Friday 7th August 2026

चिनियाँ खोप जेठ २५ गतेबाट लगाउन थालिने, कसले पाउँछन्?


तीतोपाटी डटकम-चीनले अनुदान दिएको कोरोनाभाइरसविरूद्धको १० लाख डोज खोप जेठ २५ गतेबाट लगाउन सुरू गर्ने निर्णय भएको छ।स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले मंगलबार बसेको बैठकले जेठ २५ गतेबाट खोप अभियान सुरू गर्ने निर्णय गरेको जानकारी दिए।

‘स्वास्थ्य मन्त्रालयमा आज बसेको छलफलले आगामी २५ गतेबाट चीनले दिएको खोप लगाउने निर्णय गरेको छ,’ उनले भने।चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोपमध्ये साढे ८ लाख बढी खोप नेपाल आइसकेको छ। जसमध्ये ८ लाख डोज खोप नेपाल एयरलाइन्सले मंगलबार दिउँसो स्वदेश ल्याएको हो। बाँकी २ लाख खोप भने हिमालयन एयरलाइन्सलले ल्याइदिने भनेको छ। जसमा ५० हजार डोज मंगलबार बिहानै ल्याइएको छ।

यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज खोप अनुदानमै दिएको थिए। गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए। सोही अनुदानको खोप नेपाल आएको हो।

चीनबाट आएको उक्त खोप कसलाई दिने भन्नेबारे अन्यौल भएपछि त्यसबारे टुंगो गर्न मंगलबार स्वास्थ्य मन्त्रालयमा बैठक बसेको हो। बैठकले चीनबाट अनुदानमा आउने खोप ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई लगाउने निर्णय गरेको छ।

डा. गौतमले अहिले अन्य उमेर समूहमा जानलाई खोपको उपलब्धता कम भएको भन्दै ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउने निर्णय भएको जनाए।

‘हामीसँग धेरै खोप छैन। ६० देखि ६४ वर्ष उमेर समूहका मानिस झन्डै साढे ८ लाख हुनुहुँदो रहेछ। त्यसैले यो समूहलाई लक्षित गरेर खोप दिने निर्णय भएको हो,’ उनले भने।हिमाली जिल्लाहरूको हकमा भने १८ वर्ष उमेर माथिकालाई पनि खोप दिने सकिने डा. गौतम बताउँछन्। तर त्यसका लागि सुरुमा खोपको उपलब्धता हेरिने र पुग्ने अवस्था आयो भने मात्र लगाइने उनले जनाए।

‘हिमाली जिल्लाहरूको हकमा बाहेक अन्य जिल्लाहरूमा ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई खोप लगाउँछौं,’ डा. गौतमले भने।

अब खोप देशव्यापी रूपमै लगाउने भएपछि अब चाँडै खोपहरू सम्बन्धित जिल्लाहरूमा पठाउने काम सुरू गर्ने खोप शाखाको तयारी छ। यसअघि चीनले नै अनुदानमा दिएको खोप भने काठमाडौं र आसपास क्षेत्रमा मात्र केन्द्रित गरिएको थियो। तर यसपटक भने सबै जिल्लामा खोप लगाउने निर्णय भएको छ।

डा. गौतमले जिल्लाहरूमा खोप पठाउँदा दोस्रो मात्राको सुनिश्चिता गरेर मात्र खोप पठाउने बताए। यसअघि सरासर खोप लगाउँदा दोस्रो मात्रा लगाउन बाँकी धेरै मानिस रहेको भन्दै उनले अब भने दोस्रो मात्रा खोप पनि सुनिश्चित गरेर पहिलो डोज खोप जिल्लाहरूमा पठाइने बताए।

साभार:- सेतोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

बेलायतको Heathrow Airport मा कार्यरत एक सुरक्षा अधिकारीले प्यालेस्टिनी झण्डा अंकित ब्याज हटाउन दिएको निर्देशनलाई धार्मिक तथा जातीय विभेद भएको…

किभ । रूसले गरेको पछिल्लो भीषण हवाई आक्रमणमा युक्रेनले एउटै पनि ब्यालेस्टिक मिसाइल अवरोध गर्न नसकेको युक्रेनी वायुसेनाले जनाएको छ।…

रियाद । एक वरिष्ठ साउदी अधिकारीलाई उद्धृत गर्दै अल अराबिया इङ्ग्लिसले हुथी विद्रोही, इराकस्थित इरान समर्थित सशस्त्र समूहहरू र इरानको…

प्रतिकृयाहरू
...