Saturday 28th March 2026

कोरोना संक्रमित विवेकशील साझाका नेता उज्वल थापाको निधन


तितोपाटी- कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज निधन भएको छ। उनको २ सातादेखि विभिन्न अस्पतालमा उपचार भइरहेको थियो ।

गम्भिर अवस्थामा भेन्टिलेटरसहित एक्मो प्रविधिबाट मेडिसिटि अस्पतालमा उपचारत थापाको मंगलबार दिउँसो निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

केही बेर अघि परिवारको तर्फबाट विज्ञप्ति जारी गरि यसको जानकारी दिइएको हो । विज्ञप्तिमा भनिएको छः
उज्वल थापा हामीबिच रहनुभएन

हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४ः२५ बजे) हामीबीच रहनु भएन। हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरूस नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु, युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ । उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो। उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ ।

उहाँको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हामी आभारी छौँ। यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका आफन्तजन, नेपाल भित्र र बाहिरका साथी तथा शुभेच्छुक सबैप्रति हामी कृतज्ञ छौँ । तपाईंहरूले व्यक्त गर्नुभएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ।

नेपालका राष्ट्रपतिज्यू, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्भाव र शुभेच्छाको लागि हामी कृतज्ञ छौँ ।

अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन हामी आग्रह गर्दछौँ।

उज्वल बहादुर थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट,
२०७८ जेठ १८ गते

केन्द्रबिन्दुबाट


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...