Friday 19th September 2025

मनाङको ङावलमा पहिरोले थुनियो मर्स्याङ्दी नदी, चामे र तालगाउँमा झन् जोखिम


पानी परिरहेकाले स्थानीयको उद्धार गर्न जान सकेन सेनाको हेलिकप्टर
तीतोपाटी डटकम-मनाङको ङावलमा पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ। बुधबार बिहानै पहिरो झरेर नदी थुनिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। नदी थुनिएपछि चामे र ताल गाउँलगायत तल्लो तटीय क्षेत्रमा झन् जोखिम बढेको सिडिओ लामिछानेले बताए।

‘थुनिएको नदी एकै पटक फुट्यो भने उपल्लो मनाङ जोड्ने चामेको पुल बगाउँछ’, उनले भने, ‘चामे बजार र ताल बजारलाई झन् ठूलो क्षति पुर्‍याउने खतरा छ।’केही दिनयता निरन्तर परेको पानीले चामे बजारको घट्टेखोला र च्याट्टेखोलामा आएको बाढीले बजारका ६ घर बगाएको थियो। चामेका अन्य घर समेत डुबानमा परेपछि झण्डै ३ सय जना जिल्ला कारागारको नवनिर्मित भवनमा गएर आश्रय लिएका छन्। पानी परिरहेकाले अहिले पनि अवस्था उत्तिकै खतरापूर्ण रहेको सिडिओ लामिछानेले बताए।

‘पानी परिरहेको छ, अवस्था अहिले पनि सुधार भएको छैन’, उनले भने, ‘बाढी र पहिरोले चामे बजार भित्रै पनि कतै जान सक्ने अवस्था छैन।’बाढी र पहिरोले चामेबाट कहीं जान नसक्ने गरी बाटो बन्द भएको सिडिओ लामिछानेले बताए।चामे र तालगाउँका बाढी पहिरो पीडितलाई राहत र उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर ल्याउन तयारी अवस्थामा रहे पनि मौसम खराब भएकाल आउन नसकेको उनले बताए।

‘तत्काल राहतका लागि आर्मी हेलिकप्टर तयारी अवस्था छ, मौसममा सुधार नभएकाले हेलिकप्टर आउन सकेको छैन’, सिडिओ लामिछानेले सेतोपाटीलाई भने, ‘अरू त उपाय नै केही छैन।’चामेका करिब ६० घर बाढी र डुबानको समस्यामा परेको उनले बताए। मर्स्याङ्दी नदी उर्लिँदा डुबानमा परेको मनाङको प्रवेशद्वार तालगाउँ अहिले पनि जोखिममै रहेको छ। मंगलबार बिहानैदेखि डुबानमा परेको उक्त गाउँ सञ्चारविहीन बन्न पुगेको सिडिओ लामिछानेले बताए। तालगाउँमा रहेका ४८ घरधुरी सबै डुबानमा परेका छन्।

तालमा उद्धारका लागि चामेबाट नेपाली सेना, प्रहरी लगायतका टोली जान सक्ने अवस्था नरहेको उनले बताए। चामेबाट ताल गाउँ जाने बाटोका पुलहरू बगेका छन् भने पहिरोले बाटो अवरूद्ध छ। मौसममा सुधार नआउँदा ताल गाउँमा हेलिकप्ट समेत जान नसक्ने अवस्था रहेको उनले बताए।मनाङमा निरन्तर परेको पानीका कारण राष्ट्रिय प्रसारण लाइनका पोलहरू ढलेका छन् भने चामे र तिमाङको लघु जलविद्युत आयोजना समेत बगाइदिएको छ। बिजुली नहुँदा सञ्चारमा समेत बाधा पुगेको सिडिओ लामिछानेले बताए।

यस्तै, तिमाङमा मोटर पुल बगाइदिएको छ। मनाङ जोड्ने एकमात्र सडक बेसीशहर-चामे सडक पूर्ण रूपमा अवरूद्ध भएको छ। बाढी र पहिरो बस्तीमा समस्या भएपनि अहिलेसम्म मानवीय क्षेती भने नभएको सिडिओ लामिछानेले बताए।

साभार-सेतोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

प्रतिकृयाहरू
...