Tuesday 31st March 2026

सुजिताको शव नजिक भेटियो विषादीको बट्टा र झोला


तीतोपाटी डटकम-२१ असार, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका नजिक जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको शव भरतपुर अस्पताल ल्याइँदैछ ।शव भेटिएको ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा मुचुल्का गरी शव निकालेर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

आइतबार साँझ शव भेटिएपछि रातभर प्रहरीले सुरक्षा दिएर शव राखेको थियो । अब शव भरतपुर अस्पतालको शव गृहमा राखेर अनुसन्धान गर्ने वा थप जाँचका लागि काठमाडौं पठाउने भन्ने बारेमा निर्णय गर्न बाँकी रहेको एसपी अधिकारीले बताए ।घटनास्थल नजिक धानमा हाल्ने विषादीको बट्टासमेत भेटिएको प्रहरीले जनाएको छ । त्यहाँ एउटा झोलासमेत भेटिएको र उनकी दिदीले झोलाको पनि पहिचान गरेको एसपी अधिकारीले बताए । झोला र विषादीको सम्बन्धका बारेमासमेत अनुसन्धान भैरहेको उनको भनाइ छ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले युवती हराए लगत्तैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे अनुसन्धान गरिरहेको बताए । उनले सुक्ष्म रुपमा त्रुटिरहित ढंगले सजगता अपनाउँदै प्रहरीले घटनाको अनुसन्धान गरिरहेको दाबी गरे ।

असार ११ गते बिहान ६ बजे साथीको घर जान्छु भनेर निस्किएकी सुजिता आइतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा मृत भेटिएकी हुन् ।उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

जंगलमा च्याउ टिप्न गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ ।वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।घटनास्थल मृतक भण्डारीको घरबाट करीब पाँच किलोमिटर टाढा पर्छ।

@अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...