छोडि बाल र बच्चा रुन्छ्न रोकेर ।

सङाली घर सजाइ यहाँ समाज देशमा
विकास गराैं संस्कृती हाम्रो भाषा र भेषमा ।

गरेर खेती खाउला बरु बसेर रमाउँ
प्रतिभा हाम्रो बढाेस राम्रो हातमा समाउँ ।
१०
यहीँको माटो सपारे हाम्रो भबिस्य बन्दछ
विकास गर दुनियाँ सारा संसार भन्दछ ।

– तारा घिमिरे, संखुवासभा

 

अरुण कुमार भुजेललका चाेटीला १० टुक्काहरू

असार मास रोपेर धान किसान रम्दछ,
छरेर माना बटुल्ने मुरी खुशीले भन्दछ।

नगरी काम पुग्दैन खान भन्दछ किसान,
अबेर सम्म गर्दछ काम लिएर निशान।

असारे गीत गाउँदै फेरि ओराली झरेर,
बोकेर बीऊ मेलोमा पुगि रोपाइँ गरेर।

साथमा गोरू काँधमा हलो फरूवा समायो,
असारे झरि रोपाइँ गरि किसान रमायो।

खेताला सँगै खेतमा पुगि रोपाइँ गरेर,
खटेर आज रम्ने छ भोलि भण्डार भरेर।

सचेत नागरिक र समाज सधैँ अघि सर्नु,
लागू पदार्थ ओसार-पसार पुरै बन्द गर्नु।

कुलतमा फसे पछि निस्कनै गाह्रो,
चेतना जगाउने काम अझ साह्रो।

गाँजा र अफिम ~ हेरोइन र चरेस,
छोरो तँ यसको अघिपछि नपरेस।

नत मान सम्मान नत छ पुष्ट ज्यान,
दुर्व्यसनी राम्रो हैन लिनु पर्छ ज्ञान।
१०
सम्पत्ति सँगै शरीरको नाश,
ड्रग्सले पार्छ यस्तै उठिबास।

– अरूण कुमार भुजेल
गोरूबथान
कालेबुङ्ग,पश्चिम बंगाल।

 

जगत थापाका चाेटीला ८ टुक्काहरू

जहिले पनि देख्छु अत्याचार,
अघि बढे जित हुन्छ या हार।

दिदी मर्दासम्म थिएँन समाचार,
कुकुर मर्दा त आएछ पत्रकार।

बलत्कार बाटै मेरी दिदी मर्दा,
हेर्न सकिन आमाको ‌आसुँ झर्दा।

ठुलाठुला भएका छन् अत्याचार,
सरकार पुग्दैनकि समाचार।

मेरो देशमा कस्तो डाक्टर बनेछ,
बलत्कारलाई आत्महत्या भनेछ।

केही गर्न सकिदैन अब सरकार,
युवा एकजुट हौँ नमानो‌ हामी हार।

हिङ्सा र बलत्कार रोक्न अघि सर्छु,
दिदी बहिनीको लागि तयार मर्छु।

कति बस्ने हामी सुतेर उठ सबै जागौं,
बलत्कार रोक्न एकजुट भएर लागौं।

– जगत ‌थापा, बझाङ्ग

कान्छी बिनिता विश्वकर्माका चाेटिला १० टुक्काहरू

नछुटाउनु मायाले फरक भनि जात,
जोड्ने बेला जोडि नाता नगर्नु कतै घात।

आमा बालाई मनाएर आउनु बनी जन्ती,
बाच्नु न मर्नु बनाएर नजानु है अन्ति।

लेखबेसि जुनिभरी तिमी सँगै गर्नुछ,
दुई दिने जिन्दगीमा तिम्रै भर पर्नुछ ।

गुलाफको फूल बनेर सुगन्ध छरौंला,
सके तिम्रो हातको पानी पिएर मरौंला।

भन्ने गर्थ्यौ तिमी हौ मेरो नि संसार सारा,
चम्चम चम्किने आकाश कि त जुन तारा ।

सामान्य परिवारमा जन्मेकी मान्छे हेर ,
दाइजो दिनु भनि नकराउ यति खेर ।

माया गरि धोका दिएर जान्छौ त मर्दिन,
हेर्दै जानु है तिमी जस्ती निष्ठुरी बन्दिन।

छोएको पानी पिउन मिल्दैन तिमीलाई,
रगत एउटै भन्थ्यौ मेरो जोवन पाई ।

घिन लाग्छ माया रुपैयाँ सँग तौल गर्यौ,
ती सबै शब्दलाई मेरो मुटुमा नै भर्यौ।
१०
समुन्द्रमा बाढी आएछ तल हेर्दा ताल,
सुखी जीवनमा पारि दियौ माछिको जाल।

– कान्छी बिनिता विश्वकर्मा
बाजुरा

विनाेद रिजालका ११ प्रेमील टुक्काहरू

जाऊँ प्रिया डाँडै काटेर
लाऊँ माया मुटु साटेर ।

तिमीलाई सम्झि मन जाग्छ
भाग्नलाई प्रिये डर लाग्छ ।

भाग्ने पहिले तिमी हो र के लाई मान्छौ डर ?
चोखो माया गर्छु तिमीलाई पर मेरै भर ।

बा उसले मेरो निम्ति आफ्नै सुखी हर्याे
मलाई पूर्वको केटा सारै मन पर्याे ।

बाले माने भने पत्र दिन आउँछु,
डोली जन्ती ल्याएर सिन्दुर लाउँछु ।

कतै तिमीले धोका दिन्छौं कि डर लाग्छ,
यो मनको कुनामा शङ्काको बीउ जाग्छ ।

विश्वासकै भरमा अडेको छ संसार
कसरी थाम्यो भन पृथ्वीले यत्रो भार ।

सिन्दुर,पोते ,चुरा घुम्टोमा कस्ति हुन्छु?
बाआमा,घर छोडि जाँदा म धेरै रुन्छु ।

स्वर्ग कि परी अप्सरा जून हुन्छौं
म हसाइ रहन्छु कसरी रुन्छौ ?
१०
रुन्छु बाआमाको अङ्गालोमा डाको छोडेरफ
सम्झि सम्झि अश्रुधारा झर्छ दिल फोडेर ।
११
कलियुगको माया प्रेम मुनामदन बनोस्
हामी दुईको जोडी देख्नेले सारै राम्रो भनोस् ।

– रिजाल विनोद, माेरङ


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...